वीरेन्द्रनगरका मेयर सुवेदीले सुविधा–भत्ता ‘नागरिक नायक’लाई प्रोत्साहन गर्न खर्चिने

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले आफ्नो सुविधा–भत्ता ‘नागरिक नायक’लाई प्रोत्साहन स्वरुप खर्चिदै समाजका लागि योगदान गर्ने भएका छन् ।

स्थानीय निर्वाचन २०७४ मार्फत वीरेन्द्रनगर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका मेयर सुवेदीले वीरेन्द्रनगर नगरपालिकामा पाँच वर्ष अवधिभर प्रमुख पदमा रहँदा पाएको सुविधा–भत्ताको रकम नागरिक नायकका लागि प्रोत्साहन स्वरुप खर्चिने भएका हुन् ।

बालबालिकाको शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विकास पत्रकारिता लगायतका क्षेत्रमा योगदान पुर्‍याएका समाजका नागरिक नायकको सकारात्मक सामाजिक योगदानपूर्ण गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले मेयर सुवेदीले आफ्नो सुविधा भत्ता खर्चिने योजना गरेका हुन् ।

मेयर सुवेदीले भने, ‘विकासका निम्ति समाजमा योगदान पुर्‍याएका व्यक्तिका योगदानलाई प्रोत्साहन हुनेगरी मेरो सुविधा–भत्ताको रकम खर्चिने योजना छ । यसका लागि अक्षयकोषको स्थापना गरिनेछ । कोषमार्फत समाज परिवर्तनमा योगदान पुर्‍याएका व्यक्तिहरुको सामाजिक गतिविधिलाई थप बढाउने उद्देश्यसहित उक्त रकम प्रोत्साहन सहयोग गरिने छ ।’

उनका अनुसार यसका लागि ‘रबिजगत फाउन्डेसन​’ नामक गैरसरकारी संस्था पनि स्थापनाको चरणमा छ । केही दिनमै यो संस्थाले कानुनी मान्यता पाउँदैछ । संस्थाको अक्षय कोषमा मेयर सुवेदीले १३ लाख ५० हजार रुपैयाँ जम्मा गर्दैछन् ।

गरिव, विपन्न, अपाङ्ग, टुहुरा, दलित, महिला, जनजाति तथा पिछडिएको वर्ग र क्षेत्रका विद्यार्थी एवं बालबालिकालाई विभिन्न विषय र तहको तालिम तथा प्राविधिक शिक्षा प्रदान गर्ने रविगज फाउन्डेसनको उद्देश्य छ । 



आदिवासी, जनजातिहरुको भाषा, संस्कृति तथा अधिकारको संरक्षण गर्दै दलित, उत्पीडित, सीमान्तकृत वर्ग अपाङ्ग तथा अल्पसङ्ख्यक समुदायका मानिसको हकहितका लागि फाउण्डेसनले काम गर्नेछ ।

यसका साथै सडक, पुल, पाटी, पौवालगायतका सामाजिक संरचनाको निर्माण तथा मर्मत संरक्षणको क्षेत्रमा समेत फाउन्डेसनले योगदान पुर्‍याउने मेयर सुवेदीले जनाए । 



कृषि तथा पर्यावरणका साथै सामूहिक सामुदायिक वन, कबुलियती वन जङ्गलको संरक्षण तथा सम्वर्द्धन, जडीबुटी वृक्षारोपण, कृषि, ऊर्जा क्षेत्रको विकासका लागि सभा सम्मेलन तथा वातावरण संरक्षणमा विशेष भूमिकामा फाउन्डेसन रहने उनले बताए ।

खेलकुद क्षेत्रमा यूवा सहभागिताका लागि काम गरी वातावरण संरक्षणअन्तर्गत लोपोन्मुख जीवजन्तु, वन्यजन्तु, वनस्पति, प्रकृतिक सम्पदाको संरक्षणका लागि विशेष प्रकृतिमैत्री सुरक्षा पहलमा जोड दिनेलगायतका फाउन्डेसनको उद्देश्य रहने सुवेदी बताउँछन् ।

  • प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार १५:५३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया