बागी उम्मेदवारलाई फापेको जनकपुरधामको इतिहास

स्थानीय तहको निर्वाचन आउन अब १५ दिन मात्र बाँकी छ । स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा पनि उम्मेदवारका आकांक्षीलाई चुनावले छोइसकेको छ । 

यस्तो अवस्थामा दलका उम्मेदवार तथा स्वतन्त्रहरूले चुनाव केन्द्रित गतिविधि सुरु गरिसकेका छन् । मतदातालाई रिझाउन सबैले आ–आफ्नो घरदैलो अभियानलगायत कार्यक्रम सुरु गरिसकेका छन् । धनुषाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी चर्चा र चासो मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकाको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्वका लागि ४१ जनाले नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये १२ जनाले दलबाट उम्मेदवारी दर्ता गराएका छन् भने बाँकी सबै स्वतन्त्र उम्मेदवार हुन् । 

नगरप्रमुखमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीको भागमा परेको कोटाबाट निवर्तमान प्रमुख लालकिशोर साह, नेकपा एमालेबाट शिवशंकर साह हिरा, लोकतान्त्रिक समाजवादी पार्टीबाट मनोज चौधरीले उम्मेदवारी दर्ता गराएका छन् भने जनमत पार्टीबाट अनितादेवी साह, तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बाट विभा ठाकुर, नेपाल जनता पार्टीबाट मुरली मनोहर मिश्र, कांग्रेसका बागी उम्मेदवार मनोज साह, स्वतन्त्रतर्फ बलराम महतो, जानकीराम साह, वैधनाथ साहसहित ४१ जना छन् । 

जनकपुरधाम उपमहानगरको २५ वटा वडामा वडाध्यक्षका लागि ३३४ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै, २५ वडाका ५० जना खुल्ला वडा सदस्यका लागि ३३६ जनाले उम्मेदवारी दिएका छन् भने २५ जना महिला वडा सदस्यका लागि १७४ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यस्तै, दलित २५ जना वडा सदस्यका लागि १८० जनाले उम्मेदवारी दिएका छन् । यसरी मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य गरी १२७ पदका लागि जम्मा १ हजार ४५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसपाको भागमा नगरप्रमुख परेपछि मनोज साहले कांग्रेसबाट राजीनामा दिएर उम्मेदवारी दिएका हुन् । 



यस्तै, उपप्रमुखमा सत्ता गठबन्धनबाट कांग्रेसका किशोरी साह, एमालेबाट रुना झा, लोसपाबाट निवर्तमान उपप्रमुख रिताकुमारी मिश्र, जनमत पार्टीबाट सन्तोष साह, नेपाल जनता पार्टीबाट बन्दना पाण्डे, स्वतन्त्रबाट उमेश चौधरीलगायत २८ जना छन् । 

जनकपुरधामको नेतृत्वका लागि यति ठूलो संख्यामा भएको स्वतन्त्र उम्मेदवारीका कारण फेरि आफ्नो पुरानो इतिहास दोहोर्याउने हो कि भन्ने आकलन गर्न थालिएको छ ।



राजनीतिक विश्लेषक रोशन जनकपुरीले यसपटकको निर्वाचनमा जनकपुरधाममा कुन दल वा स्वतन्त्र उम्मेदवारको स्थिति राम्रो छ भन्न नसकिने बताए । उनले भने, ‘न दलबाट कोही मजबुत उम्मेदवार छन् न स्वतन्त्रबाटै कोही मजबुत उम्मेदवार छन्, त्यसैले अहिले अनिश्चयको वातावरण छ । यद्यपि, जनकपुरधाम दलहरुका लागि भाग्यशाली नरहेको इतिहास फेरि दोहोरिन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।’ 

उनले पहिलेको भन्दा अहिले स्थिति फरक रहेको बताउँछन् । जनकपुरीले सांगठनिक अनुशासन तथा विचार ध्वस्त हुँदै गइरहेकाले अनिश्चयको वातावरण बनेको बताए । 

पछिल्लोपटकको स्थानीय निर्वाचनमा पराजित भएका मनोजकुमार साह कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् । कांग्रेसकै बागी उम्मेदवार जित्ने जनकपुरधामको इतिहासलाई आफ्नो उम्मेदवारीले दोहोर्याउने उनको दाबी छ । 

जनकपुरधाममा कांग्रेस, लोसपा र जसपा बलिया छन् । हुन त अघिल्लो मत परिणामअनुसार जसपा सबैभन्दा शक्तिशाली दल थियो । तर, विभाजित भएपछि उसको शक्ति घटेको छ । 

यद्यपि, जनमतको हिसाबले दुवै दल प्रतिस्पर्धी हुन् । जसपाको विभाजनले कांग्रेस बलियो अवस्थामा छ । त्यसपश्चात् मात्रै क्रमशः एमाले, माओवादी, एकीकृत समाजवादीको आधार आधा देखिन्छ ।

०७४ को निर्वाचनमा यस उपमहानगरमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)ले मेयर र उपमेयरमा जित निकालेको थियो । राजपाबाट जितेका मेयर लालकिशोर साहले २१ हजार ९०३ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोजकुमार साहले ११ हजार १६४ मत ल्याएर पराजित भएका थिए । 

यस्तै, तेस्रोमा एमालेका उम्मेदवार लक्ष्मीनारायण भगतले ४ हजार ८६५ मत ल्याएका थिए भने चौथो स्थानमा रहेका फोरम नेपालका उम्मेदवार विष्णुदेव साहले ३ हजार ६१२ मत ल्याएका थिए ।

माओवादी केन्द्रका उम्मेदवार चन्द्रशेखर साहले २ हजार १२४ र नयाँ शक्तिका उम्मेदवार उमेश साहले ५८८ मत ल्याएका थिए । चुनावपश्चात् मधेसवादी दल राजपा नेपाल र फोरम मिलेपछि जसपा हुँदा मधेसवादी दल निकै शक्तिशाली थियो । 

महन्थ ठाकुर नेतृत्वको राजपा र उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबीच एकता भएर जसपा बनेको थियो । पछि विभाजन हुँदा राजेन्द्र महतोको कित्ता छाडेर उपमहानगरपालिकाका मेयर लालकिशोर साह उपेन्द्र यादव नेतृत्वकै जसपा रोजे । उपमेयर रिताकुमारी मिश्रले भने ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजिन् । 

यहाँ कोही सत्तारुढ दलबीच भएको गठबन्धनबाट असन्तुष्ट भएर त कोही आफ्नो पार्टीबाट टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । 

लोकतान्त्रिक समाजवादी पार्टीबाट नगरप्रमुख पदका आकांक्षी रहेका जानकीराम साह पार्टीभित्र टिकट पाउने सम्भावना न्यून देखेपछि नेकपा एमालेमा प्रवेश गरे । उनलाई बालकोटमै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराएका थिए । तर, त्यहाँ पनि नगरप्रमुखको टिकट नपाएपछि जानकीरामले एमाले पनि परित्याग गरेर स्वतन्त्र रुपमा नगरप्रमुख पदमा उम्मेदवारी दर्ता गराए । 

०७४ सालको पछिल्लो स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)ले निकालेको जितलाई अपवाद मान्ने हो भने जनकपुरधाम उपमहानगरपालिका दलको उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारलाई फापेको इतिहास छ ।    

मधेस प्रदेसको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका देशकै जेठो नगरपालिकामध्ये एक हो । नेपाल राज्य नगरपालिका ऐन, २००९ बमोजिम तत्कालीन पञ्चायत सरकारले ०१७ जेठ १३ गतेदेखि लागू हुनेगरी जनकपुर नगरपालिका गठन गरेको थियो । त्यतिबेला मेयर बनाइँदैन थियो । श्यामसुन्दर शर्मालाई जनकपुर नगरपालिकाको पहिलो चेयर म्यान बनाइयो । 

तत्कालीन राजा महेन्द्रले ०१७ पुस २२ गते नेपालमा पञ्चायती व्यवस्था लागू गरेपछि जनकपुर नगरपालिकाको नाम ‘जनकपुर नगर पञ्चायत’ हुन पुग्यो । 

०४६ सालको आन्दोलनपछि प्रजातन्त्र पुनर्वहाली हुँदा ०४७ जेठ २८ गते नगरपालिका ऐन, ०४७ लागू भयो । जनकपुरधाम पुनः आधिकारिक रूपमा नगरपालिका बन्यो । प्रजातन्त्र पुनर्वहाली भएपछि ०४९ सालमा पहिलोपटक जनकपुर नगरपालिकाको निर्वाचन भयो ।
 
०४९ सालको त्यो निर्वाचनमा जनकपुर नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसभित्र दिगम्बर राय र वृषेशचन्द्र लाल आकांक्षी थिए । दिगम्बर रायले मेयरको टिकट पार्टीबाट पाएपछि वृषेशचन्द्र लाल असन्तुष्ट हुन पुगे । उनले कांग्रेसको बागी उम्मेदवार हुँदै मेयरमा उम्मेदवारी दिए । उनीसँगै लालकिशोर साहले कांग्रेसकै बागी उम्मेदवारका रुपमा उपमेयरमा उम्मेदवारी दिए । त्यो वर्ष वृषेशचन्द्र मेयरमा र लालकिशोर साहले उपमेयरमा विजयी भए । कांग्रेसको आधिकारिक उम्मेदवार दिगम्बर रायले हार बेहोर्नुपरेको थियो । प्रजातन्त्र पुनर्वहालीपछि वृषेशचन्द्र नै जनकपुर नगरपालिकाको मेयर बन्न सफल भए । 

५ वर्षपछि ०५४ सालमा फेरि स्थानीय तहको निर्वाचन भयो । त्यो निर्वाचनमा कांग्रेसबाट दामोदरप्रसाद उपाध्यायले टिकट पाए । सोही वर्ष बजरंगप्रसाद साह पनि जनकपुरको मेयरका लागि आकांक्षी थिए । बजरंगले कांग्रेसको बागी उम्मेदवारको रुपमा जनकपुर नगरपालिकाका लागि उम्मेदवारी दिए । त्यो निर्वाचनमा पञ्चायतकालमा दुईपटक प्रधानपञ्च रहिसकेका उपाध्यायलाई साहले पराजित गरे । 

दुई दशकपछि ०७४ मा स्थानीय तह निर्वाचन फेरि भयो । नेपाल संघीयतामा प्रवेश गरिसकेपछिको यो पहिलो निर्वाचन थियो । तर त्यो निर्वाचनमा बागी वा स्वतन्त्र उम्मेदवारले नभई तत्कालीन राजपाका लालकिशोर साह नगरप्रमुखमा निर्वाचित हुन सफल भए । त्यो निर्वाचनमा लालकिशोरले कांग्रेसका उम्मेदवार मनोज साहलाई झण्डै दोब्बर मतको अन्तरले पराजित गर्न सफल भए । 

मधेस आन्दोलनलगत्तै स्थानीय तहको निर्वाचन भएकाले पनि राजपा यति ठूलो मतान्तरले राजपा जनकपुरधाममा विजयी भएको र अब त्यस्तो परिस्थिति नरहेको राजनीतिक विश्लेषकहरु बताउँछन् । जनकपुरधाममा बागी वा स्वतन्त्र उम्मेदवारहरुको जितको इतिहासका कारण स्वतन्त्र उम्मेदवारहरु हौसिएका छन् । 

०४९ साल र ०५४ सालमा जनकपुर नगरपालिकामा कांग्रेसको बागी उम्मेदवारहरु जिते पनि उनीहरु पछाडिको शक्ति राजनीतिक दल नै रहेको जनकपुरीले बताए । उनले केही राजनीतिक दलको शक्ति र ०५४ सालमा केही जातीय शक्तिका कारण बागी उम्मेदवारले जित निकाल्न सफल भएका थिए ।

  • प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार २१:१८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया