नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेस केन्द्रीय प्रचार–प्रसार सांस्कृतिक समन्वय उपसमितिले आयोजना गरेको ‘कांग्रेस नै चाहियो’ नामक गीत विमोचन समारोहमा बोल्दै प्रवक्ता महतले एमाले अध्यक्ष ओलीले निर्वाचन आचारसंहिताको धज्जी उडाएको आरोप लगाएका हुन् ।
ओलीले कांग्रेसको घोषणापत्रलाई लिएर आपत्तिजनक शब्दहरू प्रयोग गरेको भन्दै उनले खेद् प्रकट गरे । ओलीले आपत्तिजनक शब्दहरू प्रयोग गर्दा पनि निर्वाचन आयोगले ध्यान नदिएको भन्दै प्रवक्ता महतले ओलीको अभिव्यक्तिप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।
‘आचारसंहितालाई धज्जी उडाएर आफूखुशी, मनलागी अत्यन्त अत्यन्त तल्लोस्तरबाट जसरी कुराकानी आइराख्या छ । स्वयं पूर्वप्रधानमन्त्रीको मुखबाट जस्तो किसिमको शब्द केही समय अगाडि उहाँले बोल्ने क्रममा हाम्रो घोषणापत्रलाई लिएर, हाम्रो पार्टीलाई लिएर जस्ता शब्द प्रयोग भएको छ, त्यो अत्यन्त खेदजनक छ । र यो निर्वाचन आयोगले यस सम्बन्धमा हामी गम्भीर रुपमा ध्यानाकर्षण गराउन चाहान्छौँ' उनले भने ।
एमाले अध्यक्ष ओलीले मंगलबार नै पार्टीको एक कार्यक्रममा नेपाली कांग्रेसको घोषणापत्रलाई लिएर विभिन्न टिप्पणी गरेका थिए । प्रवक्ता महतले ओलीको सोही टिप्पणीप्रति असन्तुष्टि जनाएका हुन् । उनले निर्वाचनमा नेपाली कांग्रेसले गरेका राम्रा कामहरूको व्यापक प्रचार–प्रसार गर्न पार्टीका नेता, कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।