गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे सुचारु, यतीले गर्‍यो पहिलो उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे धावनमार्गमा आजबाट उडान र अवतरण सुरु भएको छ । रूपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएर उद्घाटनको तयारीमा रहेको विमानस्थलमा बिहान ७ बजेर १५ मिनेटमा यती एयरले पहिलो उडान भरेर र ७ बजेर ४५ मिनेटमा बुद्ध एयरले पहिलो अवतरण गरी रनवे प्रयोगमा ल्याइएको हो ।

१५ सय मिटर लामो धावनमार्गबाट आन्तरिक उडान गर्दै आएको विमानस्थलले नवनिर्मित धावनमार्गबाट अबको आन्तरिक उडान गर्ने निश्चित भएको हो । सन् १९५८ जुलाई ८ तारिखबाट सञ्चालनमा आएको गौतमबुद्ध विमानस्थलले ६४ वर्षको अन्तरालमा नयाँ धावनमार्गबाट उडान सुरु गरेको हो ।

एरोनटीकल इर्न्फमेसन रेगुलेसन एन्ड कन्ट्रोल (एयरर्‍याक) मा निर्माण सम्पन्न भएको विमानस्थलको ३ किलोमिटरको धावनमार्गसहित हवाइ रुट, नेभिगेसन  र एयरपोर्टको जानकारी र सुविधा पठाएर अद्यावधिक भएपछि ककपिटमा नयाँ रनवे देखिएको छ । अब सबै उडान र अवतरण पुरानो रनवमा नभएर नयाँ रनवेमा हुन्छ, पुरानो रनवेलाई टयाक्सी वे मा परिणत गरिएको  गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द दहालले बताए । 

आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनी बुद्ध, यती, श्री, सौर्य, गुण लगायतले उडान/अवतरण नयाँ धावनमार्गबाट गर्ने भएका छन् । भैरहवा विमानस्थलमा दैनिक १५ देखि २८ वटा आन्तरिक उडान हुँदै आएको छ । 

नेपालकै दोस्रो अन्तराष्ट्रिय विमानस्थलरहेको गौतमबुद्ध विमानस्थल बुद्धजयन्तीकै अवसर पारेर अन्तर्राष्ट्रिय उडानको उद्घाटन २ जेठबाट हुँदैछ । विमानस्थल सञ्चालन नागरिक उड्डयन प्राधिकरणले, ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमले, फ्लाइट क्याटरिङको सेवा सोल्टी क्राउनले र कार्गो व्यवस्थापनको काम नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले गर्ने गरी तयारी रहेको महाप्रबन्धक दहालले बताए ।

अन्तर्राष्ट्रिय उडानको तयारीअनुसार विमानस्थल कार्यालयले भन्सार विभाग, अध्यागमन विभाग तथा सुरक्षा निकाय लगायतसँगको छलफलपछि २ जेठमा अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीअनुसार १५ दिन पहिल्यै उडान सेवा दिन तयारी अवस्थामा रहन पत्र काटिसकिएको उनले बताए ।



विमानस्थलको ग्राउन्ड ह्यान्डलिङका लागि नेपाल एयरलाइन्सले जहाजबाट ओर्लन प्रयोग हुने भर्‍याङ, लगेज क्यारिअरजस्ता साधन विमानस्थल पुर्‍याइसकेको छ । 



  • प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार ९:४०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया