सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सत्तारुढ दलहरूले स्थानीय तह निर्वाचनका लागि आफू खुशी दिएको उम्मेदवारी हटाउन सबै ठाउँमा पहल भइरहेको बताएका छन् ।
सत्तारुढ दलहरूबीचको सहमतिविपरीत पनि स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन भएको उल्लेख गर्दै प्रमुख सचेतक गुरुङले त्यसलाई हटाउन सक्दो पहल र प्रयास भइरहेको बताएका हुन् ।
उनले मनोनयनमा परेकाहरूबाट पनि सहमतिमै उम्मेदवार कायम गर्न सत्तारुढ दलहरूबीच सहमति नभए पनि एमालेप्रति संकेत गर्दै प्रतिगमनकारी, संविधानविरोधी शक्तिलाई हावी हुन नदिन आफूहरू सचेत रहेको बताए ।
संवाद डबलीले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रमुख सचेतक गुरुङले एमालेले प्रतिगमनकारी, पश्चागमनकारी कदम चालेकाले त्यसलाई रोक्न यथास्थितिवाद कांग्रेससँग गठबन्धन बनाउनु परेको तर्कसमेत गरे ।
‘उम्मेदवारी फिर्ता लिने बेलासम्म संसद छलफल गर्दै लगेर वडास्तरमा पनि सहकार्य गर्न सके हुन्थ्यो भन्ने ढंगले काम गरिराखेका छौं । कतिपय पालिका र वडास्तरमा दलहरूले आ–आफनो दलको नोमिनेशन गराएका छन । तर, संवाद चलाउँदै लगेर नाम फिर्ता लिने बेलासम्म सबै ठाउँमा सहमति जुटाउन प्रयास र पहल भइराखेको छ । कथमकदाचित त्यो भएन भने पनि प्रतिगमन र पश्चगामी शक्तिहरूलाई हाबी हुन नदिने गरी हामी अन्य दलसँग सहकार्य गरेर अघि बढन तयार छौं’ उनले भने ।
प्रमुख सचेतक गुरुङले केपी ओली नेतृत्वको सरकारले साँढे ३ वर्षको आफ्नो कार्यकालमा उत्पादनमूलक क्षेत्रमा लगानी नगरेको कारण मुलुकको आर्थिक अवस्था कमजोर बनेको आरोपसमेत लगाए । उनले उत्पादन मुलुक क्षेत्रमा लगानी नहुँदा मुलुकमा आयातित वस्तुमा लगानी गर्न बाध्य हुनुपर्ने अवस्था आएको पनि स्पष्ट पारे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।