हेटौंडा एकीकृत समाजवादीलाई दिने केन्द्रको निर्णयप्रति मकवानपुरका कांग्रेस नेताहरू असन्तुष्ट
फाइल तस्वीर

५ दलीय सत्ता गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पाएको छ । 

बालुवाटारमा बसेको गठबन्धनको बैठकले देशका ११ वटा उपमहानगरको भागबण्डामा हेटौंडाको मेयर समाजवादीलाई दिने सहमति गरेको हो । यसैगरि, हेटौंडाको उपमेयर भने नेपाली कांग्रेसले पाएको छ ।

गठबन्धनमा रहे तापनि कांग्रेसबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको दाबी गर्दै आइरहेको कांग्रेस मकवानपुरलाई धक्का लागेको छ । केन्द्रबाट नै मेयर र उपमेयर पाउने राजनीतिक दलको नाम तोकिएपछि जिल्लाका कांग्रेस नेताहरुले असन्तुष्ट बनेका छन् । 

अघिल्लो निर्वाचनमा कांग्रेसले पाएको मतलाई आधार मानेर गठबन्धनकै सहयोगमा कांग्रेसबाट मेयरको उम्मेदवार चयन गर्ने कांग्रेसको सपना अधुरो बनेको छ । 

कांग्रेस हेटौंडा उपमहानगर समितिले केही दिनअघि मात्रै आफ्नो पार्टीबाट हेटौंडाको मेयरका लागि तीन जनाको नाम सिफारिस गरिसकेको छ । मेयरमा आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरिएको हो । 

०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेसँग थोरै मतान्तरले पराजित कांग्रेसका नेता आनन्दराम पराजुलीले आसन्न निर्वाचनमा हेटौंडाको मेयरका लागि टिकट पाउने चर्चा चलिरहेको बेला केन्द्रको निर्णयले कांग्रेसभित्र बिबाद चर्किएको छ ।  



०७४ सालको स्थानीय तहको निर्वाचनको मतपरिणामअनुसार नेकपा एमालेबाट हरिबहादुर महतले  २३ हजार  १२४  मत प्राप्त गरेर विजयी भएका थिए भने उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५ सय ९ मत पाएका थिए । 

अघिल्लो निर्वाचनमा ६ सय १९ मतान्तरले मात्रै पराजित भएका पराजुली आसन्न निर्वाचनमा आफूले हेटौँडाबासीले दिएको विश्वासको मतले मेयर बन्ने निश्चित रहेको बताउँदै आएका थिए । कांग्रेसबाट पराजुलीले पनि मेयरका लागि दावी गर्दै आइरहेका बेला हेटौंडाको मेयर एकीकृत समाजवादीले पाउने निर्णय भएपछि मकवानपुरमा गठबन्धन टुट्ने सम्भावना बढेको छ । 



गठबन्धन तोडेर भए पनि कांग्रेसबाट नै हेटौंडाको मेयर दाबी गर्ने हेटौंडा नगर सभापति उत्सव इटेनी बताउँछन् । उनले भने, ‘कांग्रेसले हेटौंडाको मेयरको दाबी कायमै राख्ने छौं । एकल होस् कि गठबन्धन होस् । तर हेटौंडाको मेयरको टिकट कांग्रेसले नै पाउनुपर्छ । यदि पाइएन भने हामी गठबन्धन तोड्न पनि पछि हट्दैनौँ ।’ 

नगरसभापति इटेनीका अनुसार अन्य पालिकामा जुन पार्टी जसरी मिलेर गएपनि हेटौंडाको लागि भने मेयर कांग्रेसकै पाउनुपर्ने बताइएको छ ।

यता कांग्रेस मकवानपुरका जिल्ला सभापति इन्द्रबहादुर बानियाँले गठबन्धनले पीडा थपेको बताउँछन् । केन्द्रले समाजवादीले हेटौंडाको मेयर पाउने निर्णयले गठबन्धन नै धरापमा पारेको बताउँदै यो विषयमा बोलिहाल्ने स्थिति नरहेको बताए ।

  • प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार १९:२३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया