शल्य चिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापना गर्न डब्लुएचओसमक्ष नेपालले गर्‍यो प्रस्ताव

सरकारले शल्य चिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापना गर्नका लागि सहयोग गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) समक्ष प्रस्ताव पेस गरेको छ ।  नेपाल भ्रमणमा आएको विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस नेतृत्वको टोलीसँगको भेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य चिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापनाका लागि सहयोग गर्न प्रस्ताव गरेको हो ।

आइतबार टेड्रोस नेतृत्वको टोलीको नेपाल भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अत्यावश्यक औषधिको उत्पादन नेपालमै गर्ने र त्यसका लागि विश्व स्वास्थ्य संगठनले सहयोग गर्नुपर्ने प्रस्ताव पनि राखिएको बताए । 

भेटका अवसरमा टेड्रोसले कोभिड–१९ प्रतिकार्यका लागि निःशुल्क तथा समतामूलक खोप उपलब्धता तथा निःशुल्क कोभिड–१९ परीक्षण, कोभिड–१९ का केशहरूको निशुल्क उपचार तथा व्यवस्थापनका लागि गरेका प्रयासको प्रशंसा गर्दै त्यसबाट विश्वका अन्य देशले पनि सिक्नुपर्ने धारणा राखेको उनले बताए । 

स्वास्थ्यमन्त्री खतिवडाका अनुसार डा. टेड्रोसले नेपालमा हाल सफलतापूर्वक सम्पन्न भइरहेको टाइफाइड खोप अभियानको पनि प्रशंसा गरेका थिए । ‘नेपालमा बाल तथा स्त्री रोग ओन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्रको स्थापना, किटजन्य रोगको तालिम तथा अनुसन्धान केन्द्रलाई विश्व स्वास्थ्य संगठनको दक्षिणीपूर्वी एशीयाली क्षेत्रीय केन्द्रका रुपमा विकास गर्न, अत्यावश्यक औषधि उत्पादन र शल्यचिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापना गर्न तथा नेपाली विज्ञहरुलाई अवसर तथा क्षमताका विकासका लागि विश्व स्वास्थ्य संगठनबाट मद्दतको लागि प्रस्ताव गरिएको छ,’ मन्त्री खतिवडाले भने ।

भ्रमण टोलीमा रहेका विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशियाका लागि क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले नेपालले स्वास्थ्य क्षेत्रमा छुट्टयाएको बजेट दक्षिणपूर्वी एसियाली देश मध्येमा नै धेरै भएको भन्दै खुसी व्यक्त गरेको मन्त्रालयले जनाएको छ । ‘नेपालमा स्वास्थ्य क्षेत्रका लागि छुट्टयाइएको बजेट जुन दक्षिण पूर्वी एशिया क्षेत्रका देशहरू मध्येकै धेरै रहेको कुराबाट आफू प्रभावित भएको छु । र म नेपालमा स्वास्थ्य उपचार लागत कम गर्न सस्तो औषधि खरिद तथा उत्पादनको वातावरण बनाउन जोड दिनुपर्ने धारणा उहाँले व्यक्त गर्नु भएको छ,’ मन्त्री खतिवडाले भने । 

डा. टेड्रोस नेतृत्वको टोलीले यही ८ देखि यही १० वैशाखसम्म तीन दिने नेपाल भ्रमण गरेको थियो ।  





  • प्रकाशित मिति : बैशाख ११, २०७९ आइतबार १४:१८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया