बाजुरामा दलहरुलाई उम्मेदवार छान्न सकस

आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारको टुंगो लगाउन दलहरु सकसमा छन् । मनोनयन दर्ताका लागि केही दिन मात्र बाँकी रहँदा दलहरुले उम्मेदवारको टुंगो लगाउन सकिरहेका छैनन् । 

स्थानीय तहको निर्वाचन नजिकै आइसक्दा नेताहरुको  दौडधुप पनि बढेको छ । पालिका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षको टुंगो प्रदेश स्तरबाट लगाउने भए पनि दलहरुले वडा अध्यक्षसहित सदस्यहरुको नाम टुंग्याउन दौडधुप बढाएका हुन् ।

बाजुरा जिल्लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पालिकाको प्रमुखका लागी अझै उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । 
एमाले र कांग्रेसले नौवटै पालिका र ६९ वटै वडामा उम्मेदवार बनाउने अवस्था रहे पनि माओवादी र समाजवादीले सबैमा उम्मेदवारी दिने अवस्था देखिएको छैन ।

नेपाली कांग्रेस, माओवादी र समाजवादीबीचको आपसी चुनावी सहकार्य र गठबन्धन नबन्ने सम्भावना न्यून बन्दै गएपछि नेताहरु उम्मेदवारको टुंगो लगाउनमा व्यस्त देखिएका छन् । बाजुराका नौवटा पालिकामध्ये ४ वटामा एमालेको प्रमुख र १ वटामा उपाध्यक्ष सर्वसम्मत बनाएको छ भने बाँकी प्रमुख र उपप्रमुखको टुंगो प्रदेश कमिटीबाट लगाउने बताएको छ ।

एमालेले ६९ वटा वडामध्ये ३० भन्दा बढीमा सर्वसम्मत चयन गरिसकेको छ भने बाँकी रहेका वडामा सहमतिको प्रयास जारी रहेको र सहमति नभए जिल्ला कमिटीले टुंगो लगाउने तयारी गरेको छ । 

९ गते साँझसम्म सबै पदका उम्मेदवार टुंगो लगाउने गरी काम भइरहेको नेकपा एमाले पार्टी सचिव भरत थापाले बताएका छन् ।



यस्तै, नेपाली कांग्रेसले पनि नौवटै स्थानीय तहमा गठबन्धनबिनै एक्लै चुनावमा जाने गरी उम्मेदवार चयनमा लागेको छ । दुई दिनदेखि पदाधिकारी बैठक जारी रहेको र सहमतिमा उम्मेदवार बनाउनेबारे छलफल चलिरहेको पार्टी सहसचिव कृष्णराज उपाध्यायले बताएका छन् । 

नेपाली कांग्रेसले पनि २५ भन्दा बढी वडामा अध्यक्ष सर्वसम्मत बनाइसकेको छ भने बाँकीमा सहमतिको प्रयास जारी राखेको छ । पालिका प्रमुख उपप्रमुखमा भने हिमाली गाउँपालिकाबाहेक कुनै पनि पालिकामा टुंगो लगाएको छैन । नेताहरु आन्तरिक छलफलमा रहेको नेपाली कांग्रेस बाजुराले जनाएको छ । 
 
त्यसैगरी, नेकपा माओवादीले नौवटै स्थानीय तहमा प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिने देखिए पनि सबै वडामा उम्मेदवार पाउने अवस्था नरहेको स्रोतको दाबी छ । चुनावमा उठ्ने उम्मेदवार को बनाउने भन्नेबारे माओवादी नेतामा पनि छलफल जारी रहेको छ । 



नेकपा एमालेबाट फुटेर बनेको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले सबै पालिकाको नेतृत्वका लागि उम्मेदवारी दिने अवस्था देखिएको छैन । सबै वडा तहमा कमिटी विस्तार नभएका कारण वडामा पनि उम्मेदवार दिने अवस्था नरहेकोले उम्मेदवार टुंगो लगाउन सकस नरहेको बताइएको छ । 

तर, माओवादी र एकीकृत समाजवादी अझै केन्द्रबाट गठबन्धनको सर्कुलर आउने आशामा देखिएका छन् ।

  • प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार १९:२१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया