बागमती प्रदेश : जो सांसद पद त्यागेर ‘मेयर’मा दिँदै छन् उम्मेदवारी

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दर्ताको लागि बागमती प्रदेशका प्रदेशसभा सांसदले भटाभट राजीनामा दिन थालेका छन् । 

प्रदेशमा रहेरभन्दा पनि स्थानीय तहको सरकारमा रहँदा आफ्नो क्षेत्रको विकास गर्न सहज हुने अभिव्यक्ति दिँदै प्रदेशसभा सदस्यहरूले सांसद पदबाट राजीनामा दिएका छन् । उनीहरूको अभिव्यक्तिले स्थानीय सरकारको प्रमुख बन्ने मोह जागेको देखिन्छ । 

एमालेबाट काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गराउनको लागि आइतबार प्रदेश सांसद केशव स्थापितले राजीनामा दिएका छन् । एमालेको सचिवालय बैठकले हिजो शनिबार स्थापितलाई काठमाडौंको मेयर बनाउने निर्णय गरेको थियो ।

पूर्वमन्त्रीसमेत रहेका स्थापित आइतबार प्रदेशसभा कार्यालय हेटौंडा आएर प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामा दिएका हुन् । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने तय भएकोले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको उनले बताए । 

निर्वाचन आयोगले बनाएको आचारसंहितामा पनि जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार हुनुअघि राजीनामा दिनुपर्ने भनिएको छ । यसैअनुसार भोलि सोमबार उम्मेदवारी दर्ता गराउनको लागि आज राजीनामा दिन आएको स्थापितले बताए । 

उनी काठमाडौंको क्षेत्र नम्बर ६ को (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।



सांसदबाट मेयरमा किन भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘प्रदेश सांसदमा रहँदा आफूले स्थानीय तहको विकासमा मन बुझ्ने गरि काम गर्न नपाएपछि आफूले स्थानीय तह रोजेको हुँ । विद्यार्थी राजनीतिदेखि नै स्थानीय क्षेत्रको विकास चाहिन्छ भन्ने मान्छे भएकोले प्रदेशमा रहेरभन्दा पनि स्थानीय सरकार बनेर काठमाडौंको विकास गर्न चाहान्छु ।’ 

त्यस्तै, एमालेकै बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले पनि बिहीबार नै सांसद पदबाट राजीनामा दिएका छन् । आसन्न स्थानीय तह निर्वाचनमा चितवनको मेयरमा उम्मेदवार बन्न उनले सांसदबाट राजीनामा दिएका हुन् ।



सुवेदीलाई एमालेले चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनको लागि उनले पनि प्रदेश सांसदबाट राजीनामा दिएका हुन् । 

उनले पनि बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष बिहीबार राजीनामा पत्र बुझाएका थिए । उनीहरूको राजीनामासँगै अब बागमतीमा एमालेका ४१ जना मात्र प्रदेशसभा सदस्य रहने छन् ।

  • प्रकाशित मिति : बैशाख ११, २०७९ आइतबार १४:३८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया