कार्यकर्तालाई विष्णु पौडेलको निर्देशन : जनताको घरदैलोमा जानुस्, विकासका योजना सुनाउनुस्
फरकधार / १३ बैशाख, २०७९
फाइल तस्वीर

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले चुनावका लागि टोलटोलमा परिचालित हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।



एमाले नेतृत्वको सरकारले केन्द्रदेखि स्थानीय तहसम्म सुरु गरेका विकासका योजनाबारे जनतालाई बुझाउन र शासक नबनी सेवकको रूपमा प्रस्तुत हुन पार्टी पंक्तिलाई निर्देशन दिएका हुन् ।

मंगलबार बुटवलमा उम्मेदवारको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन तयारीका लागि गर्नुपर्ने सबै काम तत्काल गर्न पनि निर्देशन दिए । 'अब समय धेरै छैन, आन्तरिक तयारीका कामलाई छिटो टुंग्याउनुस् र जनताको घरदैलोमा जानुस्, विकासका योजना सुनाउनुस् र स्थानीय सरकारमा एमाले नेतृत्वमा रहँदा गरेका राम्रा कामहरूबारे बुझाउनुस्,' पौडेलले भने ।



रुपन्देहीमा रहेका १६ वटा पालिका मध्ये कम्तीमा १३ वटा पालिकामा एमालेको जित निश्चित रहेको उनले दाबी गरे । 'बुटवल उपमहानगरपालिकामा जित सुनिश्चित जस्तै छ, अन्य स्थानीय तहहरूमा पनि भारी मतान्तरले एमालेको जित हुने छ,' उनले भने ।



सत्ता गठबन्धन रुपन्देहीमा भताभूंग भएको भन्दै पौडेलले गठबन्धनको नाममा एमालेलाई तर्साउन खोजेको सपना पूरा नहुने पनि बताए । 'रुपन्देहीका धेरै पालिकामा गठबन्धन टुटेको छ, गठबन्धनमा आबद्ध दलका धेरै कार्यकर्ता अव एमालेमा आउँछौँ भनिरहेका छन्,' उनले भने । 

बुटवल उपमहानगरपालिकामा एमालेले मेयरमा बाबुराम भट्टराई र उपमेयरमा सावित्रा अर्याललाई उम्मेदवार बनाएको छ । त्यस्तै चार जना वडा सदस्य दिएर राष्ट्रिय जनमुक्ति पार्टीसँग एमालेले तालमेल समेत गरेको छ । 

अभिमुखीकरण कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य लीला गिरीले उम्मेदवारी मनोनयनका क्रममा देखिएको उत्साहले गठबन्धनभित्र समेत हलचल पैदा भएको बताए ।

  • प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार १७:५१:६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया