कर्णालीका पालिका नेतृत्वका लागि यस्ताे छ महिला सहभागिता

प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमालेले महिला नेतृत्वका साथ स्थानीय चुनावमा पदाधिकारी मनोनयन गराएको छ । नेकपा एमालेको तर्फबाट नगरको प्रमुख पदमा मोहनमाया भण्डारी (ढकाल)को उम्मेदवारी छ । ढकाल यसअघि वीरेन्द्रनगर नगरपालिकाको उपमेयर थिइन् ।

यसैगरी दैलेखको ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट लक्ष्मीदेवी शाहको उम्मेदवारी परेको छ । एमालेबाट ठाटीकाँधको अध्यक्षको उम्मेदवार बनेकी शाह जिल्ला समन्वय समितिको उपप्रमुखसमेत थिइन् । 

नेपालको संविधानको धारा ३८(४) ले ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुने’ व्यवस्था गरेको छ । राज्यका सबै संरचनामा एकतिहाइ महिलाको अनिवार्य उपस्थिति हुनुपर्ने संविधानमा व्यवस्था गरिएको छ ।

महिला नेतृत्वको अर्थपूर्ण सहभागिताका विषयमा बहस सुरु भएसँगै कर्णालीमा पनि पालिकाहरुमा स्थानीय निर्वाचनका लागि महिला नेतृत्व संख्या बढ्न थालेको छ । संविधानमा व्यवस्था भएबमोजिम सबै नेतृत्वदायी पदमा महिलाको अर्थपूर्ण उपस्थितिका लागि यहाँका राजनीतिक दल, महिला अधिकारकर्मीलगायत सक्रियताले पालिकामा महिला नेतृत्व बढ्न थालेको हो ।

स्थानीय तह निर्वाचनका लागि कर्णालीमा मुख्यगरी नेकपा एमाले, सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) तथा नेपाल मजदुर किसान पार्टी र राप्रपाले स्थानीय तहको प्रमुख तथा उपप्रमुखमा महिला नेतृत्वको उम्मेदवारी दर्ता गराएका छन् ।

दैलेखकै नारायण नगरपालिकाको प्रमुखका लागि निर्मला खड्का (थापा)को उम्मेदवारी परेको छ । नेपाली कांग्रेसको तर्फबाट उनको उम्मेदवारी परेको हो । यसैगरी, नारायण नगरपालिकाको उपप्रमुख पदका लागि नेकपा (एकीकृत समाजवादी)बाट सावित्री मल्लको उम्मेदवारी दर्ता भएको छ । 



यसअघि खड्का नगरकार्यपालिकाको सदस्य र मल्ल नगरको उपमेयर थिइन् । जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिकाको प्रमुखमा नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मनीषा कार्कीको उम्मेदवारी दर्ता भएको छ ।

दैलेखकै भैरवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट रिता शाहीको उम्मेदवारी परेकाे छ । शाही नेपाली कांग्रेस दैलेखको उपसभापति हुन् । कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष पदका लागि देवी भण्डारीको उम्मेदवारी परेको छ । 



भण्डारी भैरवी गाउँपालिका–३ को वडाध्यक्ष हुन् । उनी ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित हुने एक मात्र महिला वडाध्यक्ष हुन् । यहाँ नेकपा (माओवादी) केन्द्रबाट गाउँपालिका अध्यक्षमा सरिता बिसी रिजालको समेत उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

कालिकोटको खाँडाचक्र नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट तारा शाहको उम्मेदवारी परेको छ । जिल्लाको रास्कोट नगरपालिकाको प्रमुखमा नेत्रिवक्रम चन्द ‘विप्लव’ नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट धिरिन्द्रा उपाध्याय (भृकुटी)को उम्मेदवारी परेको छ ।

रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा नेकपा एमालेका तर्फबाट प्रमुख पदमा अनिता चन्द गौतमले मनोनयन दर्ता गराएकी छिन् । 

कर्णालीका पालिकाहरुमा महिला सहभागिताबारे थप विवरण आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा भन्दा यसपालिको निर्वाचनमा कर्णालीमा पालिकाहरुको नेतृत्वमा महिला सहभागिताको संख्या भने बढेको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपति र उपराष्ट्रपति, प्रतिनिधिसभाको सभामुख र उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष, प्रदेशको सभामुख र उपसभामुख, जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख, स्थानीय पालिकाको प्रमुख एवं अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्षमध्ये एक फरक–फरक लिंगको हुनुपर्ने संविधानमा स्पष्ट प्रावधान छ ।

  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार १९:८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया