राष्ट्रसंघका महासचिव युक्रेनको राजधानीमा भएकै बेला रुसले गर्‍यो क्षेप्यास्त्र प्रहार

संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरस युक्रेनी राजधानीको भ्रमणमा रहेका बेला किएभमा दुईवटा रुसी क्षेप्यास्त्र प्रहार गरिएका छन् । किएभका मेयर भिताली क्लित्च्कोले क्षेप्यास्त्रले केन्द्रीय डिस्ट्रिक्टमा अवस्थित एउटा २५ तल्ले भवनलाई निशाना बनाएको र कैयौँ मानिसहरू घाइते भएका बीबीसीले लेखेको छ । 

घटनास्थलमा रहेका एकजना आन्तरिक मामिला सल्लाहकार एन्टोन हेरासचेन्कोले क्रुज क्षेप्यास्त्रको इन्जिनको तस्बिरलाई पोस्ट गर्दै त्यो क्राइमियाबाट प्रहार गरिएको बताए ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त आक्रमणले विश्व संगठनप्रतिको रुसी वास्तविक धारणालाई उजागर गरेको र त्यसप्रति कडा प्रतिवाद हुनु आवश्यक रहेको बताएका छन् । उनले किएभ र अन्य शहरमा गरिएका क्षेप्यास्त्र हमलाले आफूहरूलाई आरामले बस्न नमिल्ने प्रस्ट पारेको उल्लेख गरेका छन् । 

संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरसले युक्रेनको द्वन्द्व रोक्न वा अन्त्य गर्न विफल भएकोमा आफ्नै संगठनको सुरक्षा परिषद्को आलोचना गरेका छन् । किएभमा बोल्दै उनले त्यो ठूलो खिन्नता, निराशा र क्रोधको कारक रहेको बताए । उनले भने, ‘म प्रस्ट भन्न चाहन्छु आफ्नो सामर्थ्यका हिसाबले (त्यो) यो युद्ध रोक्न र नियन्त्रण गर्न सबै कुरामा विफल रह्यो ।’

राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा १५ सदस्य राष्ट्र छन् र उक्त परिषद्को मूल जिम्मेवारी भनेको विश्वव्यापी रूपमा शान्ति र सुरक्षा कायम गर्नु रहेको छ । तर, गएको फेब्रुअरीमा रुसले अतिक्रमण सुरु गरे यता कदम चाल्न विफल भएको भन्दै युक्रेनसहितले उक्त निकायको आलोचना गरिरहेका छन् । –बीबीसी 





  • प्रकाशित मिति : बैशाख १६, २०७९ शुक्रबार ७:४८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया