तिंकर सडक निर्माणका लागि छाङरुमा क्याम्प राख्दै सेना

दार्चुला तिंकर सडकको निर्माणका लागि नेपाली सेनाले व्यास गाउँपालिका वडा नं १ छाङरुमा क्याम्प राख्ने तयारी गरेको छ । व्यास गाउँपालिका वडा नं २ कोठेधारमा सडक निर्माण भइरहेको र माथिबाट सडक निर्माण गर्न छाङरुमा सेनाको क्याम्प स्थापना हुन लागेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

क्याम्प स्थापना हुने ठाउँमा बिहीबार नेपाली सेना र जिल्ला सुरक्षा समितिले हेलिकोप्टरमार्फत छाङरु पुगेर अनुगमन गरेको छ । साथै सेनाले निर्माण गरिरहेको सडकको समेत हवाई अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । नेपाली सेनाले दार्चुला तिंकर सडकको निर्माणका लागि गत आर्थिक वर्षमा नै सुन्सेरा र दुम्लीङमा क्याम्पको स्थापना गरेको थियो । 

हाल व्यास गाउँपालिकाको वडा नं २ कोठेधारमा सेनाले सडक निर्माणको काम गरिरहेको छ । केपी ओली नेतृत्वको सरकारले कोठेधारदेखि तिंकरसम्म ८७ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । पछिल्लो समय सरकारले तुसरपानीदेखि कोठेधारसम्म थप चार किलोमिटर सडक निर्माणको जिम्मा सेनालाई दिएको छ । 

कोठेधार–तिंकर सडकको नयाँ डिपिआर गरी नेपाली सेनाले सडक निर्माण गरिहेको छ । सरकारले सेनालाई जिम्मा दिँदा ८७ किलोमिटर डिपिआरको कोठेधार–तिंकर सडकको जिम्मा दिएको थियो । नेपाली सेनाले घुम्तीहरु घटाएर तथा कुनै ठाउँमा मार्ग परिवर्तन गरेर कोठेधारदेखि तिंकरसम्म ७४ किलोमिटरको नयाँ डिपिआर गरी सडक निर्माण गरिरहेको छ । 

कोठेधार तिंकर सडकको नयाँ डिपिआर गरी ७४ किलोमिटर कायम गरिएको नेपाली सेनाका एक अधिकारीले बताए । तुसरपानीदेखि कोठेधारसम्मको ४ किलोमिटर सडक निर्माणका लागि पनि सेनाले गृहकार्य गरिरहेको छ । 

तुसरपानीको फतङगाडबाट सेनाले सडक निर्माण गर्ने भएकाले व्यास गाउँपालिका वडा नं ३ तुसारपानीमा वर्षादका कारण अवरुद्ध भएको सडक मर्मत गरिँदै छ । सडक अवरुद्ध हुँदा नेपाली सेनालाई फतङगाडसम्म निर्माण क्षेत्रमा सामग्री ढुवानी गर्न समस्या भइरहेकाले दार्चुला तिंकर सडक आयोजनाले सडक सफा गर्ने काम गरिरहेको छ ।



तुसरपानी गाउँको तल्लो क्षेत्रमा स्थानीयहरुले पहिरो खसेको भन्दै सडक खुलाउन विवाद गरेपछि रिठिङगाड नदीको मार्ग भएर सडक खुलाउने काम भइरहेका व्यास गाउँपालिका वडा नं ३ का स्थानीय कृष्णसिंह कुँवरले बताए । 



  • प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार २१:२८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया