अन्तर्राष्ट्रिय क्रिकेटबाट पोलार्डले लिए संन्यास

वेस्ट इण्डिज क्रिकेट टोलीका कप्तान किरण पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । वेस्ट इण्डिजको सीमित ओभर क्रिकेटका कप्तान पोलार्डले बुधबार सामाजिक सञ्जालबाट संन्यासको घोषणा गरेका हुन् ।

उनले सोचविचार गरेर नै संन्यास लिने निर्णयमा पुगेको पनि उल्लेख गरेका छन् । ३४ वर्षीय पोलार्डले वेस्ट इडिजका लागि १२३ एकदिवसीय र १०१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले टेस्ट क्रिकेट भने खेल्न पाएनन् । 

पोलार्डले एकदिवसीय अन्तर्राष्ट्रियमा तीन शतक र १३ अर्धशतकसहित २ हजार ७०६ रन बनाउँदा ५५ विकेट हात पारेका छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा ६ अर्धशतकसहित १ हजार ५६९ रन बनाउनुका साथै ४२ विकेट लिएका छन् । सन् २००७ मा दक्षिण अफ्रिकाविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका पोलार्डले २०२२ मा भारतविरुद्ध अन्तिम खेल खेलेका थिए । 

उनले सन् २००८ मा अस्ट्रेलियाविरुद्वको खेलबाट टी–२० अन्तर्राष्‍ट्रियमा डेब्यु गरेका थिए । उनले अन्तिमपटक यही वर्ष भारतविरुद्ध खेलेका थिए । सन् २०१२ को टी–२० विश्वकप जित्दा पोलार्ड वेस्ट इण्डिज टोलीमा  थिए ।

उनले ६१ खेलमा वेस्ट इण्डिजको कप्तानी गरेका थिए । पोलार्ड हाल मुम्बई इण्डियन्सबाट इण्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका छन् । 





  • प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार ७:२२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया