निर्वाचन सचेतनाका नाममा दल विषेशलाई मत माग्दै गैरसरकारी संस्था

स्थानीय तहको निर्वाचन आउन १२ दिन बाँकी रहेको अवस्थामा महोत्तरीमा निर्वाचनसम्बन्धी सचेतनाको नाममा गैरकानुनी गतिविधि गरिएको पाइएको छ । 

महोत्तरीको जलेश्वर नगरपालिका–५ स्थित पर्सा पतैलीमा एक गैरसरकारी संस्थाका केही कर्मचारी निर्वाचन सचेतनाको नाममा कुनै दल विशेषको पक्षमा मात्र मतदातासँग मत मागिरहेको पाइएको हो । 

आइतबार सो गैरसरकारी संस्थाका ८ जना कर्मचारी जलेश्वर नगरपालिका–५ स्थित पर्सा पतैलीका मतदाताको घर-घर पुगेर लोकतान्त्रिक समाजवादी पार्टीको निर्वाचन चिह्न साइकल छापमा मतदान गर्न आह्वान गरिरहेका थिए । 

आफूहरूलाई निर्वाचन कार्यालयले खटाएको र सोहीअनुरूप आफूहरू यहाँ आएको भन्दै उनीहरूले चारवटा पार्टीको चुनाव चिह्न अंकित नमुना मतपत्र लगेर लोसपाको चुनाव चिह्न साइकल छापमा मात्र मतदान गर्न अन्यथा मत बदर हुने भन्दै मतदातासँग आग्रह गरिरहेका थिए । 

सोही वडाका स्थानीय भरत कापरले भने, ‘उनीहरू त्यहाँ साइकल छापमा मात्रै मतदान गर्न मतदातासँग आग्रह गरिरहेका थिए । सबैको हातमा मात्र चारवटा पार्टीहरूको चुनाव चिह्न अंकित नमुना मतपत्र थियो । त्यसमा लोसपाको साइकल छापमा मात्रै मतदान गर्न उनीहरूले सोझासाझा गाउँका मतदातालाई रिझाइरहेका थिए ।’

स्थानीय गीता देवीले सो संस्थाको पूर्वसंस्थापक मधेस प्रदेशकी प्रदेशसभा सदस्य रानी शर्मा तिवारी रहेको र उनले नै आफ्नो संस्थाबाट ती कर्मचारीलाई लोसपाको पक्षमा मतदान गर्न खटाएको हुनसक्ने आरोप लगाइन् । 



यता, यस सम्बन्धमा प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले सो संस्थाबाट आफू ५ वर्ष पहिले नै राजीनामा दिइसकेकोले आफूलाई यस सम्बन्धमा कुनै जानकारी नरहेको बताइन् ।



  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार १६:५५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया