स्थानीय निर्वाचनः गठबन्धनका उम्मेदवार अनुहार– नेताका छोराछोरी, श्रीमती

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता सोमबार सकिएको छ । देशभर सबै पदका लागि १ लाखभन्दा बढीले मनोनयन गरेको निर्वाचन आयोगले जनाएको छ । 
यसपटक स्थानीय तह निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनले अधिकांश स्थानमा चुनावी तालमेल गरेका छन् । 

पाँच दलले केन्द्रबाट नै महानगर र उपमहानगरमा चुनावी तालमेलको भागवण्डा गरेका थिए । यहीअनुसार विभिन्न स्थानमा भागवण्डाअनुसार दलका प्रतिनिधिले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन गरेका छन् ।

६ महानगरपालिकामध्ये ३ महानगरपालिकामा चाहिँ नेताहरुले आफ्नै पारिवारिक सदस्यलाई उम्मेदवार बनाएका छन् । काठमाडौं मेयरमा नेपाली कांग्रेसबाट सिर्जना सिंह, भरतपुर मेयरमा नेकपा माओवादी केन्द्रबाट रेनु दाहाल र विराटनगर उपमेयरमा जनता समाजवादी पार्टीबाट अमरेन्द्र यादवले उम्मेदवारी दिएका छन् । 

यी तीनै जना यी तीन पार्टीका शीर्ष नेताहरुका पारिवारिक सदस्य हुन् । सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन्, दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् भने यादव जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।

नेताहरुले आफ्ना पारिवारिक सदस्यलाई स्थानीय तह निर्वाचनमा महानगरका महत्त्वपूर्ण पदमा उम्मेदवारी दिन लगाएपछि यसको आलोचना पनि सुरु भएको छ ।

त्यसो त केहीले सिंह र दाहाल पहिलेदेखि नै राजनीतिमा सक्रिय भएको पनि तर्क गर्दै आएका छन् ।



‘राजनीतिमा भएको तर्क गर्दै आए पनि यी तीन जनाले दिएको उम्मेदवारीको एउटै कारण उहाँहरुका परिवारका सदस्य पार्टीमा र अहिले गठबन्धनमा नै प्रभाव पार्ने नेता भएकाले नै हो,’ यस्तो प्रवृत्तिको विरोध गर्दै कांग्रेसका एक केन्द्रीय सदस्यले फरकधारसँग भने, ‘यसलाई हामीले विरोध गर्नुपर्छ, अन्यथा हाम्रो राजनीतिक शुद्धिकरणको अभियान पूरा हुनैसक्दैन ।’



त्यसो त सिर्जना सिंह पहिले नै राजनीतिमा भएको उनको मेयरमा उम्मेदवारीलाई कांग्रेसका समर्थकले उनको कमब्याकका रुपमा लिएका छन् । तर, नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति चुन्न भएको दोस्रो चरणमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गरेका थिए । त्यसैले सिर्जना सिंहले काठमाडौं मेयरमा उम्मेदवारी दिन पाउनुलाई कतिपयले देउवाले सिंहलाई गुन तिरेको पनि बताउँदै आएका छन् ।

‘हाम्रो राजनीति अहिले पूर्णरुपमा पदहरुमा गिभ एन्ड टेकका रुपमा नै अगाडि बढेको छ,’ कांग्रेसका ती नेताले भने, ‘यो पनि बुझिने कुरा नै हो, यसमा छर्लङ्ग छ । तर, अब उहाँ उम्मेदवार भइसकेपछि यसलाई यो तरिकाबाट व्याख्या गरिनु हुँदैन, उहाँ अब कांग्रेसको उम्मेदवार हो, पार्टीको उम्मेदवार हो ।’

अर्कोतिर गत स्थानीय निर्वाचनमा समेत विवादमा तानिएकी थिइन्, रेनु दाहाल । उनलाई यसपटक फेरि भरतपुरको मेयरमा उम्मेदवारी दिन लगाउनका लागि गठबन्धन बैठकमा समेत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अडान लिएका थिए ।

माओवादी सशस्त्र द्वन्द्वमा हुँदा पनि राजनीतिमा नै लागेकी भए पनि रेनुले दोहोर्याएर मेयरको उम्मेदवार हुन पाउनु प्रचण्डको अडानले काम गरेको अधिकांशले मान्छन् । प्रतिनिधिसभा निर्वाचनमा आफू पनि चितवनबाट नै लड्ने भएकाले प्रचण्डले छोरीलाई नै मेयरमा दोहोर्याउन खोजेको अड्कलबाजी पनि पछिल्लो समय आउन थालेका छन् ।

त्यसो त केही समयअघि उनले चितवनकै केही नेताहरुसँग गठबन्धन नभएमा रेनुले मेयरमा उम्मेदवारी नदोहोर्याउनेसमेत बताएका थिए । रेनुलाई पुनः मेयरको उम्मेदवार बनाएर प्रचण्ड पार्टीभित्र पनि आलोचित हुन थालेका छन् ।

अर्कोतिर, राजनीतिमा यसअघि चर्चामा नआए पनि विराटनगरको उपमेयरका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले छोरा अमरेन्द्र यादवलाई टिकट दिएका छन् । लामो समयदेखि उपेन्द्रको सचिवालयमा नै काम गर्दै आएका अमरेन्द्रकै लागि उपेन्द्रले गठबन्धनको बैठकमा विराटनगरको मेयर वा उपमेयर आफ्नो पार्टीलाई चाहिनु पर्ने अडान राख्दै आएका थिए । 

विराटनगरमा त कतिसम्म भने स्थानीय तहको प्रमुख वा उपप्रमुखमा उम्मेदवारी दिँदा दुईमध्ये एक महिला हुनु पर्ने संवैधानिक मान्यतालाई समेत उपेन्द्रले छोराका लागि मिचेका छन् । त्यहाँ मेयरमा कांग्रेसबाट नागेश कोइराला उम्मेदवार बनेका छन् । 

  • प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार ५:३२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया