बुटवलमा सटर फोडेर ४ सय तोला सुन चोरी

बुटवलमा रातिको समयमा सटर फोडेर करिब ४ सय तोला सुन चोरी भएको छ । यो सोमबार रातिको घटना हो । सुनचाँदी व्यवसायीहरूले बुधबार मात्र पत्रकार सम्मेलन गरेर जानकारी गराएपछि घटना बाहिरिएको हो ।

बुटवलको बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट ३६० तोला बराबरको सुनका गरगहना तथा २३ तोला काँचो सुन चोरी भएको हो । सुनसँगै नगद ५ लाख रुपैयाँसमेत चोरी भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

सुनचाँदी पसल भएको घर भाडामा लिएर केही व्यक्तिहरूले पसल राख्नको लागि भन्दै डेकोरेसनको काम थालेका थिए । प्रहरीले घटनामा उनीहरूको संलग्नता भएको आशंकामा अनुसन्धान सुरु गरेको छ । उक्त घर योगेन्द्र अग्रहरीको हो । भारतीय नागरिकहरूले पसल राख्नका लागि भन्दै घर भाडामा लिएर डेकोरेसनलगायतको काम सुरु गरेका बेला सुन पसल चोरी भएको हो ।

रूपन्देहीमा विगतमा पनि सुनचाँदी पसल फोडेर चोरी हुने गरेको भए पनि यो घटना अहिलेसम्मकै ठूलो भएको सुनचाँदी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माले बताए । उनका अनुसार रुपन्देहीको रानीबगियामा पनि केही समयअघि सुन पसल लुटपाटको प्रयास भएको थियो । त्यसक्रममा सुन लुट्न आएकाहरूले व्यवसायीलाई आक्रमण गरी घाइते बनाएको विश्वकर्माले बताए । रूपन्देहीकै बुद्धनगरका पनि केही दिनअघि एक महिलाको सुन लुटिएको थियो ।

सुनचाँदी व्यवसायी संघ बुटवलका अध्यक्ष गोकुल विश्वकर्माले पटकपटक सुनचाँदी व्यवसायी लुटिने क्रम बढेको र कुनै पनि घटनामा पीडितले न्याय नपाएको बताए । ‘अभियुक्तहरूलाई पक्राउ गरेर कारबाही नगर्दासम्म व्यवसायीले न्याय पाउँदैनन्,’ उनले भने ।

व्यवसायीहरूले पटकपटक सुन पसलमा चोरी हुँदा पनि प्रहरी प्रशासन मूकदर्शक बनेको र सुरक्षा दिन नसकेको गुनासो गरेका छन् । प्रहरीले भने सुन पसलमा चोरी गर्नेहरूको खोजी भइरहेको जनाएको छ । 





  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार ११:२३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया