लमजुङमा उम्मेदवार छान्न सबै पार्टीलाई सकस, भाेलिमात्रै मनाेनयन गरिने

लमजुङका ठूला राजनीतिक दलले सोमबार मात्रै उम्मेदवारी दर्ता गराउने भएका छन् । उम्मेदवार छनोटमा सकस परेपछि ठूला दलहरूले भोलिमात्रै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका हुन् । 

लमजुङमा सत्तारुढ चार दलले गठबन्धन गर्ने भए पनि साझा उम्मेदवार छान्न सकेका छैनन् । कुन दललाई कुन पालिकाको नेतृत्व दिने भन्नेमा गठबन्धन दलबीच सहमति हुन सकेको छैन ।

आठ स्थानीय तह रहेको जिल्लामा २ स्थानीय तहको प्रमुखमा माओवादीले दाबी गरेको छ । कांग्रेसले एक पालिका प्रमुखमात्र दिन तयार भएकाले गठबन्धन दलबीच सहमति हुन सकेको छैन ।

स्रोतकाअनुसार गठबन्धन दलमा माओवादीलाई दोर्दी गाउँपालिकाको प्रमुख, राइनास नगरपालिका, मर्स्याङ्दी गाउँपालिका, मध्यनेपाल नगरपालिका र दुधपोखरी गाउँपालिकाको उपप्रमुख दिनेगरि मोटामोटी सहमति भएको छ ।

बेसीसहर र सुन्दरबजार नगरपालिकामध्ये एउटाको उपप्रमुख एकीकृत जमाजवादीलाई दिने एउटा माओवादी केन्द्रलाई दिने सहमति भएको स्रोतले बताएको छ । तर, पार्टीभित्र आन्तरिक विवाद हुने भएकाले उम्मेदवारीको समयमा मात्रै सार्वजनिक गर्ने तयारी गठबन्धन दलले गरेका छन् । 

नेकपा एमालेले पनि एक पालिकाबाहेक अन्यन्त्र आफ्ना उम्मेदवार सार्वजनिक गरेको छैन । एमालेबाट क्होँलासोँथर गाउँपालिका अध्यक्षमा सूर्य गुरुङ सर्वसम्मत छनौट भएका छन् ।



जिल्लामा ४ नगरपालिका र ४ गाउँपालिका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा लमजुङमा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । २०७४ मा एमाले र माओवादी केन्द्रबीच पाँच तहको प्रमुख र उपप्रमुखमा एमाले र ३ तहको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवार उठाएका थिए । 

जसमा एमालेले बेँसीसहर, सुन्दरबजार, राइनास नगरपालिका, क्होँलासोँथर र मर्स्याङ्दी गाउँपालिकाको प्रमुख, बेंसीसहर नगरपालिका, मध्यनेपाल नगरपालिका, दोर्दी र क्होँलासोँथर गाउँपालिका उपप्रमुख पनि एमालेले जितेको थियो । गठबन्धन भए पनि माओवादीले दोर्दी गाउँपालिका प्रमुख र मर्स्याङ्दी गाउँपालिकाको उपप्रमुख मात्र जितेको थियो । मध्यनेपाल, राइनास र दुधपोखरीमा माओवादी उम्मेदवार पराजित भएका थिए भने एमालेको दुधपोखरी गाउँपालिकाको उपप्रमुख उम्मेदवार पराजित भएका थिए ।



अघिल्लो निर्वाचनमा कांग्रेसले दुधपोखरी गाउँपालिकाको प्रमुख र उपप्रमुख, मध्यनेपाल नगरपालिकाको प्रमुख, राइनास र सुन्दरबजार नगरपालिकाको उपप्रमुख जितेको थियो । आठ स्थानीय तह रहेको लमजुङमा चार नगरपालिका र चार गाउँपालिकामा ७५ वटा वडा रहेका छन् ।

  • प्रकाशित मिति : बैशाख ११, २०७९ आइतबार १७:१२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया