नेकपा एमालेले सुर्खेतको सिम्ताबाहेकका पालिकामा आफ्ना उम्मेदवार तयार गरेको छ । आसन्न स्थानीय निर्वाचनका लागि जिल्लाका ९ वटै पालिकाकामार्फत सिफारिस भई आएका उमेदवारका लागि एमालेको दुई दिनसम्म बसेको प्रदेश टिकट समन्वय समिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।
एमालेको तर्फबाट वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ खनाल छन् । ढकाल एमालेबाट स्थानीय निर्वाचन २०७४ मा वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित थिइन् । खनाल भने वीरेन्द्रनगर–४ का वडा अध्यक्ष थिए ।
भेरीगंगा नगरपालिकाका लागि एमालेको पालिका कमिटीले १३ जनाको नाम शुक्रबार सिफारिस गरेको थियो । पालिकामा आकांक्षी धेरै हुँदा स्थानीय तहमै विवाद मिलाउन नसकेपछि भेरीगंगामा एमालेको पालिका कमिटीले जिल्लालाई १३ जनाको नाम सिफारिस गरी पठाएको थियो । सो मध्येबाट यज्ञप्रसाद ढकाल पालिकाको प्रमुख पदमा एमालेका तर्फबाट निर्वाचन लड्ने भएका छन् । उपमेयरका लागि भने छलफल भइरहेको छ ।
गुर्भाकोट नगरपालिकामा एमालेबाट सर्वसम्मत रूपमा तिलक खत्री यसअघि नै सिफारिस भएका थिए । उनी नै पालिकाको प्रमुख पदमा छन् । प्रदेश टिकट समन्वय समिति बैठकले गुर्भाकोटको उपप्रमुख पदमा भने सुशीला विश्वकर्मालाई टिकट दिएको छ ।
पञ्चपुरी नगरपालिकाबाट सिफारिस भई आएका रेशम राना र धनबहादुर थापा मध्य थापालाई अध्यक्षका लागि टिकट दिइएको छ । उपप्रमुख पदमा भने निर्णय हुन सकेको छैन ।
यसैगरी लेकवेशी नगरपालिकाबाट देव राना र विमला खल्लुख सिफारिस थिए । रानालाई अध्यक्ष र खल्लुखलाई उपप्रमुख पदका लागि टिकट दिइएको छ ।
चौकुने गाउँपालिकाबाट हरि अधिकारी र निर्मला राना सिफारिस भएकोमा अधिकारीलाई प्रमुख पद र रानालाई उपप्रमुख पदका लागि टिकट दिइएको एमाले स्रोतले जनाएको छ ।
बराहताल गाउँपालिकामा घनश्याम पाण्डे प्रमुखका लागि र उपप्रमुखका लागि दुर्गा विष्टलाई टिकट दिइएको छ । चिंङ्गाड गाउँपालिकामा वोधविक्रम जिसी प्रमुख र मीना रोकायाले उपप्रमुख पदका लागि एमालेबाट टिकट पाएका छन् ।
सिम्ता गाउँपालिकामा एमालेका उम्मेदवारको टुंगो लागेको छैन । जिल्लामा सिम्ता गाउँपालिकाको दुवै पद, भेरीगंगा र पञ्चपुरी नगरपालिकाको उपप्रमुख पदमा कसलाई टिकट दिने भन्नेबारे छलफल चलिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।