धनगढीको मेयर र उपमेयरमा एमालेबाट चन्द र रानाको उम्मेदवारी दर्ता

नेकपा एमालेबाट धनगढी उपमहानगरपालिकामा नेता रणबहादुर चन्दले मेयरमा र कन्दकला रानाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूले उमहानगरको १९ वटै वडाध्यक्ष र सदस्यसहित उम्मेदवारी दर्ता गराएका हुन् ।

सोमबार दिउँसो कैलालीको पार्टी कार्यालयबाट नाचगान गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर चन्द र रानाले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै, एमालेबाट उपमहानगरपालिकाको–१ बाट ज्ञानेन्द्र मल्ल, २ मा विष्णु पुरी, ३ मा पार्वती सिंह, ४ मा तीर्थराज जोशी, ५ मा सुनिराम चौधरी, ६ मा ईश्वरी बम, ७ मा मोती राना, ८ मा जुगराम चौधरी, ९ मा नविन बिक र १० मा शिवकुमार रानाले एमालेबाट वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, एमालेबाट ११ नम्बर वडामा रूपबहादुर कुँवर, १२ मा शेरबहादुर महरा, १३ मा जगदीश राना, १४ मा कृष्ण पाण्डेय, १५ मा गोरे कुन्जेडा, १६ मा भागिराम चौधरी, १७ मा दीपेन्द्र घर्तीमगर, १८ मा भुवन रिजाल र १९ नम्बर वडाको अध्यक्षमा तिलुराम चौधरीले मनोनयन दर्ता गराएका छन् ।

मेयरका उम्मेदवार चन्द एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटीका पूर्वउपाध्यक्षसमेत हुन् । धनगढी–४ का बासिन्दा उनी ०५० देखि विद्यार्थी जीवनबाटै राजनीतिमा प्रवेश गरेका थिए । 

स्कुले जीवनमा उनी धनगढीको पञ्चोदय माविको अनेरास्ववियु प्रारम्भिक कमिटी सचिव थिए । त्यसपछि चन्द अनेरास्ववियु क्याम्पस कमिटीको सदस्य हुँदै अञ्चल कमिटी अध्यक्ष बने ।

०५७ सालमा उनले अनेरास्ववियुको केन्द्रीय राष्ट्रिय परिषद् सदस्यको जिम्मेवारी पाए । त्यसपछि चन्द धनगढी नगर सदस्य हुँदै पार्टी सचिव भए । एमालेको आठौं जिल्ला अधिवेशनमा अध्यक्षमा चार मतले पराजित भएका थिए । उनी एमाले कैलालीभित्रका इमान्दार नेताका रूपमा चिनिन्छन् । 



त्यस्तै, एमालेबाट उपमेयर उम्मेदवार बनेकी राना धनगढी उपमहानगरपालिका–८ की बासिन्दा हुन् । एमाले जिल्ला कमिटी सदस्य रहेकी ३८ वर्षीया उनी नेपाल राना थारू समाजका केन्द्रीय कोषाध्यक्ष पनि हुन् । राना ०६८ मा पार्टीको संगठित सदस्य बनेकी थिइन् ।  



  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार १४:१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया