कांग्रेस एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुग्यो : शंकर पोखरेल
फाइल तस्वीर

नेकपा (एमाले)मा महासचिव शंकर पोखरेलले सत्तारुढ नेपाली कांग्रेस आफ्नो पार्टीसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।

महासचिव पोखरेलले कांग्रेससहितका सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग एक्लै चुनावी लड्ने आँट गर्न नसकेको पनि बताए । उनले स्थानीय तह निर्वाचनको चुनावमा सत्तारुढ दलहरुले एमालेसँग पराजित हुने डरले चुनावी गठबन्धन गरेको उल्लेख गर्दै एमाले मुलुकको सबैभन्दा ठूलो शक्तिको रुपमा स्थापित भइसकेको जिकिर गरे । उनले सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन गर्दा नै निराशा प्रदर्शन गरेको बताए । 

महासचिव पोखरेलले भने,  ‘नेकपा एमालेसँग सत्तामा रहेका सत्तारुढ दलहरुले एक्लै चुनाव लडने आँट गरेनन् । नेपालको सबभन्दा पुरानो पार्टी भन्ने नेपाली कांग्रेस आज नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको छ । र, उसले चुनाव लड्नका लागि पनि अरुको सहारा खोज्नुपर्छ भन्ने कुरा स्पष्ट भएको छ । अब नेपालमा सबभन्दा ठूलो पार्टीको रुपमा, राष्ट्रिय शक्तिको रुपमा एमाले आएको छ भन्ने कुरा यो निर्वाचनले स्थापित गरेको छ भन्ने कुरा म राख्न चाहन्छु ।’

महासचिव पोखरेलले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढी विधि र प्रक्रिया उलंघन गर्ने नेताको रुपमा माधवकुमार नेपाल रहेको टिप्पणीसमेत गरे । उनले एमालेमा छँदा एक व्यक्ति, एक पदको नारा दिने माधव नेपालले अहिले पार्टीको अध्यक्ष र संसदीय दल दुवै लिएर त्यसको धज्जी उडाएको पनि दोहोर्‍याए ।





  • प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार १७:३४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया