टिकटका लागि मात्रै राजनीति गर्नेहरू एमाले हुनै सक्दैनन् : विष्णु पाैडेल
‘गठबन्धन बालुवा र तासको घर’

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ दलको चुनावी गठबन्धनलाई ‘बालुवा र तास’ को घरको संज्ञा दिएका छन् । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारहरूको अभिमुखीकरण एवं अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले बालुवा र तासको घरजस्तै चुनावमा गठबन्धन पनि भताभूंग हुने टिप्पणी गरे ।

 ‘एमालेका निम्ति गठबन्धन केही होइन, केपी ओली र एमालेप्रतिको बढ्दो आकर्षणले एमालेले चुनाव जितिसकेको छ,’ पौडेलले भने । उनले एमाले नेतृत्वमा रहँदा संघ, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा काम र आगामी योजना बनाएर चुनावमा मत माग्न जान पनि कार्यकर्तालाई निर्देशन दिए । 

उनले टिकट वितरणलाई लिएर असन्तुष्टि व्यक्त गर्ने छुट एमालेका कुनै कार्यकर्तालाई नभएको बताए । ‘कोही व्यक्ति असन्तुष्टिको नाममा चुनावमा खटिँदैन, पार्टीलाई हराउन लाग्छ भने त्यो उसको निम्ति ठूलो भूल हुनेछ, पार्टीका अगाडि व्यक्ति केही होइन,’ उनले भने । 

उपाध्यक्ष पौडेलले चुनावमा टिकट पाउनका लागि मात्रै राजनीति नभएको बताए । ‘टिकट पाउनका लागि मात्रै राजनीति गर्नेहरू एमाले हुनै सक्दैनन्,’ उनले भने ।

पौडेलले कुनै पनि खालका भ्रम र आशंका नपाली चुनावमा दिनरात खटिन पनि कार्यकर्तालाई निर्देशन दिए । ‘रूपन्देहीको तिलोत्तमा देशकै नमुना नगरपालिका बनेको छ, त्यो एमाले नेतृत्वको स्थानीय सरकार भएको कारणले भएको हो, राम्रो काम गर्दागर्दै चुनाव हार्ने सम्भावना नै रहँदैन,’ पौडेलले भने । 

उनी केही दिनदेखि रूपन्देहीका स्थानीय तहहरूमा चुनावी माहौल बनाउन सक्रिय छन् । उनले सत्ता गठबन्धनभित्रका धेरै नेता कार्यकर्ता एमालेमा आउन चाहिरहेको भन्दै यसको नतिजा चुनावपछि देखिने पनि बताए । 





  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार ११:३१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया