कांग्रेसमा राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्न भए : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा समानरूपले न्याय नभएको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् ।

बुधबार वक्तव्य जारी गर्दै कोइरालाले भनेका छन्, ‘टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने छ भनी हामीले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरूपमा साथीहरूबीच उठाएका थियौँ, तर हाम्रो कुरा ध्यानपूर्वक सुनिएन । अहिले दुःखको साथ भन्नुपर्छ टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरूले पार्टी कार्यकर्ताहरूप्रति समान रूपले न्याय गर्न सक्नुभएन ।’

उनले जीवनभर कांग्रेसको सिद्धान्त, मूल्य पद्धति र आदर्शप्रति समर्पित वरिष्ठहरू नै  पार्टी छाडि अन्य पार्टीमा ओत लाग्न पुगेको बताएका छन् । ‘कैयौँ साथीहरू स्वतन्त्र उमेदवारको रूपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ । ती साथीहरूलाई कांग्रेसको मूल प्रवाहमा फर्कन म आग्रह गर्दछु,’ उनले भनेका छन्, ‘त्यस्तै टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरू पनि यतिखेर सार्वजनिक भइरहेका छन् र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरू भोग्दैछन् ।’

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार मात्र कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्ललाई पार्टीबाट निस्कासन गरेका थिए । कोइरालाले यो घटनालाई संकेत गर्दै असन्तुष्टि जनाएका छन् ।   

‘सबैभन्दा दुःखको कुरा त आफूसँग असहमत भएकै कारण कैयन साथीहरूको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरू भएका छन् । कैयन साथीहरूलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षड्यन्त्र पनि भएका छन् । पार्टीभित्र रहेका यस्ता गलत कार्यहरू तत्काल अन्त्य हुनुपर्छ,’ उनले भनेका छन् ।

उनले निर्वाचनमा कांग्रेसलाई अत्यधिक विजयी बनाउने अभियानमा जुट्नु आह्वान गरेका छन् । स्थानीय निर्वाचनको सकारात्मक परिणामले अगाडिका दुई निर्वाचनमा हामीलाई जितको आधार निर्माण गर्न सहज हुने उनको भनाइ छ ।



‘कांग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षा गरिनेछ भनी साथीहरुलाई म विश्वस्त पार्न चाहन्छु । निःसन्देह, अहिले हाम्रो अगाडि निर्वाचन छ र हामी पार्टी हितलाई सर्वोपरि ठानी तत्काललाई असन्तुष्टिहरू छातीभित्र राखी कांग्रेसको विजयी अभियानमा होमिने छौं । साथीहरूबाट पनि म यही अपेक्षा गर्दछु,’ उनले उल्लेख गरेका छन् । 



  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार ९:१९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया