स्थानीय निर्वाचन : जनप्रतिनिधि बन्ने दौडधूपमा सुदूरपश्चिमका १४ पत्रकार

३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि अहिले दलहरू उम्मेदवार छान्नमा व्यस्त छन् । केही ठाउँमा टुंगो लागे पनि धेरै स्थानमा अझै पनि दलहरूले टिकट वितरण गर्न सकेका छैनन् ।

आसन्न स्थानीय चुनावमा पनि कर्मचारी, शिक्षक, पत्रकारदेखि कलाकारसम्मले भाग लिँदै छन् । सुदूरपश्चिममा पनि यसपालिको चुनावमा धेरै पत्रकार जनप्रतिनिधि बन्ने दाउमा छन् । कैलालीका पाँच, अछामका तीन, कञ्चनपुर, दार्चुला र डोटीका दुई/दुई पत्रकार स्थानीय चुनावमा प्रतिस्पर्धा गर्न लागेका हुन् । 

कैलाली पत्रकारहरू गणेश चौधरी, भुवनेश्वर अधिकारी, प्रकाश मिश्र, वीरेन्द्र रावल र लोकबहादुर देउवाले विभिन्न स्थानीय तहबाट चुनाव लड्ने तयारी थालिसकेका छन् । लामो समय कान्तिपुर दैनिकमा काम गरेका चौधरी जिल्लाको जानकी गाउँपालिकामा अध्यक्ष पदमा उठ्दैछन् । उनी रेशम चौधरीको समर्थन रहेको नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष पदमा उठ्न लागेका हुन् । 

कांग्रेस, एमाले र माओवादी केन्द्रले काम गर्न नसकेकाले आफू राजनीतिमा प्रवेश गरेको चौधरीले भनाइ । ‘दलहरूले राम्रो काम गरिदिएको भए पत्रकारिता गरिरहेको व्यक्ति राजनीतिमा आउनु पर्दैनथ्यो । टीकापुर घटनाकै कुरा गर्दा ७ भदौको घटनालाई आपराधिक बनाइयो । तर, ८ भदौमा भएको घटनालाई आपराधिक ठानिएन,’ उनले भने, ‘राज्यले जुन विभेद गरिरहेको छ । त्यो विभेद, अन्याय, अत्याचारविरुद्ध न्यायका लागि राजनीतिमा लागेको हुँ ।’ 

यसअघि चौधरी माओवादी निकट पत्रकार संगठनमा थिए । तर, पहिचानको मुद्दालाई माओवादीले बिर्सिँदै गएकाले आफूले अहिले नागरिक उन्मुक्ति पार्टी रोजेको पनि उनले बताए । चौधरी पत्रकार महासंघमा धेरै पटक केन्द्रीय प्रतिनिधिसमेत भइसकेका छन् । 

त्यस्तै, टीकापुर नगरपालिकाको मेयरका लागि टीकापुर दैनिकका प्रधान सम्पादक भुवनेश्वर अधिकारी पनि चुनावी मैदानमा उत्रिने तयारीमा छन् । उनी पत्रकार महासंघ कैलाली उपाध्यक्ष र केन्द्रीय प्रतिनिधि भइसकेका छन् ।



यसपाली भने अधिकारी जनप्रतिनिधि बन्न टिकटका लागि दौडधूपमा छन् । पार्टीले उम्मेदवार बनाए आफूले चुनाव जित्ने र नगरलाई अझ उचाइमा लैजाने योजना रहेको उनी सुनाउँछन् । अधिकारी कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पनि भइसकेका छन् । 

त्यस्तै, घोडाघोडी नगरपालिकाको मेयरमा चुनाव लड्नका लागि पत्रकार प्रकाश मिश्र पनि आकांक्षी देखिएका छन् । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य भइसकेका उनी नेकपा एमालेबाट चुनाव लड्ने तयारी गरिरहेका हुन् । नाम सिफारिस भए पनि उनले पनि टिकट पाउने/नपाउने निश्चित छैन ।



कैलालीका पत्रकार वीरेन्द्र रावल पनि गाउँपालिका अध्यक्षका दावेदार रहेका छन् । उनी एमालेबाट जिल्लाको मोहन्याल गाउँपालिका अध्यक्षका दावेदार हुन् । उनको नाम जिल्ला कमिटीबाट सिफारिस पनि भएको छ । रावल धनगढीबाट प्रकाशित हुने युग अस्त्र र हाम्रो सेती साप्ताहिकका प्रकाशक/सम्पादक छन् । उनी एमालेनिकट प्रेस चौतारी कैलालीका पूर्वजिल्ला अध्यक्षसमेत हुन् । 

रावलले आफूलाई पार्टीले टिकट दिए जित्ने सम्भावना बलियो रहेको बताए । त्यस्तै, अर्का पत्रकार लोकबहादुर देउवा कैलालीको लम्किचुहा नगरपालिका–१० को वडाध्यक्षका लागि सिफारिस भएका छन् । लामो समयदेखि त्यस क्षेत्रबाट सञ्चारमाध्यममा सक्रिय उनी पनि टिकट पाए चुनाव जित्ने दाबी गर्छन् । 

‘युवाहरूले गुनासो मात्र नगरी आफ्नो ठाउँको विकास गर्न आफैँ अग्रसर हुनुपर्छ । त्यो राजनीतिमार्फत हुने भएकाले म वडाध्यक्षको लागि उम्मेदवार बन्न खोजेको हुँ,’ देउवाले भने । 

कञ्चनपुरका अनुभवी पत्रकार खेम भण्डारी पनि यसपालिको स्थानीय चुनावमा भीमदत्त नगरपालिकाको प्रमुखमा उठ्ने तयारीमा छन् । उनले नेकपा एकीकृत समाजवादीबाट मेयरमा उठ्ने तयारी गरेका हुन् । भण्डारीले टिकट पाउने सम्भावना पनि बढी छ । 

उनले समग्र नगरको विकासका लागि विभिन्न ३५ बुँदे एजेन्डा पनि सार्वजनिक गरिसकेका छन् । भण्डारीले भीमदत्तलाई भ्रष्टाचारमुक्त बनाएर नमूना नगर बनाउने दाबी गरेका छन् । 

त्यस्तै, लामो समय सञ्चारमाध्यममा खर्चिएका कृष्णराज गिरीले पनि आसन्न स्थानीय चुनाव लड्ने तयारी तीव्र पारेका छन् । उनी नेकपा माओवादी केन्द्रबाट कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको अध्यक्षका लागि सिफारिससमेत भइसकेका छन् । पार्टीले टिकट दिए आफूले बेलडाँडीको मुहार परिवर्तन गर्ने गिरीको दाबी छ । 

अछामको चौरपाटी गाउँपालिकाबाट पत्रकार तपेन्द्र कुँवर, राजेन्द्र कुँवर, दण्डी भट्ट रहेका छन् । तपेन्द्र र राजेन्द्र नेकपा (एकीकृत समाजवादी) बाट गाउँपालिका अध्यक्षका लागि सिफारिस भएका हुन् । त्यस्तै, नेकपा एसबाट नै साँफे नगरपालिका–९ को वडाध्यक्षमा दण्डी भट्टले प्रतिस्पर्धा गर्नेछन् ।  

अछामको रेडियो जनप्रिय एफएमका कार्यकारी निर्देशकसमेत रहेका तपेन्द्रले गाउँपालिकाको अध्यक्षमा आफूले टिकट पाएमा  विकास, सुशासन र समृद्धिका लागि काम गर्ने  दाबी गरे । ‘सडकको स्तरोन्नति, शिक्षामा गुणस्तर, बहुमुखी क्याम्पसको स्थापना, जनताको जिवनशैली परिवर्तन गर्ने कार्यक्रम अगाडि सार्ने छु’, उनले भने ।  

उनी समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम सदस्यसमेत छन् । कुँवरले झण्डै डेढ दशक पत्रकारितामा बिताएका छन् । त्यस्तै, राजेन्द्र कुँवर समाजवादी प्रेस संगठनका सुदूरपश्चिम प्रदेश इन्चार्ज हुन् ।

त्यस्तै, डोटीमा पनि दुईजना पत्रकार जनप्रतिनिधि बन्ने दौडमा रहेका छन् । बडीकेदार गाउँपालिका–४ को वडाध्यक्षका लागि गणेश मौनीको नाम पनि वडा समितिले सिफारिस गरेको छ । उनी नेपाली कांग्रेसबाट अध्यक्षको दावेदार रहेका छन् । मौनी जिल्ला पत्रकार संघका डोटीका निवर्तमान सचिव तथा बडीकेदार एमफमका प्रबन्धक निर्देशक हुन् । 

यस्तै, आदर्श गाउँपालिकाबाट उपाध्यक्षका लागि पत्रकार लक्ष्मी रोकायाको नाम पनि सिफारिस भएको छ । उनी पनि कांग्रेसबाट गाउँपालिका उपाध्यक्षको दौडमा छिन् । रोकाया प्रेस युनियन डोटी शाखाकी उपाध्यक्ष पनि हुन् । 

दार्चुलामा पनि दुईजना पत्रकार स्थानीय तहको नेतृत्वमा आउनका लागि दौडधूपमा छन् । अनुभवी हिरासिंह धामी मालिकार्जुन गाउँपालिका अध्यक्ष र युवा सन्तोष कोट्टारी मार्मा गाउँपालिकाको वडाध्यक्षको दौडमा छन् ।

धामी पत्रकार महासंघ दार्चुलाका संस्थापक शाखा उप-संयोजकसमेत हुन् । त्यस्तै, कोट्टारी मार्मा गाउँपालिका–६ को वडाध्यक्षका लागि एमालेबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । उनी प्रेस चौतारी नेपालका प्रदेश कमिटी सदस्य र पत्रकार महासंघ दार्चुला शाखा उपाध्यक्षसमेत हुन् ।  

  • प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार १३:१०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया