प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अन्ततः नेपाली कांग्रेस विभाजित भएको छ ।
पार्टीको आन्तरिक निर्वाचनदेखि नै सुरु भएको किचलो अन्ततः स्थानीय तहको मुखमा आएर विभाजन परिणत भएको हो ।
पार्टीको सातौँ जिल्ला अधिवेशन तथा १४ औं महाधिवेशनदेखि नै डडेल्धुरा कांग्रेसमा दुई धार देखिएको थियो ।
डडेल्धुरामा विभाजनसँगै स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेपाली कांग्रेस (बिपी)ले छुट्टा–छुट्टै उम्मेदवारी दर्ता गर्ने तयारीमा छन् ।
स्थानीय तह निर्वाचनका लागि मनोनयनको पहिलो दिन आइतबार कुनै पनि दलले उम्मेदवारी दिएनन् । उम्मेदवारी नदिएका दलहरूले सोमबार दिने तयारीमा छन् ।
नेपाली कांग्रेसको छैटौँ जिल्ला अधिवेशनबाट निर्वाचित पार्टी सभापति तथा डडेल्धुरा जिल्लाको प्रदेश (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य कर्ण मल्ल पक्ष नेपाली कांग्रेस (बिपी) बाट स्थानीय तहमा उम्मेदवारी दिने तयारीमा जुटेको हो ।
नेपाली कांग्रेस केन्द्रीय सभापति देउवाले अन्तिमसम्म पनि गृहजिल्लाको पार्टी मिलाउनमा चासो नदिएपछि आफूहरू नेपाली कांग्रेस (बिपी) बाट स्थानीय तहको निर्वाचनमा जानुपरेको नेता नरबहादुर शाकीले बताए ।
‘नेपाली कांग्रेसबाट उम्मेदवारी दिने तयारी गरेका थियौँ, केन्द्रीय सभापति देउवाले एकलौटी गर्ने योजना थाहा पाएपछि आफूहरू नेपाली कांग्रेस (बिपी) बाट चुनावी मैदानमा जाने तयारी गरेका छौँ' उनले भने ।
उनले जिल्लाका ७ वटै पालिका र ५२ वटै वडामा उम्मेदवारी दर्ता गर्ने तयारी रहेको र जिल्लामा अन्य दलहरूसँग तालमेलको प्रयास पनि भइरहेको बताए ।
सोमबार मात्रै उम्मेदवारी दर्ता गरिने नेपाली कांग्रेस (बिपी) का जिल्ला संयोजक तिलक हमालले जानकारी दिए । नेपाली कांग्रेस बाहेकका जुनसुकै दलहरूसँग तालमेल हुनसक्ने संयोजक हमालले बताए ।
देशभर गठबन्धन गरेको दलहरूले डडेल्धुरामा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति गरेपश्चात् कांग्रेस फुटेर कांग्रेस (बिपी) बाट छुट्टै उम्मेदवार दिने तय गरेपछि डडेल्धुरामा कांग्रेसलाई साख जोगाउन मुस्किल पर्ने देखिन्छ ।
यसअघि नै डडेल्धुरामा गत वर्ष ४ फागुनमा नेपाली कांग्रेस (बिपी)को संगठन निर्माण भएको थियो । डडेल्धुरामा सम्भवतः नेकपा एमालेसँग चुनावी तालमेल हुने कर्ण पक्ष कांग्रेसले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।