एमसिसी पारित गरेकोमा संघीय संसदप्रति अमेरिकी सांसदले व्यक्त गरे आभार

नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदले एमसिसी सम्झौता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गरेका छन् ।

नेपाल–अमेरिका संसदीय मैत्री समूहसँग शनिबार काठमाडौंको एक होटलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अमेरिकी सांसदले नेपालको समृद्धिका लागि, नेपालको जनजीविका र समावेशी विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिन अमेरिकाका दुवै पार्टीका सांसदको तर्फबाट प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । 

नेपालको पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, नवीकरण ऊर्जा नेपालको विकासका लागि अति महत्त्वपूर्ण स्रोत भएको कुरा आफूहरूले राखेको र त्यसमा पनि सहयोग गर्ने कुरा अमेरिकी सांसदको टोलीले राखेको समूहका संयोजक डा. मिनेन्द्र रिजालले जानकारी दिए । 

अन्तरक्रिया कार्यक्रममा अमेरिकी सांसदले संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ कार्यमा नेपाली सेनाले पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंशा गरेका थिए भने नेपालको विपद् व्यवस्थापनमा आवश्यक सहयोगलाई निरन्तरता दिने बताएका थिए । 

'नेपालको भौतिक पूर्वाधार निर्माणका लागि, नेपालको पर्यटन क्षेत्रको विकासका लागि र स्वच्छ र नविकरण ऊर्जाका लागि नेपाल अत्यन्तै महत्वपूर्ण स्रोत भएको देश हुन सक्दछ, दक्षिणएसियाका लागि भन्ने कुरा हामीले राख्यौं । त्यसमा उहाँहरूले सन्तोष व्यक्त गर्नुभयो,' उनले भने, 'अनि नेपालमा विपद् व्यवस्थापनका लागि अमेरिकाको सेना र रक्षा मन्त्रालयले पुर्याएको सहयोगको बारेमा कुरा गरियो । र, उहाँहरूले नेपाली सेनाले शान्ति स्थापनार्थ खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंशा गर्नुभयो ।’

दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष प्रवेश गर्न लागेको अवसरमा अमेरिकी सांसदहरुले नेपाल भ्रमण गरेका हुन् । टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटगरी द्विपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो ।





  • प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार १४:४६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया