दिल्लीलाई हराउँदै शीर्ष स्थानमा उक्लियाे राजस्थान

भारतमा जारी १५ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) को ३४ औं खेलमा राजस्थान रोयल्स विजयी भएको छ । गएराति भएको खेलमा ऊ दिल्ली क्यापिटल्सविरुद्ध १५ रनले विजयी भएको हो । यो जितसँगै राजस्थान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

२२३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै २०७ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान ऋषभ पन्तले सर्वाधिक ४४ रनको योगदान दिए । उनले २४ बलमा चार चौका र दुई  छक्का प्रहार गरे ।

पृथ्वी शा र ललित यादवले ३७/३७, रोभम्यान पावेलले ३६, डेविड वार्नरले २८ र शार्दुल ठाकुरले १० रन जोडे । राजस्थानका लागि प्रसिद्ध कृष्णाले तीन, रविचन्द्रन आश्विनले दुई तथा ओबेद म्याक्वो र युजवेन्द्र चहलले एक/एक विकेट हात पारे । राजस्थानलाई एक विकेट भने रन आउटको रूपमा प्राप्त भयो ।

यसअघि मुम्बईस्थित वान्खडे स्टेडिययममा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा दुई  विकेट गुमाउँदै २२२ रन बनाएको थियो । उसका लागि जोस बटलरले शतकीय तथा देवदत्त पडिक्कलले अर्धशतकीय पारी खेले ।

६५ बलको सामना गरेका बटलरले समान नौ चौका र छक्कासहित ११६ रन बनाए । जारी आइपिएलमा उनको यो तेस्रो शतक हो । ५४ रन बनाएका पाडिक्कलले ३५ बलमा सात चौका र दुई छक्का प्रहार गरे । कप्तान सञ्जु स्यामसन ४६ रनमा अविजित रहे ।

दिल्लीका लागि खलिल अहमद र मस्ताफिजुर रहमानले एक/एक विकेट लिए । जितसँगै शीर्ष स्थानमा उक्लिएको राजस्थानले सात खेलमा १० अंक जोड्दा पराजित दिल्ली समान खेलबाट ६ अंकका साथ छैटौं स्थानमा छ । 





  • प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार ६:४९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया