को हुन् एमालेले धनगढीको मेयर र उपमेयरमा उठाएका चन्द र राना ?

यही ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्द र उममेयरमा कन्दकला रानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनीहरूले पहिलोपटक उपमहानगरपालिकाको मेयर र उपमेयरको टिकट पाएका हुन् । 

मेयरका लागि चन्दसँगै कमल राना, दुर्गा जोशी, जीवन बम र गोमा अधिकारी आकांक्षी थिए । मेयरका उम्मेदवार चन्द एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटीका पूर्वउपाध्यक्षसमेत हुन् ।

धनगढी–४ का बासिन्दा चन्द २०५० सालदेखि विद्यार्थी जीवनबाटै राजनीतिमा प्रवेश गरेका थिए । स्कुले जीवनमा उनी धनगढीको पञ्चोदय माविको अनेरास्ववियु प्रारम्भिक कमिटीका सचिव थिए । त्यसपछि चन्द अनेरास्ववियु क्याम्पस कमिटीको सदस्य हुँदै अञ्चल कमिटी अध्यक्ष बने ।

२०५७ सालमा उनले अनेरास्ववियुको केन्द्रीय राष्ट्रिय परिषद् सदस्यको जिम्मेवारी पाए । त्यसपछि चन्द धनगढी नगर सदस्य हुँदै पार्टी सचिव भए । एमालेको आठौं जिल्ला अधिवेशनमा अध्यक्षमा चार मतले पराजित भएका थिए । उनी एमाले कैलालीभित्रका इमान्दार नेताका रूपमा चिनिन्छन् । 

त्यस्तै, एमालेबाट उपमेयर उम्मेदवार बनेकी राना धनगढी उपमहानगरपालिका–८ की बासिन्दा हुन् । एमाले जिल्ला कमिटी सदस्य रहेकी ३८ वर्षीया उनी नेपाल राना थारू समाजका केन्द्रीय कोषाध्यक्ष पनि हुन् । 

राना धेरै चर्चामा नआए पनि २०६८ सालदेखि पार्टीको संगठित सदस्य बनेकी थिइन् । उनीसँगै उपमेयरमा दिप्ती शाही र जानकी चौधरी आकांक्षी थिए । मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाए पनि एमालेले वडाध्यक्ष, सदस्यहरूको भने टुंगो लगाउन बाँकी छ ।    





  • प्रकाशित मिति : बैशाख ११, २०७९ आइतबार ८:४०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया