[अन्तर्वार्ता] हेटौँडामा गठबन्धनसँग चुनाव जित्न एमालेलाई कुनै चुनौती छैन : अनन्त पौडेल

स्थानीय तहको निर्वाचनकोे मिति नजिकिँदै गर्दा  मकवानपुर जिल्लामा चुनावी सरगर्मी बढेको छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडा उपमहानगरपालिकालाई स्थानीय तह निर्वाचनका लागि चासोको विषयले हेरिएको छ । हेटौँडा उपमहानगरपालिकामा १ जना मेयरका लागि २१ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हेटौँडाले कुन राजनीतिक दलबाट स्थानीय सरकार पाउला भन्ने सबैको चासो छ । 

त्यसो त हेटौँडाको मेयरका लागि नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराएका अनन्त पौडेल र गठबन्धनका दलबाट उम्मेदवारी दिएकी मीनाकुमारी लामाबीच टकराव पर्ने देखिन्छ । पूर्वसंविधानसभा सदस्यसमेत रहेका पौडेल गठबन्धनसँग एमालेले डराउनु नपर्ने तर्क गर्दै आइरहेका छन् । आफू संविधानसभा सदस्य हुँदा निर्माण गरेको संविधानलाई स्थानीय तहमा कार्यान्वयन गर्न हेटौँडामा मेयरको उम्मेदवारी दिएको बताउँदै आएका पौडेलसँग हेटौँडाको लागि रहेका योजना, गठबन्धनको चुनौतीलगायत विषयमा केन्द्रित रहेर फरकधारकका लागि सुनिता विष्टले गरेको कुराकानी ः

हेटौँडा उपमहानगरपालिमामा तपाईंको उम्मेदवारी किन ? 

हेटौँडाको मेयरमा मेरो उम्मेदवारी यहाँको पूर्वाधार, स्वास्थ्य, शिक्षा, खानेपानी, मानव विकास, समाजिक विकास र उपमहानगरपालिकाको आर्थिक विकासमो निम्ति हाम्रो उम्मेदवारी हो । विगत ४९ सालदेखि नेकपा एमालेले हेटौँडामा विजय हासिल गर्दै आइरहेको छ । अघिल्ला समयमा जनताको सामु हात हालिएका योजना पूरा गर्नको लागि मेरो उम्मेदवारी हो । विषेशगरी हेटौँडा प्रदेशको राजधानी पनि भएको छ । अब यसको स्तरोन्नतिका लागि पनि हेटौँडाको मेयरमा मेरो उम्मदवारी हो । 

तपाईंको नेतृत्वमा हेटौँडाको स्थानीय सरकार बन्यो भने मुख्य एजेण्डा के हुनेछ ? 

हेटौँडा उपमहानगरपालिका जितिरहँदा हेटौँडाका जनताले स्वास्थ्य, शिक्षा र भौतिक विकासमा पछि परेका वडाहरुको संरचना निर्माणलगायत विकास गर्ने योजना छ । हेटौँडाको केही वडाहरु यस्ता छन्, जहाँ जान अहिले पनि अर्को पालिकाको बाटो भएर मात्रै पुगिन्छ । यस्ता ठाउँमा साँच्चै सफा, सुन्दर र विकासले कायापलट गरेको उपमहानगरपालिका हो भन्ने बनाउने उद्देश्य छ । 



संविधानसभा सदस्य भइसकेको मान्छे स्थानीय तहमा आउनुको कारण ?

विकास जहाँ बसेर पनि गर्न सकिन्छ । संविधानसभाको सदस्यमा म संविधान बनाउन गएको थिएँ । त्यो संविधानको स्थानीय तहको कार्यान्वयन गर्ने क्रममा म स्थानीय तहको सरकारमा रहेर जिम्मेवारी निर्वाह गर्न आउन चाहेको हुँ ।



गठबन्धनलाई पराजित गर्न एमालेका एजेण्डा कस्ता छन् ?

नेकपा एमाले पटक–पटक गठबन्धनसँग प्रतिस्पर्धा गरेर जित हासिल गरेको पार्टी हो । कहिले कांग्रेस र राप्रपाको गठबन्धन भएको थियो । कहिले माओवादी र कांग्रेसको गठबन्धन भएको थियो । ०७४ सालको निर्वाचनमा पनि हेटौँडामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएकै थियो । तर, पनि हामीले जित हासिल गर्यौं । यो वर्ष हामीबाट असन्तुष्ट भएका केही मान्छे गठबन्धन गर्न उता गएका हुन् । एमालेलाई हराउने एउटा मात्रै लक्ष्य बोकेर हिँडेको गठबन्धनको भित्र स्वार्थ भाव लुकेको छ । अहिले असन्तुष्ट भएर गठबन्धनमा गएका मान्छेको संख्या जे छ, त्यसलाई म्यानेज गरिसकेका छौँ । 

एमालेलाई हेटौँडामा आफ्नो नेतृत्व बनाउन चुनौती त होला नि ? चार राजनीतिक दल एक हुँदा एक्लो एमालेले जित्ला त ? 

अहिले यो राजनीतिक दलको गठबन्धनसँग जनता वाक्क भएका छन् । गठबन्धनले केन्द्रीय तहको सरकारमा पनि अस्थिरता ल्यायो । यो गठबन्धनले प्रदेश तहको सरकारमा पनि अस्थिरता ल्यायो, र यो अस्थिरताले मुलुकलाई केही पनि दिन सकेन । यो अस्थिरताले थप महँगी, थप शोषण, थप उत्पीडन दियो र मुलुकलाई टाट पल्टाउने परिस्थिति निम्त्याएको । त्यसले गर्दा अब यो केन्द्र र प्रदेशमा भइरहेको अस्थिरतालाई स्थानीय तहमा पनि सार्ने प्रयास भइरहेको छ । यो मुलुकका लागि कलंकको विषय हो । हामीले जनतालाई बुझाउन सक्यौँ भने गठबन्धनलाई हामी हराउन सक्छौँ । जनतालाई महसुस गराउन हामीले सक्नुपर्यो । यति भयो भने गठबन्धनसँग एमालेलाई चुनाव जित्न कुनै चुनौती हुने छैन । हामीले सजिलै जित हासिल गर्न सक्छौँ । 

एमालेबाटै विभाजन भएर बनेको एकीकृत समाजवादीकी मीना लामा गठबन्धनबाट तपाईंको प्रतिद्वन्द्वी बन्दा एमालेलाई घाटा कति छ ? 

हामीलाई हराउनकै लागि आफ्नो पुरानो घर छाडेर अरु सँग मिल्न गएकाहरुसँग एमाले डराएको छैन । गठबन्धन हुँदैमा जित्ने निश्चित पनि हुँदैन । एमाले लामो समयदेखि हेटौँडाको ठूलो दलको रुपमा स्थापित छ । भोलि पनि रहिरहनेछ । समाजवादीका अध्यक्ष श्रीधर पोखरेल नै पार्टीसँग असन्तुष्टि भएर राजीनामा दिएको अवस्थामा हामी किन डराउनु ! समाजवादीको लामा गठबन्धनबाट मेयरमा उम्मेदवारी दिइरहँदा यतिबेला हेटौँडामा एमालेलाई घाटा शून्य बराबर नै छ भन्दा पनि फरक पर्दैन । झन् फाइदा हुन्छ । 

एमालेको निर्वाचन केन्द्रित प्रचार–प्रसार कसरी भइरहेको छ ?

हेटौँडामा एमालेको स्थानीय तहको सरकार बनाउनको लागि उपमहानगरपालिकासँगै १९ वटै वडामा चुनाव प्रचार–प्रसार कार्यालय खोलेका छौँ, समिति गठन पनि गरेका छौँ । अब त्यसको मार्फत १६ गतेबाट जनताको घरघरमा मत माग्न जानेछौँ । १६ गते पनि उम्मेदवारको नामावली प्रकाशन भइसकेपछि आधिकारिकता पनि प्राप्त हुन्छ । त्यसपछि हामी व्यापक प्रचार–प्रसारमा लाग्नेछौँ । समय थोरै मात्रै बाँकी भएको कारण घर दैलो भ्याइएन भने पनि प्रत्येक टोल र वडामा जाने काम हुनेछ । समयको सीमित​तालाई ख्याल गरेर निर्वाचन प्रचार गर्नुपर्ने हुन्छ । 

  • प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार २०:५०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया