सन् १९८८ बाट अभिनय क्षेत्रमा छिरेका शाहरुख खानको साख अहिले खतरामा परेको देखिन्छ । ‘बलिउड’मा पछिल्लो समयमा देखा परेका कलाकारले खान परिवारले जमाएको वर्चस्वलाई विस्थापित गर्न सक्ने अवस्था देखिएको छ ।
‘ट्रेलर’ सार्वजनिक भएपछि चर्चा कमाएको शाहरुखको फिल्म ‘जिरो’ले प्रदर्शनपछि भने अपेक्षाकृत प्रभाव जमाउन सकेको देखिँदैन । खानसँगै क्याट्रिना कैफ, अनुष्का शर्मा प्रमुख भूमिकामा रहेको फिल्ममा सलमान खान, दीपिका पादुकोण, करिश्मा कपुर, रानी मुखर्जीलगायत पनि अतिथिको भूमिकामा छन् ।
पहिलो दिनको प्रदर्शनबाट भारतमा २० करोड भारु कमाएको मल्टिस्टारर फिल्म जिरोले त्यसपछिका दिनमा त्यति राम्रो कमाइ गर्न सकेन । पछिल्लो समय खानका अधिकांश फिल्मले सोचेजस्तो कमाइ गर्न सकेका छैनन् ।
सन् २०१६ मा प्रदर्शन भएको खानको फिल्म फ्यानले पनि चाहेको जस्तो कमाउन सकेको थिएन । ८५ करोड खर्चेर बनेको सो फिल्म लगभग फ्लप नै भएको थियो । ‘जिरो’सँगै प्रदर्शनमा आएको रणवीर सिंहको फिल्म ‘सिम्भा’ले भने पहिलो दिनमा २२ करोड भारु कमाएको थियो । २८ डिसेम्बरबाट रिलिज भएको सिम्भाले खानको फिल्मलाई पछि पार्ने देखिन्छ ।
अर्कोतिर, यासद्वारा अभिनीत फिल्म ‘केजिएफ’ पनि जिरोसँगै प्रदर्शन भइरहेको छ । जिरोको तुलनामा केजिएफको कमाइ निकै राम्रो देखिएको छ । सँगै प्रदर्शनमा रहेको फिल्मको रेटिङ पनि जिरोको भन्दा राम्रो देखिएको छ । ‘आइएमडिबी’को रेटिङलाई आधार मान्दा जिरोले १० मा ६.३ मात्र रेटिङ पाएको छ । जबकि यास अभिनीत फिल्म ‘केजिएफ’को रेटिङ ९.१ रहेको छ ।
२०० करोड भारु लगानीमा बनेको जिरोले आफ्नो लगानी पनि उठाउन सक्छ/सक्दैन भन्नेमा भारतका विभिन्न फिल्म समालोचकले आफ्नो विचार पनि दिएका छन् । फिल्मको विषयवस्तु राम्रो भए पनि त्यसलाई प्रस्तुत गर्न शिल्प नभएका कारण जिरो फिल्म त्यति राम्रो नबनेको भन्दै भारतीय फिल्म समीक्षकहरूले टिप्पणी गरेका छन् ।
क्रमैसँग दिलवाले, फ्यान, जब ह्यारी मिट सजलजस्ता फिल्म फ्लप भएपछि खानको करिअर ‘डुब्न लागेको डुंगा’जस्तो बनेको छ । सय हाराहारी फिल्ममा अभिनय गरिसकेका खानका पछिल्ला फिल्म खासै राम्रोसँग चल्न सकेका छैनन् । सामाजिक सञ्जालमा पनि खानको फिल्म जिरोलाई लिएर विभिन्न व्यंग्य गरिएका छन् ।
जिरोका निर्देशक आनन्द एल. रायले आफ्ना अघिल्ला फिल्मबाट बटुलेको चर्चा र प्रशंसा ‘जिरो’का कारण ओरालो लागेको देखिएको छ । भारतीय मिडियामा शाहरुखले अबका दिनमा पहिलाको जस्तो ‘बलिउडको बादशाह’को उपमा मेटिनसक्ने पनि लेख्न थालिसकेका छन् ।
ठूलो बजेटमा बनेका पछिल्ला फिल्म फ्लप भएसँगै खान अबका दिनमा कस्तो फिल्ममा देखिनेछन् भन्ने अर्को विषय हो । मिडिया, सामाजिक सञ्जाल र समीक्षकले गरेको आलोचनामाथि खानले अहिलेसम्म कुनै पनि आधिकारिक प्रतिक्रिया जनाएका छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।