धनगढी–४ मा कांग्रेसको विद्रोह : असन्तुष्टले दिए क्रियाशील सदस्यबाट राजीनामा

नेपाली कांग्रेस धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा विवाद देखिएको छ । टिकट वितरण एकाेहोरो ढंगले गरेको भन्दै ५८ जना क्रियाशील सदस्यले बिहीबार पत्रकार सम्मेलन गरी राजीनामा दिएका छन् ।

‘धनगढी उपमहानगरपालिका वडा नं ४ मा नेपाली कांग्रेसबाट ११ जना अध्यक्ष पदका लागि तथा २२ जना सदस्य पदका लागि उम्मेदवारी दाबी गरिएको थियो’, पत्रकार सम्मेलनमा वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष दीपककुमार थापा क्षेत्रीले भने ।

 ‘कसैसँग पनि छलफल नगरी वडा कार्य समितिले तीनजना अध्यक्ष पदका आकांक्षको नाम सिफारिस गर्यो ।’

पार्टीको विधानविपरीत ०७४ निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी भई कारबाहीको सिफारिसमा परेको व्यक्तिलाई टिकट दिएकोप्रति आपत्ति रहेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

कांग्रेस वडा नम्बर ४ बाट बुद्धि खड्कालाई उम्मेदवार बनाएको छ । उक्त पार्टीले कारबाही गरेको व्यक्तिको टिकट रोक्न ९९ जना क्रियाशील सदस्यको हस्ताक्षरसहित अगाडि नबढाउने जिल्ला कार्य समितिको ध्यानाकर्षण गर्दा पनि बेवास्ता गरिएको असन्तुष्टहरुले जनाएका छन् ।

वडाका क्रियाशील सदस्यहरूको मर्म तथा भावना नबुझेर नै उम्मेदवारी छनोट गरेको भन्दै असन्तुष्टि रहेको उनीहरुले बताएका छन् ।



टिकट वितरण गर्ने निकायले सदस्य पदको निर्णयमा समेत धाँदली गरेको उनीहरुको आरोप रहेको छ ।  क्षेत्रीय कार्यसमितिले गरेको निर्णयमा टिकट दिने निकायले टिकट पाएका व्यक्तिको नाममाथि समेत टिपेक्स लगाई आफूअनुकूलका अन्य सदस्यको नाम उल्लेख गरेको उनीहरुले आरोप लगाएका छन् ।

वडाको टिकट दिने प्रक्रियामा भूगोल, क्षेत्र, योगदान मूल्यांकन नै नगरी हस्तक्षेप भएको वडा नम्बर ४ का पूर्व कांग्रेस वडा सभापति अनन्तराज जोशीले बताए ।



एकलौटी ढंगले गरेको निर्णयले तथा पार्टीले गर्ने विभेदपूर्ण व्यवहारबाट पीडित पार्टीका इमान्दार, क्रियाशील एवं सक्रिय कार्यकर्ताले मनोभावनामा आँच पुगेको उनले बताए । 

असन्तुष्ट समूहले आसन्न निर्वाचनमा स्वतन्त्र ढंगले मतदान गर्ने जनाएका छन् । वडाबाट ९९ जना असन्तुष्टहरुको हस्ताक्षरसहित जिल्ला सभापतिलाई बुझाउने उनीहरुले जनाएका छन् ।

  • प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार १९:१५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया