गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि १८ घण्टा आन्तरिक उडान, एयर बस ३३० ले गर्‍यो सफल उडान (फोटोफिचर)

परीक्षण उडानमा सफलता पाएको भैरहवामा निर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बिहीबार साँझ ५ बजेर ५० मिनेटमा सफलतापूर्वक अन्तर्राष्ट्रिय स्तरको विमानबाट परीक्षण उडान गरेको छ । 

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको विमानस्थलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको राष्ट्रिय ध्वाजावाहक विमान एयर बस ३३० बाट २७४ जना यात्रु (पूर्ण क्षमता) बोकेर सफल उडान गरेको हो । 

विमानस्थलमा बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य राम फुयाललगायतको उपस्थितिमा परीक्षण गरिएको हो ।  

निर्वाचन आचारसंहिता लागेको भन्दै मन्त्री आलेले मन्तव्य नदिए पनि प्राधिकरणका महानिर्देशक अधिकारीले नेपालको इतिहासमा पहिलोपटक काठमाडौंबाहिर वाइडबडी विमानले उडान र अवतरण गरेको बताए । 

‘यो परिक्षण गर्नका लागि डेमोन्स्ट्रेसन हो ७४ वर्ष पछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा पाएका छौं,’ उनले भने । ६४ वर्ष अघिबाट सञ्चालनमा आएको भैरहवा विमानस्थल बुद्धपूर्णिमाको दिन व्यवसायिक उडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन हुन्छ । 

विमानस्थलको सञ्चालनसँगै बढ्दो हवाइ यात्रु चाप घट्ने र काठमाडौंको विकल्प बनेको विमान स्थलका महानिर्देशक अधिकारीले बताए ।  काठमाण्डौंमा अवतरण गर्न नसक्ने ठूला विमान समेत भैरहवामा अवतरण हुन सक्ने बताउँदै २–३ वर्ष कोभिडका कारण निर्माण सम्पन्न हुन ढिला भएको बताए। 



‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा अत्याधुनिक उपकरण भैरहवामा जडित छ, अबको ५ वर्षमा विमानस्थल फूलफेजमा सञ्चालनमा आउनेछ,’ उनले भने ।  

आन्तरिक उडानमा ढिलाई हुँदा आजबाट आन्तरिक भैरहवा सहित ७ वटा विमानस्थल १८ घण्टा चल्ने र जेठ २ गतेबाट काठमाडौंसहित भैरहवा अन्तर्राष्टिय विमानस्थल २४ घण्टा सञ्चालनमा आउने निर्णय भएको महानिर्देशक अधिकारीले बताए ।



पर्यटन सचिव महेश्वर न्यौपानेले  सबैको सहयोगले ठूलो विमान उडान अवतरण गर्न सफल भएको बताए । 
 
परीक्षण उडानको क्रममा जहाज केही बेर रनवेमै अड्किएको थियो  । जहाज अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । रनवेमा अड्किएको जहाज केही समयपछि एप्रोनतर्फ ल्याइएको थियो । 

 

 

 

  • प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार २२:९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया