हेटौंडामा एमाले, गठबन्धन र राप्रपाको लडाइँ, अनन्त, मीना र दीपकमा कसको पल्ला भारी ?

स्थानीय तहको निर्वाचन नजिकिएसँगै बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा चुनावी सरगर्मी बढेको छ ।  

जिल्लाको १० वटै स्थानीय तहका उम्मेदवारको पार्टीगत छलफलका लागि हेटौंडामै जम्मा हुने गरेका कारण पनि अन्य पालिकामा भन्दा हेटौंडाको माहोल रोमाञ्चक बनेको छ । 

प्रदेशको राजधानीसमेत रहेको कारण प्रदेश सरकारको योजना, बजेट निर्माणका काम तथा मन्त्रालयहरू सबै हेटौंडामै रहेको कारणसमेतले यहाँको निर्वाचनलाई चासोका साथ हेर्ने गरिएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमाले र सत्तारुढ गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

हेटौंडाको मेयर पदमा एमालेले संविधानसभा सदस्य अनन्त पौडेल उम्मेदवार छन् भने सत्तारुढ गठबन्धनले हेटौंडाको मीनाकुमारी लामालाई उम्मेदवार बनाएको छ । 

यता लामा र पौडेलको चर्चा परिचर्चा भइरहेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक सिंहले पनि ठाउँ लिन थालेका छन् । तीन जनामध्ये हेटौंडामा कसको पल्ला भारी होला भन्ने चर्चा चलिरहेको छ । 



कमल थापासँग निकट रहे पनि थापाले पार्टी छाडेपछि गुमनाम रहेका सिंहले राप्रपाबाटै मेयरमा उम्मेदवारी दर्ता गराएपछि राप्रपा नेपालका कार्यकर्तामा एकप्रकारको हलचल पैदा भएको छ । 

हेटौंडाको मेयरमा उनले उम्मेदवारी दिएपछि त्रिपक्षीय भिडन्त हुने राजनीतिका जानकारहरू बताउँछन् । मेयरको भिडन्तमा सिंहको प्रवेश भएपछि हेटौंडा उपमहानगरपालिकाको निर्वाचन थप रौनकता थपिएको छ । 



भरतपुरमा एमाले र राप्रपाबीच सहकार्य भए पनि मकवानपुरमा हुन सकेको छैन । तर, फिर्ता लिने समय भएकाले एमाले उम्मेदवारलाई समर्थन गर्दै सिंहले फिर्ता लिने सक्ने पनि बताइएको थियो । 

तर, हेटौंडाको विकासको लागि आफूले उम्मेदवारी दिएको बताउँदै जितेर हेटौंडाको मुहार फेर्ने सिंह बताउँछन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपाले हेटौंडामा करिब ६ हजार मत ल्याएको थियो ।

यता जिल्लाको ठूलो शक्तिको रूपमा रहको नेकपा एमालेबाट हेटौंडाको मेयरको उम्मेदवार अनन्त पौडेल हुन् । २०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सदस्य पौडेल एमालेभित्र बौद्धिक नेताको रूपमा चिनिन्छन् । जिल्लाको ठूलो शक्तिको रुपमा रहेको एमाले पार्टी भएकै कारण पनि पौडेलको पल्ला भारी हुने उनको दावी छ । 

हेटौंडाको मेयरमा आफ्नो उम्मेदवारी यहाँको पूर्वाधार, स्वास्थ्य, शिक्षा, खानेपानी, मानव विकास, समाजिक विकास र उपमहानगरपालिकाको आर्थिक विकासका निम्ति भएको उनको भनाइ छ । विगत ४९ सालदेखि नेकपा एमालेले हेटौँडामा विजय हासिल गर्दै आइरहेको बताउँदै, अघिल्ला समयमा जनताको सामु हात हालिएका योजना पूरा गर्नको लागि आफ्नो उम्मेदवारी भएको पौडेल बताउँछन् ।

यता सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको तर्फबाट साझा उम्मेदवार लामाले पनि गठबन्धनको साथ र सहयोगले आफू नै हेटौंडाको मेयर बन्ने दाबी गरिरहेकी छिन् । 

५ वर्ष उपमेयर चलाएको अनुभव र हेटौंडाको विकासमा बहालवाला मेयर हरिबहादुर महतको भिजन, योजना र कार्यशैलीलाई नजिकबाट नियाल्ने अवसर पाएकी लामाले आगामी निर्वाचनमा हेटौंडालाई आर्थिक उन्नतीको बाटोमा ल्याउँदै स्मार्ट सिटीको रुपमा विकास गर्ने उद्देश्यअनुसार मेयर पदमा उम्मेदवारी गराएको लामा बताउँछिन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयर/उपमेयरसहित १९ वटा वडामध्ये १२ वटामा एमालेले जितेको थियो । अन्य ७ वटामध्ये ५ वटामा कांग्रेस र २ वटामा माओवादी केन्द्रले जितेको थियो । माओवादी केन्द्रले जितेको २ वटा वडामध्ये एउटा वडाको वडाध्यक्ष एमालेमा प्रवेश गरेका छन् भने एमालेका एक वडाध्यक्ष नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका छन् । 

२०७४ को स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयर र उपमेयर पदमा एमालेविरुद्ध काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो । सो निर्वाचनमा कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर लिएर चुनावी तालमेल गरेको थियो ।

निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेले जित हात पारेको थियो । हेटौंडाको मेयरमा एमालेका हरिबहादुर महतले जितेका थिए । महतले २३ हजार १२४ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत ल्याएका थिए । 

यता हेटौंडाको उपमेयर पदमा एमालेबाट उम्मेदवारी दिएकी मीनाकुमार लामाले माओवादी केन्द्रका बलराम बललाई हराएकी थिइन् । लामाले २३ हजार ४३७ मत ल्याउँदा बलले १७ हजार ११ मत ल्याए । 

योसँगै हेटौंडामा एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीमा एमाले पृष्ठभूमिका नेता तथा कार्यकर्ताको उपस्थिति राम्रो छ । आसन्न निर्वाचनमा हेटौंडा उपमहानगरमा एमालेका पौडेल, गठबन्धनबाट मेयर पदकी उम्मेदवार लामा र राप्रपाको उम्मेदवार सिंहबीच प्रतिस्पर्धा हुने भएको छ ।

  • प्रकाशित मिति : बैशाख १७, २०७९ शनिबार २०:२२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया