शंकर पोखरेलको दाबी : ७० प्रतिशत नयाँ मतदाता एमालेको पक्षमा उभिन्छन्
'‘आई लभ यू केपी बा’ ओलीको राष्ट्र निर्माण भिजनले छोएर प्रकट भएको भावना'

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ७० प्रतिशतभन्दा बढी नयाँ मतदाता आफ्नो पार्टीका पक्षमा उभिने दाबी गरेका छन् ।

महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी ओलीको राष्ट्र निर्माणको भिजनबाट धेरैजसो नयाँ मतदाता आफ्नो पार्टीको पक्षमा उभिने अवस्था आएको तर्कसमेत गरे । 

स्थानीय तह निर्वाचनलाई केन्द्रित भएर पार्टीको सम्पर्क समन्वय कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओलीको राष्ट्र निर्माणको भिजनले छोएकै कारण मतदाताले ‘आई लभ यू केपी बा’ भन्ने गरेको बताए । अब आउने स्थानीय निर्वाचनसहितका तीनवटै तहको निर्वाचनबाट आफ्नो पार्टीले सरकार बनाउनेसमेत महासचिव पोखरेलले दोहोर्‍याए । 

‘करिव ३५/३६ लाख नयाँ मतदाता थपिएका छन । नयाँ मतदाताका बीचमा एउटा सर्वेक्षण गर्‍यौं हामीले । त्यो सर्वेक्षणको नतिजा के आयो त भन्दाखेरी करिव ७० प्रतिशत नयाँ मतदाता नेकपा एमालेप्रति झुकाव राख्ने मतदाताको रुपमा प्रकट भएको छ । र, वास्तवमा भन्नुहुन्छ भने हाम्रो पार्टी अध्यक्षको राष्ट्र निर्माणको सन्दर्भमा जुन प्रकारका भिजन प्रस्तुत गर्नु भएको छ । त्यसले सबभन्दा धेरै कसलाई छोएको छ भन्दाखेरी नयाँ मतदातालाई छोएको छ । ‘आई लभ यू केपी बा’ भन्ने कुरा त्यसै प्रकट भएको भावना होइन । राष्ट्र निर्माणको भावनाको रुपमा हाम्रो अध्यक्षमाथिको सम्मानको रुपमा प्रकट भएको छ भन्ने कुरा हामीले बुझ्न जरुरी छ’ उनले भने ।

महासचिव पोखरेलले सत्तारुढ कांग्रेस आफ्नो पार्टीसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको पनि बताए । कांग्रेससहितका सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग एक्लै चुनावी लड्ने आँट गर्न नसकेको उनको भनाइ थियो । 

महासचिव पोखरेलले स्थानीय तह निर्वाचनको चुनावमा सत्तारुढ दलहरुले एमालेसँग पराजित हुने डरले चुनावी गठबन्धन गरेको उल्लेख गर्दै एमाले मुलुकको सबैभन्दा ठूलो शक्तिको रुपमा स्थापित भईसकेको जिकिर गरे । उनले सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन गर्दा नै निराशा प्रदर्शन गरेको बताए ।



महासचिव पोखरेलले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढी विधि र प्रक्रिया उलंघन गर्ने नेताको रुपमा माधवकुमार नेपाल रहेको टिप्पणीसमेत गरे ।



  • प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार १९:१८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया