असन्तुष्ट खेलाडी भन्छन्- क्याम्प छाड्न प्रशिक्षकबाट बारम्बार दबाब आएको हो
अध्ययन हुँदैछ : एन्फा

एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीले प्रशिक्षक अबदुल्लाह अलमुताईरीको बारम्बार दबाबका कारण क्याम्प छाड्नु परेको बताएका छन् ।

राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरेर मुख्य प्रशिक्षक अलमुताइरीले न्युनतम सेवा सुविधाका लागि माग राख्दा बारम्बार दबाब दिएर क्याम्प छाड्न बाध्य भएको बताएका हुन् । 

नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा रोहित चन्दले नेतृत्व गरिरहेको टोलीमा न्यूनतम सेवा सुविधा उपलब्ध गराउन माग राखेको विषयमा प्रशिक्षकले आफूमाथि निरन्तर दबाब दिएर क्याम्प छाड्न सक्ने भने पछि होटल छाडेर गएको उनीहरुले पत्रकार सम्मेलनमा बताएका हुन् ।

प्रशिक्षकको कार्यशैलीमा असन्तुष्टि जनाउँदै प्रशिक्षणमा रहेका १२ खेलाडीले अलमुताईरीको आचरण बेठीक भएको टिप्पणी समेत गरेका छन् । पत्रकार सम्मेलनमा बन्द प्रशिक्षण बहिस्कार गरेका १० खेलाडी नै उपस्थित भएका थिए । 

यस्तै, खेलाडीहरूले प्रशिक्षकसँगको विवादबारे अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जानकारी गराएको तर एन्फा नेतृत्वले अहिले निर्वाचन नजिकिँदै गरेको भन्दै खेलाडीलाई बुझेर खबर गर्ने बताए पनि खबर नआएको उनीहरुले बताए ।

खेलाडीले पत्रकार सम्मेलनमार्फत खेलाडीमा लगाएको आरोपको समेत खण्डन गरेका छन् । उनीहरूलाई विद्रोही भनिएकोमा आपत्तिसमेत जनाए । प्रशिक्षकले बारम्बार क्याम्प छाडेर जान भनेपछि मात्र क्याम्प छाडेको बताएका हुन् । 



खेलाडीले समस्या सुल्झाउन कदम चाल्नुको सट्टा एन्फाका जिम्मेवार पदाधिकारीबाट सार्वजनिक मिडियामा हामी क्याम्पबाट भाग्यौँ भन्ने अभिव्यक्ति दिएको भन्दै आश्चर्यसमेत ब्यक्त गरेका छन् । 

उनीहरुले सत्य तथ्य छानबिन गर्नका लागि नेतृत्व पक्षलाई मागसमेत राखेका छन् । यस्तै, खेलाडीले अहिलेको प्रशिक्षकसँग रहेर फुटबल खेल्न कठिन हुनेसमेत बताए ।



अध्ययन गर्दै छौँ : एन्फा

अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरले खेलाडी र प्रशिक्षकसँगको विवादको अध्ययन भइरहेको बताएका छन् । 

खेलाडीले किन क्याम्प छाडेर गएको विषयमा प्रशिक्षकसँग छलफल भएको र एन्फाले अध्ययन गर्ने महासचिव इन्द्रमान तुलाधरले बताए ।

प्रशिक्षकसँग असन्तुष्ट देखिएका रोहित चन्दले सुरुवातमा क्याम्पबाट बिदा लिएका थिए । रोहितसहित ९ जना खेलाडीले क्लोज क्याम्प छाडेको व्यवस्थापक मधुसूदनले पुष्टि गरेका थिए । 

गोलकिपर विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, सुमन लामा, तेज तामाङ, विशाल राई, बिमल घर्तीमगर दिनेश राजवंशी लगायतका खेलाडीले होटल छाडेर हिँडेका हुन् । 

सिनियर खेलाडीले प्रशिक्षण छाडेपछि त्यसको बदलामा अलमुताईरीले जुनियर १४ नयाँ खेलाडीलाई बिहीबारबाट बन्द प्रशिक्षणमा समेत बोलाएका छन् ।

एएफसी एसियन कप छनोट प्रतियोगिताको कठिन मानिएको समूहमा रहेको नेपालले जुन ८ देखि १४ सम्म कुवेतमा हुने प्रतियोगिताका लागि तयारी गरिरहेको छ । कठिन मानिएको समूहमा रहेको नेपालले छनोटमा उत्कृष्ट प्रदर्शनको अपेक्षा राखेको छ । 

मुख्य प्रशिक्षकले छनोट हुँदैनौ भन्दै दिएको अभिव्यक्तिको सार्वजनिक रुपमा दिएपनि नेपाली टोली उत्कृष्ट प्रदर्शन गर्नका लागि योजनाबद्ध तरिकाले तयारी गरिरहेको बताएको छ । 

छनोटबाट समूहको शीर्ष टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन । यस्तै, ५ समूहको उत्कृष्ट उपविजेताले पनि प्रतियोगितामा सहभागि हुने मौका पाउनेछन् । 

  • प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार १९:५९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया