[अन्तर्वार्ता] गठबन्धनको पूर्ण साथ पाउने विश्वास छ, जित्छु भन्नेमा ढुक्क छु : मीना लामा

स्थानीय तह निर्वाचन नजिकिएको छ । निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरू चुनावी प्रचार/प्रसार तथा घरदैलोमा जुटिरहेका छन् । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडा उपमहानगरपालिकामा पनि चुनावी अभियान सुरु भइसकेको छ । निर्वाचन आउन अब दुई हप्ता मात्रै बाँकी रहँदा आफ्नो जित सुनिश्चित गर्नको लागि हेटौंडाका मेयर/उपमेयर,  वडाअध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरू दौडधूपमा छन् ।

यसै क्रममा हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामा गठबन्धनबाट मेयर पदको उम्मेदवार हुन् । लामालाई एकातिर गठबन्धन दलहरूसँग मिलेर मत माग्न छ भने अर्कातिर हेटौंडामा विरासत जोगाउँदै ठूलो शक्तिको रूपमा रहेको नेकपा एमालेको तर्फबाट हेटौंडाको मेयर उम्मेदवार अनन्त पौडेललाई पराजित गर्न मुस्किल पर्ने देखिन्छ । 

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट हेटौंडाको उपमेयरमा निर्वाचित भएकी लामा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी आबद्ध छिन् । एकीकृत समाजवादी मकवानपुर जिल्ला उपाध्यक्षसमेत रहेकी लामाले हेटौंडाको मेयरमा विजयी भएपछि डिजिटल हेटौँडा बनाउने योजना अघि सारेकी छन् । लामासँग आगामी योजना, गठबन्धनको चुनौतीलगायत विषयमा केन्द्रित रहेर फरकधारका लागि सुनिता विष्टले गरेको संवाद :

हेटौँडाको मेयरमा तपाईंको उम्मेदवारी किन ?

पाँच वर्षसम्म उपमेयर भएर कार्यभार सम्हालिरहँदा धेरै आधारहरू हामीले बनाएका छौँ । त्यो आधारहरूमा योजनाको प्रमुख भएर मैले काम गरेँ । त्यो योजनाहरू अहिले पनि निरन्तर रूपमा चलिरहेका छन्, र अब पनि धेरै कामहरू गर्न पनि बाँकी छ ।  ती योजनाहरू सम्पन्न गर्नका लागि पनि मेरो उम्मेदवारी हो ।

हेटौँडाको मेयर बन्नुभयो भने तपाईंको एजेण्डा के छन् ?



बागमती प्रदेशको राजधानी रहेको यस हेटौंडालाई डिजिटल हेटौँडा बनाउने, साथै आर्थिक स्रोत पनि बढाउने मेरो मुख्य एजेण्डा हो । त्यसको साथै शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो निर्माण पनि समेट्ने छु । हामीले बनाएको चुनावी घोषणापत्र अनुसारका काम गरेर आमनागरिकलाई समृद्ध बनाउने योजना छ ।

त्यस्तै, हाम्रो हेटौंडा एक औद्योगिक शहर हो । यस औद्योगिक क्षेत्रलाई पनि समन्वय गरेर नागरिकलाई रोजगारको सुनिश्चितताका लागि पनि लागी पर्ने योजना पनि छ ।



अघिल्लो कार्यकाल पनि उपमेयर त हुनुहुन्थ्यो नि, त्यस अवधीमा हेटौंडामा कतिले रोजगारी पाए त ?

पाँच वर्षको कार्यकाल उपमेयर भएर बिताइसकेको मैले यो अवधीमा धेरैलाई राजगारीको सुविधा प्रदान गर्ने कामको पहल गरेकी छु । मेरो मात्रै पहलमा प्रत्यक्ष रोजगारी कमैलाई दिइयो होला, तर विभिन्न प्रकारका सीप विकास तालिम उपमहानगरपालिकाले सञ्चालन गर्‍यो । कृषिमा ५० प्रतिशत अनुदानको व्यवस्था गरेर कृषि औजार वितरण गरियो ।

युवालाई रोजगार सिर्जना हुने तालिम, महिला दिदीबहिनीलाई चप्पल बनाउने तालिमदेखि सिलाइकटाइ, ब्युटिसियन, कौसीखेती लगायतका धेरै तालिममार्फत पनि स्वरोजगार बनाउने अभियान चलाएका थियौँ । अब मैले नेतृत्व पाउन सफल भएँ  भएको खण्डमा यसलाई अझै व्यवस्थित गरेर रोजगारीको अवसर सृजना गर्ने छु ।

चार राजनीतिक दलहरूसँगको गठबन्धनबाट मेयरको उम्मेदवारी पाइरहँदा, गठबन्धनका दलहरूको साथ कत्तिको पाइएला जस्तो लाग्छ ?

केन्द्रबाट नै पाँच राजनीतिक दलहरूले गठबन्धन गरेर स्थानीय तह निर्वाचन सफल बनाउन निर्देशन दिइरहँदा अहिले मकवानपुरमा जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिएको छ । अहिले चार दलहरूको गठबन्धन रहेको अवस्थामा मैले भरपूर साथ पाउँछु भन्ने विश्वास छ ।

हामीले गठबन्धन समितिसँग छलफल गरिसकेका छौं । केन्द्रीय समितिसँग बसेर पनि छलफल गरिसकेका छौं । गठबन्धन भनेकै एकले अर्कोलाई साथ दिने भन्ने हो । मलाई चार दलकै नेता तथा कार्यकर्ताले सहयोग पक्कै पनि गर्नुहुनेछ । हेटौँडाको मेरा प्यारा जनसमुदायले मलाई जिताउन मतदान गर्नुहुनेछ । म यसमा ढुक्क छु । कुनै दुविधा छैन ।

कुन चिह्नबाट निर्वाचनमा सहभागी हुनुहुन्छ ?

म मेरो नेकपा एकीकृत समाजवादी पार्टीले दिएको आफ्नै कलम चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुन्छु ।

तपाईंको चुनाव चिह्नका कारण पनि मत कम आउला कि जस्तो लाग्दैन ? पहिले सूर्यमा भोट हालेर उपमेयरमा जिताएका मतदाताले तपाईंलाई पत्याउलान् ?

हाम्रो चुनाव चिह्नका हिसाबमा हामी नयाँ छौँ भन्ने हिसाबले सबै जना सजग हुनु, शंका गर्नु स्वभाविक हो । तर, अहिले प्रविधिको युग छ । हातहातमा मोबाइल छ । यसै प्रविधिको उपयोग गर्दै सबै नागरिकले हाम्रो पार्टी, हाम्रो चुनाव चिह्न देखिसकेका छन् । त्यति मात्रै नभई हामी घरदैलो कार्यक्रम गरेर मतदाता शिक्षा पनि प्रदान गर्ने छौँ । चुनाव चिह्नकै कारणले मत नआउला भन्ने छैन । हामी मतदातालाई बुझाउने छौँ । मतपत्रको ढाँचा लिएर हामी बुझाउने छौँ ।

कांग्रेसका साथीहरूलगायत सबैले हेटौँडाको मेयरको लागि कलम चिह्नमै मत माग्नुहुनेछ । यसरी नै जनसमुदायमा जाने निर्णय भइसकेको छ । नपत्याउलान् भन्दा पनि पत्याउने बलियो आधार मैले उपमेयर भइरहँदा पनि बनाएको छु । अवश्य पत्याउनुहुनेछ । त्यसमा पनि म एक महिला उपमहानगरपालिकाको नेतृत्व गरेर विकास गर्छु भन्दा नपत्याउने भन्ने हुँदै हुँदैन ।

ठूलो शक्तिको रूपमा रहेको एमालेसँग प्रतिस्पर्धा गर्न गठबन्धनको तयारी कस्तो छ ?

अहिले अरू पार्टीभन्दा पनि आफ्नो गठबन्धनको कुरा गर्न चाहान्छु । हामी यो निर्वाचन सफल बनाउन चाहान्छौँ । यो निर्वाचन सफल बनाउनका लागि हामी गठबन्धनका दलहरू कटिबद्ध भएका छौँ । त्यसैले हामी विजयी हुन्छौँ भन्नेमा विश्वस्त छौँ ।

गठबन्धनबाटै मेयरको उम्मेदवार बनिरहँदा पनि गठबन्धनको ठूलो दल कांग्रेसबाटै तपाईंको विरोध पनि भइरहेका, रूखभन्दा अरूमा चुनाव चिह्नमा भोट दिन्नौँ भन्ने पनि छन् नि होइन र ?

अहिले यो निर्वाचनसम्बन्धी कांग्रेसमा तिक्तता थियो । किनभने एउटा इतिहास बोकेको पार्टी पनि हो । जुन लामो समयसम्म लोकतन्त्र स्थापना गर्दादेखि नेपालको पहिलो पार्टी जसले धेरै नेताहरू पनि उत्पादन गरेको छ । धेरै नेताहरूले रगत-पसिना बगाएर योग्य व्यक्तिले जीवन नै यसमा बिताइरहनुभएको छ । सक्षम कार्यकर्ताहरू उत्पादन भएको छ । उहाँहरूले यो विषयमा आफ्नो पक्षमा नेतृत्व हुनुपर्छ भन्ने स्वभाविक नै हो । हामीले अहिले जुन गठबन्धनबाट चुनाव लड्दै छौँ । यो तत्कालको निर्णयले भएको पनि होइन ।

  • प्रकाशित मिति : बैशाख १६, २०७९ शुक्रबार १६:३८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया