श्रममन्त्री श्रेष्ठ मलेसिया जाने, नेपाली कामदारको हितको विषयमा समकक्षीसँग छलफल गर्ने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र श्रम मन्त्रालयका पदाधिकारीको एक टोली बुधबार मलेसिया जाने भएको छ । मन्त्री श्रेष्ठका मलेसियन समकक्षी मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणमा यो टोली चार दिने भ्रमणका लागि मलेसिया जान लागेको हो । 

भ्रमणको पूर्वसन्ध्यामा श्रममन्त्री श्रेष्ठसँग मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फ्याजलले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रलायमा भएको यो भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हितका साथै सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री श्रेष्ठले दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

भेटमा मलेसियाका कार्यवाहक राजदूत फ्याजलले मन्त्री श्रेष्ठको मलेसिया भ्रमण र त्यसका अजेन्डाबारे छलफल गरेका थिए । मन्त्री श्रेष्ठ, मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा. थानेश्वर भुसालसहितको टोली बुधबार दिउँसो मलेसिया प्रस्थान गर्दैछ । 

भ्रमणमा सचिव अर्यालले मलेसियाका गृहसचिवसँग पनि भेट्ने कार्यक्रम तय भएको छ । त्यस्तै उनले त्यहाँ सामाजिक सुरक्षा संगठनका प्रमुखसँग पनि भेटवार्ता गर्नेछन् । भेटमा सचिव अर्यालले नेपाली कामदारको वृहत्तर हितका अजेन्डामा छलफल गर्नेछन् ।



भ्रमणमा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँग भेटवार्ता गर्नेछन् । भेटमा वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने श्रम सम्झौताको प्रावधान प्रभावकारी कार्यन्वयनको विषयमा मन्त्री श्रेष्ठले आफ्ना समकक्षीसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

साथै, भ्रमणका क्रममा नेपालमा आयोजना हुने नेपाल(मलेसिया संयुक्त समितिको बैठकका एजेन्डा तय गरिनेछ । 



भ्रमणका क्रममा मलेसियामा रहेका नेपाली समुदायसँग समेत छलफल गर्ने कार्यक्रम छ । मलेसिया नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलकका रुपमा रहेको छ ।

  • प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार २०:४७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया