युवाको ज्ञान, सीप र ऊर्जा स्वदेशमै रोक्ने हाम्रो प्राथमिकता : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले श्रमजीवी वर्गको हकहित र अधिकार सुनिश्चित नभएसम्म देशको विकास र रूपान्तरण सम्भव नभएको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले संविधानले व्यवस्था गरेको समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि सम्बद्ध सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्नेमा जोड दिएका हुन् । 

श्रमजीवी जनताको विकासशील संघर्षमा सहभागी बन्ने, त्यसलाई संगठित पार्ने तथा नेतृत्व दिने र विजयसम्म अघि बढाउने घोषणाका साथ १० वैशाख २००६ मा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको सच्चा उत्तराधिकारीका रूपमा आफ्नो पार्टी जनताका बीचमा आएको पनि अध्यक्ष नेपालले गरेका छन् ।  

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सुरक्षित कार्यथलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षा, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता, सबै प्रकारका विभेदको अन्त्य गर्दै श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन् । 

‘अहिले देशमा ठूलो मात्रामा सक्रिय युवा जनशक्ति श्रमका लागि विदेशिने गरेको छ । स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउने हाम्रो प्राथमिकता हो,’ उनले भनेका छन्, ‘स्वदेशमा पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यमका रूपमा रहेको वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्दछ ।’  

उनले श्रमिकका हक, अधिकार, सुविधा र असल श्रम सम्बन्ध सुनिश्चित गर्न अन्तर्राष्ट्रिय श्रमिक दिवसले प्रेरणा दिने विश्वाससमेत व्यक्त गरेका छन् । 





  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार ९:३६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया