भारतीय क्रिकेट टोलीका ओपनर केएल राहुल टी–२० क्रिकेटमा एकै टोलीविरुद्ध तीन शतक बनाउने पहिलो खेलाडी बनेका छन् ।
लखनऊ सुपर जायन्ट्सका कप्तान राहुलले इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार रातिको खेलमा मुम्बई इन्डियन्सविरुद्ध शतक प्रहार गर्दै उक्त कीर्तिमानी बनाएका हुन् ।
वान्खडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ गर्नेक्रममा राहुलले ६२ बलमा १२ चौका र ४ छक्काका साथ १०३ रनको अविजित पारी खेलेका थिए । १६ अप्रिलमा भएको पहिलो भेटमा पनि राहुल मुम्बईविरुद्ध ६० बलमा ९ चौका र ५ छक्कासहित १०३ रनमै अविजित रहेका थिए ।
त्यस्तै, उनले सन् २०१९ मा वान्खडेमै पन्जाब किंग्सबाट मुम्बईवीरुद्ध ६४ बलमा समान ६ चौका र छक्कासहित १०० रनको अविजित शतकीय पारी खेलेका थिए । राहुल मुम्बईलाई भारी पर्दै आएका छन् । राहुलले मुम्बईविरुद्ध १६ पारीमा ३ शतक र ५ अर्धशतकसहित ८६७ रन बनाएका छन् ।
एकै टोलीविरुद्ध आइपिएलको एकै सिजनमा दुई शतक प्रहार गर्ने राहुल दोस्रो खेलाडी हुन् । यसअघि विराट कोहलीले २०१६ मा गुजरात लायन्सविरुद्ध १०९ र १०० रनको शतकीय पारी खेलेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।