वीरेन्द्रनगरः आमा–छोरा मेयरका आकांक्षी, छोराले घोषणा गरिसके, आमा कांग्रेसको निर्णय पर्खँदै

पछिल्लो समय देशको राजनीतिमा परिवारवाद हावी भएको अनुभव नेपालीहरुले गर्न थालेका छन् । झन्, ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले आफूनिकट वा परिवारका सदस्यलाई अगाडि बढाउने प्रयास गरिरहेका छन् । 

भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल, काठमाडौंमा प्रकाशमान सिंह पत्नी सिर्जना सिंह, विराटनगरमा उपमेयरमा जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव केही उदाहरण हुन् । 

परिवारवादको आरोप सत्तारुढ दल कांग्रेसले झन् बढी खेप्ने गरेको छ ।

तर, सुर्खेतको एउटा प्रसंगमा भने यसको ठ्याक्कै उल्टोजस्तो अवस्था देखिन पाइएको छ । त्यसैले पनि हुनुपर्छ, शुक्रबार सुर्खेतको राजनीतिको सरगर्मीको पारो निकै बढेको थियो । कारण हो– सुर्खेतमा वीरेन्द्रनगर नगरपालिकाको प्रमुख पदमा दुई जनाको चर्चा हुनु । अनि ती दुई जना हुन्, आमा र छोरा ।

वीरेन्द्रनगर ३ की चाँदनी ढकाल नेपाली कांग्रेसमा सक्रिय भएको लामो समय भइसकेको छ । उनलाई यसपटक कांग्रेसले नगरपालिकाको मेयरका रुपमा अगाडि सार्ने सम्भावना बढेको छ, उनको नाम सिफारिस भइसकेको छ । अर्कोतिर, उनकै छोरा अनिल ढकाल पनि वीरेन्द्रनगर मेयरको सपना बनाएर अगाडि बढिरहेका छन् ।

कांग्रेस नगर समितिले सिफारिस गरेपछि चाँदनीले मेयरको उम्मेदवार हुने सम्भावना देखेकी छिन् । उनलाई पार्टीको नगर समितिले जहिले सिफारिस गरेको थियो, त्योभन्दा केही पहिले नै उनका छोरा अनिलले चाहिँ स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका थिए ।



आमा छोरा दुवै र फरक राजनीतिक दर्शनलाई लिएर एउटै पदका आकांक्षी भएपछि कर्णालीको राजनीतिमा यसको चर्चा चुलिएको छ ।

सुर्खेतको मध्यपश्चिम विश्वविद्यालयमा ‘सामाजिक कार्य’ तर्फ स्नातक अध्ययन गरिरहेका अनिल राजनितिमा प्रवेश गरेको धेरै भएको छैन । विवेकशील साझा पार्टीबाट राजनीतिक यात्रा सुरुवात गरेका अनिल पार्टीको जिल्ला अध्यक्ष हुन् ।



यता अनिलकी आमा चाँदनीले भने नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य पदमा एक कार्यकाल बिताईसकेकी छिन् । कांग्रेसको १४ औँ महाधिवेशनअघिको जिल्ला कार्यसमितिमा उनी सदस्यसमेत थिइन् । साना किसान कृषि सहकारी संस्थाको अध्यक्ष तथा साना किसान विकास बैंकको कार्यसमिति सदस्य पदमा रही चाँदनी समाजसेवामा क्रियाशिल रहदै आएकी छिन् ।

शुक्रबार कांग्रेसले आफ्नी आमालाई नगर प्रमुखको लागि सिफरिस गरेको खवर पाएपछि अनिलले प्रश्न गरेका छन्, ‘आमा छोरा एउटै पदका लागि कसरी लड्ने होला ममी ?’

सामाजिक सञ्जालमा सक्रिय अनिलले आफ्नी आमालाई नगरपालिकाको प्रमुख पदका लागि सिफरिस गरेकोमा कांग्रेसलाई बधाईसमेत दिएका छन् । अनि आमालाई उनको प्रश्न छ– पार्टीले हजुरलाई नै टिकट दियो भने आमा छोरा कसरी लड्ने होला त ममी ?

 

चाँदनीले पाउलिन् टिकट ?

वीरेन्द्रनगरलाई अहिले कर्णालीको लागि मात्र होइन, देशकै राजनीतिका लागि महत्त्वको सहरका रुपमा हेर्न थालिएको छ । यसअघि नेपाली कांग्रेसबाट नगरपालिकाको मेयर पदमा देवकुमार सुवेदी निर्वाचित छन् । उपमेयर पदमा भने एमालेकी मोहमाया ढकाल निर्वाचित थिइन् । आगामि निर्वाचनका लागि एमालेबाट मोहनमाया मेयरकी उम्मेदवार हुने टुंगो लागिसकेको छ ।

कांग्रेस, नेकपा एकिकृत समाजवादी र माओवादी केन्द्रबीच भएको गठवन्धन कर्णाली प्रदेशभर छलफलका क्रममा छ । ‘जितेकोमा लैजाने, एमालेले जितेकोमा मिल्ने’ रणनितिका विषयमा छलफल केन्द्रित हुन थालेका छन् ।

यही आधारमा पनि वीरेन्द्रनगरमा मेयरको पद गठबन्धनले भागवण्डामा कांग्रेसलाई दिने सम्भावना बढी छ । त्यस्तो भएको खण्डमा चाँदनीसँगसँगै कांग्रेसका अन्य नेताहरुले पनि टिकटको अपेक्षा गरेका छन् ।

कांग्रेसका नगर सभापति, जिल्ला सहसचिवलगायतको आकांक्षा पनि मेयरमा नै भएकाले चाँदनीलाई उपमेयरमा लैजान सकिने अनुमान पनि गरिएको छ ।

  • प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार २०:१७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया