आइपिएलको आधा सिजन सकिँदा कुन कप्तानको प्रदर्शन कस्तो ?

भारतमा अहिले इण्डियन प्रिमियर लिग (आइपिएल) को १५ औं संस्करण जारी छ । लिगमा आधाभन्दा बढी खेल सकिसकेका छन् । १० फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेको आइपिएल २०२२ मा केही खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । तर, आशा गरिएका केही चर्चित खेलाडीले भने कमजोर प्रदर्शन गरेका छन् । कप्तानको रूपमा पनि चर्चित अनुहार जम्न सकेका छैनन् । 

४१ खेल सकिँदा कुन कप्तानको प्रदर्शन कस्तो ?

हार्दिक पाण्डेय (गुजरात टाइटन्स)

पछिल्लो समय फिटनेस र प्रदर्शनमा ध्यान नदिएको भन्दै आलोचना खेपेका अलराउन्डर हार्दिक पाण्ड्या जारी आइपिएलबाट लयमा फर्किएका छन् । यो सिजनमा उनले एक राम्रो अल राउन्डरको भूमिकामा पुनरागमन गरेका छन् । 

पाण्ड्याको कप्तानीमा रहेको नवआगन्तुक टोली गुजरात टाइटन्सले आठमध्ये सात जित हात पारेको छ । १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको गुजरातको उत्कृष्ट प्रदर्शनमा २८ वर्षीय कप्तान पाण्ड्याको महत्वपूर्ण भूमिका छ । 

उनले यस सिजन सात खेल खेल्दा तीन अर्धशतकसहित ३०५ रन जोडेका छन् । हार्दिकले कोलकाता नाइट राइडर्सविरुद्धको खेल मांसपेशीको समस्याका कारण खलका थिएनन् । 



उनको व्याक्तिगत प्रदर्शन हेर्ने हो भने बलिङ र ब्याटिङ दुवैमा राम्रो सुधार भएको देखिन्छ । पार्ट टाइम बलरको रूपमा हार्दिकले ४ विकेट लिएका छन् । बलिङका साथै उनको रनिङ पेसमा पनि सुधार भएको छ । 

सञ्जु स्यामसन (राजस्थान रोयल्स)



आठ खेलमा १२ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले यस वर्ष उत्कृष्ट प्रदर्शन गरेको छ । कप्तानको रूपमा सञ्जु स्यामसनको प्रदर्शन सामान्य रहे पनि उनको सालिन नेतृत्व क्षमता, बलिङ र ब्याटिङ सन्तुलनताले राजस्थान यसपटक राम्रो टोलीका रूपमा उदाएको हो ।

विकेटकिपर/ब्याटर स्यामसनले आठ खेलमा एक अर्धशतकसहित २२८ रन बनाएका छन् ।

केएल राहुल (लखनउ सुपर जाइन्ट्स)

आइपिएलको नवप्रवेशी टोली लखनउ सुपर जायन्ट्सले पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ । यसमा  कप्तान केएल राहुलको महत्वपूर्ण भूमिका छ  । व्यक्तिगत रूपमा शानदार र टोलीका लागि उनको नेतृत्वदायी भूमिकाले सबैको मन जित्न सफल भएको छ । 

लखनउ आठ खेलबाट १० अंकका अहिले आइपिएलको चौथो स्थानमा छ । राहुल यस सिजनमा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा दोस्रो स्थानमा छन् । ३१ वर्षीय राहुलले दुई शतक तथा एक अर्धशतकसहित आठ खेलमा ३६८ रन बनाएका छन् ।

फाफ डु प्लेसिस (रोयल च्यालेन्जर्स बैंग्लोर)

रोयल च्यालेन्जर्स बैंग्लोरको कप्तानी यस सिजन फाफ डु प्लेसिसले गरिरहेका छन् । टोलीमा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई व्यक्तिगत रूपमा उनले हौसला पनि दिइरहेका छन् । 

प्लेसिसको व्यक्तिगत प्रदर्शन पनि उच्च छ । उनले नौ खेलमा दुई अर्धशतकसहित २७८ रन जोडेका छन् । तीन हार र पाँच जितसहित १० अंक जोडेको बैंग्लोर तालिकाको पाँचौं स्थानमा छ ।

श्रेयस अय्यर (कोलकाता नाइट राइडर्स)

दुईपल्टको उपाधि विजेता कोलकाता नाइट राइडर्स (केकेआर) को यो सिजन सन्तोषजनक छैन । सुरुवाती नौ खेलमा तीन खेल मात्र जित निकालेको केकेआर ६ अंकका साथ तालिकाको आठौं स्थानमा छ ।

दिल्लीबाट कोलकाता पुगेका कप्तान श्रेयसले व्यक्तिगत रूपमा राम्रो प्रदर्शन गरे पनि टोलीलाई पर्याप्त जित दिलाउन सकेका छैनन् । उनले नौ खेलमा दुई अर्धशतकसहित २९० रन जोडेका छन् ।  

रवीन्द्र जडेजा (चेन्नई सुपर किंग्स)

चारपटक आइपिएल ट्रफी जिताएका भेट्रान क्रिकेटर महेन्द्रसिंह धोनीले यसपल्ट चेन्नईको कप्तानी अलराउन्डर रवीन्द्र जडेजालाई सुम्पिए । उनलाई धोनीको विरासत धान्न कठिन भइरहेको छ ।

धोनीले विश्वास गरेर अनुभवी खेलाडीको रूपमा ३३ वर्षीय जडेजालाई कप्तानी दिए पनि उनले नयाँ भूमिकाको न्याय गर्न सकेका छैनन् । स्पिन बलिङ अलराउण्डरका रूपमा जडेजाको प्रदर्शन पनि कप्तान बनेपछि खस्किएको छ । 

उनले आठ खेलमा ११२ रन बनाउँदा पाँच विकेट लिएका छन् । जडेजाले सोचेअनुरूप प्रदर्शन गर्न नसक्दा टिमको प्रदर्शनमा पनि असर परेको छ । जारी सिजनमा आठमध्ये दुई खेल मात्र जितेको चेन्नई चार अंकका साथ तालिकाको नवौं स्थानमा छ ।

ऋषभ पन्त (दिल्ली क्यापिटल्स)

प्रतियोगितामा मध्यम प्रदर्शन गरिरहेको दिल्लीका लागि कप्तान ऋषभ पन्तले राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् । आठ खेलमा चार जितसहित आठ अंक जोड्दै छैटौं स्थानमा रहेको दिल्लीका लागि ऋषभले हालसम्म एउटा पनि अर्धशतक बनाउन सकेका छैनन् । 

उनले जारी संस्करणमा आठ खेलको सात पारीमा १९० मात्र बनाएका छन् । पन्तको ब्याट राम्रोसँग नचल्दा दिल्लीले सोचेअनुरूप प्रदर्शन गर्न सकेको छैन । साथै, केही खेलाडी कोरोनाको चपेटामा पर्दा पनि दिल्लीलाई घाटा लागेको छ । अभद्र व्यवहारका कारण राजस्थानविरुद्धको खेलमा पन्तले शतप्रतिशत म्याच फी गुमाउनुपरेको थियो । 

केन विलियमसन (सनराइजर्स हैदराबाद)

व्यक्तिगत प्रदर्शन कमजोर रहे पनि कप्तानका रूपमा केन विलियमसनले हैदराबादका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनको कप्तानीको चौतर्फी प्रशंसा भइरहेको छ । विलियमसनले आठ खेलमा एक अर्धशतकसहित १४८ रन बनाएका छन् । 

सुरुवाती दुई खेल हारे पनि हैदराबादले लगातार पाँच खेल जित्दै उत्कृष्ट कम ब्याक गरेको छ । यद्यपि, आठौँ खेलमा ऊ गुजरात टाइटन्सविरुद्ध पराजित भयो । सो खेलमा पनि हैदराबाद अन्तिम बलमा पराजित भएको थियो । 

हैदराबाद आठमध्ये पाँच खेलमा जितसहित १० अंकका साथ तालिकाको चौथो स्थानमा छ । उसको बलिङ पक्ष बलियो देखिएको छ । युवा तीव्र बलर उर्मान मलिकले आइपिएल हेर्ने सबैको ध्यान आकर्षित गरेका छन् ।  

मयंक अग्रवाल (पञ्जाब किंग्स)

प्रतियोगिताअघि पञ्जाब किंग्सलाई उपाधि दावेदारको रूपमा हेरिएको थियो । कागजी रूपमा बलियो देखिएको पञ्जाबले हालसम्म आफूलाई प्रमाणित भने गर्न सकिरहेको छैन । सुरुवाती आठमध्ये चार खेलमा जितसहित आठ अंक जोडेको पञ्जाब तालिकाको सातौं स्थानमा छ ।

पञ्जाबलाई अगाडि बढाउने नेतृत्व पाएका मयंक अग्रवालले पनि व्यक्तिगत रूपमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । उनले हालसम्म एक अर्धशतकसहित १३६ रन बनाएका छन् । उनले खुट्टाको औँलाको समस्याका कारण सनराइजर्स हैदराबादसँगको खेल गुमाएका थिए । 

रोहित शर्मा (मुम्बई इन्डियन्स)

आइपिएलको सबैभन्दा सफल टोलीको कप्तानका रूपमा रोहित शर्माले पाँचपटक उपाधि उचालेका छन् । यसपटक भने मुम्बईले खराब प्रदर्शन गरिरहेको छ । सुरुवाती आठै खेल हारेर मुम्बईले खराव कीर्तिमान बनाउँदा कप्तान रोहितको पनि आलोचना भइरहेको छ । 

टिमलाई जिताउन रणनीति अब्बल हुन नसकेको र आफ्नै प्रदर्शन पनि कमजोर भएको आरोप उनलाई लाग्न थालेको छ । रोहितले हालसम्म आठ खेलमा १५३ रन मात्र बनाउन सकेका छन् । उनले रन बनाउन नसक्नु नै मुम्बई हारको ठूलो कारण बनेको छ । 

  • प्रकाशित मिति : बैशाख १६, २०७९ शुक्रबार १४:५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया