कैलालीका ८ स्थानीय तहका जनप्रतिनिधि पुनः उम्मेदवार

स्थानीय तह निर्वाचनका लागि कैलालीका १३ वटा पालिकामध्ये ८ पालिकाका जनप्रतिनिधि पुनः उम्मेदवार दोहोरिएका छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि उनीहरु दोहोरिएका हुन् । 

जिल्लाको धनगढी उपमहानगरपालिकाका नगरप्रमुखमा नृपबहादुर वडा पुनः नगरप्रमुखकाे उम्मेदवार दोहोरिएका छन् । उनी नेपाली कांग्रेसका तर्फबाट नगरप्रमुखका उम्मेदवार हुन् । नगर उपप्रमुख सुशीला मिश्र भट्ट भने दोहोरिएकी छैनन् ।

भजनी नगरपालिकाका नगरप्रमुख शेरबहादुर चौधरी पुनः माओवादी केन्द्रबाट नगरप्रमुखका उम्मेदवार बनेका छन् । यस्तै, घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममताप्रसार चौधरी नेकपा एमालेका तर्फबाट नगरप्रमुखका उम्मेदवार बनेका छन् । उनलाई एमालेको घोडाघोडी नगर कमिटीले नगरप्रमुखमा सिफारिस नगरे पनि एमाले प्रदेश कमिटीको आग्रहमा नगरप्रमुखका उम्मेदवार बनाइएको एमाले प्रदेश कमिटी सचिव धर्मराज पाठकले बताए ।

यस्तै, लम्की–चुहा नगरपालिकामा एमालेका तर्फबाट महादेव बजगाईंलाई पुनः उम्मेदवार बनाइएको छ । उनलाई पनि नगरकमिटीले नगरप्रमुखका लागि सिफारिस गरेको थियाे । एमाले प्रदेश कमिटीले उनलाई पुनः उम्मेदवार बनाएको हो ।

कैलारी गाउँपालिकामा अध्यक्षमा जालुराम चौधरीलाई माओवादी केन्द्रले पुनः अध्यक्ष पदका लागि उम्मेदवार बनाएर अघि सारेको छ । यस्तै, गाउँपालिकमा उपाध्यक्ष लक्ष्मी सत्गौवा चौधरीलाई पनि पुनः उपाध्यक्षको उम्मेदवारका रुपमा अघि बढाइएको छ ।

यस्तै, जिल्लको चुरे गाउँपालिकाका उपाध्यक्ष दीपादेवी साउँदलाई एमालेले पुनः गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनाइएको छ । सो गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगर पुनः अध्यक्षको उम्मेदवारीका लागि गाउँ कमिटीबाट सिफारिस भए पनि एमालेले उनलाई अध्यक्षका रुपमा पुनः दोहोर्याएन ।



गोदावरी नगरपालिकामा रत्ना कडायत पुनः नगर उपप्रमुखको उम्मेदवार भएकी छिन् । एमालेबाट निर्वाचित कडायत अहिले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीमा छन् । उनलाई सो पार्टीले सत्ता गठबन्धनको उम्मेदवार बनाएको हो ।

यस्तै, माओवादी केन्द्रका तर्फबाट मोहन्याल गाउँपालिकामा देवीदत्त उपाध्यायलाई अध्यक्षका उम्मेदवार बनाइएको छ । उनी ०७४ को स्थानीय तहको निर्वाचनमा वडा नं. ३ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।
 
कैलालीका अधिकांश पालिकामा २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएका वडाध्यक्ष पुनः उम्मेदवार बनेका छन् ।



  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार १८:४८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया