[अन्तर्वार्ता] भिजन र योजनाका साथ चुनावी मैदानमा छु, जनताले अवश्य पत्याउने छन् : मेयरका प्रत्यासी सिंह

देशभर ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ । एकै चरणमा हुन लागेको निर्वाचनका लागि दलका नेता/कार्यकर्ताहरू चुनावी प्रसारप्रचारमा व्यस्त भइसकेका छन् । निर्वाचन आयोगले चुनाव चिह्न बाँडेसँगै उम्मेदवारहरूले घरदैलो कार्यक्रमसमेत सुरु गरिसकेका छन् । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा पनि चुनावी रौनक ह्वात्तै बढेको छ । जिल्लामा सबै दलको मुख्य चासो ऐतिहासिक जयपृथ्वी नगरपालिकामा हुने गर्छ । यसपालि पनि मेयरका प्रत्यासीहरू नगरपालिकाको नेतृत्व लिनका लागि एजेण्डासहित दौडधूपमा व्यस्त छन् । नेकपा एमालेबाट मेयरका लागि चुनावी मैदानमा रहेका सुरतबहादुर सिंह पनि पार्टीको विरासत जोगाउन चुनावी अभियानलाई तीव्रता दिइरहेका छन् । यसैबीच, मेयरका प्रत्यासी सिंहसँग फरकधारकर्मी रिदम सिंहले चुनावी एजेण्डामा केन्द्रित रहेर कुराकानी गरेका छन् :

जयपृथ्वी नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी किन? 

मेरो पार्टी नेकपा एमालेले मलाई जयपृथ्वी नगरपालिकाको प्रमुखको उम्मेदवार बनाएको छ । म लामो समय यही राजनीतिक यात्रामा यात्रा गरिरहेको यात्री हुँ । केवल उम्मेदवार बनेर प्रतिष्ठा कमाउनका लागि म राजनीतिक यात्रामा हिँडेको मान्छे होइन, समाजको रूपान्तरण हुनुपर्छ र सामाजिक विकास हुनुपर्छ, भन्ने मेरो मान्यता रहेको छ ।

जनताको सेवा गर्ने चाहना छ र सेवा गर्ने मौका पाउनुपर्छ भन्ने मान्यताका साथ पार्टीमा दाबी पेस गरेँ र त्यहीअनुसार जयपृथ्वीको मेयरको उम्मेदवार बनेको छु । जनसेवाको भावनाबाट जनताको सेवा गर्ने अठोटका साथ मैले जयपृथ्वी नगरपालिकाको नगरप्रमखमा उम्मेदवारी दिएको छु ।

तपाइँको नाम ०७४ को स्थानीय तहको निर्वाचनमा नै चर्चामा थियो । त्यतिबेला टिकट नलिएर अहिले हार्ने बेला सुरतबहादुर सिंहले टिकट पाए भन्ने जनताको बुझाइ छ नि?

कुनै पनि इमान्दार कार्यकर्ताले पार्टीको विधि, पद्धति र निर्देशनअनुसार नै चल्ने पर्छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा नै मलाई मेयर बन्नुपर्थ्यो भन्ने जुन जनताको भनाइ छ, त्यो केही हदसम्म ठीकै हो । तर, हामीले पार्टीको निर्देशनलाई पनि त अस्वीकार गर्न सक्दैनौँ । फेरि पहिले टिकट पाएन र अहिले आएर टिकट पाए भन्ने कुरामा मलाई कुनै दुःख छैन । पार्टीले मलाई अहिले टिकट दिँदा म झन् खुसी छु ।



प्रसारप्रचारको दौरान जनतामा यहाँले कस्तो खालको एजेण्डा लिएर जानु भएको छ ?

राजनीतिको मूल मर्म भनेको सेवाभाव नै हो । अर्को कुरा समाज रूपान्तरण र सकारात्मक विकास नै राजनीति गर्नेहरूको उद्देश्य हुनुपर्छ । त्यसकारण मेरा तमाम सोचहरू छन् । खसगरी जयपृथ्वी नगरपालिकाको स्रोतसाधनले भ्याउनेगरी, नगरवासीसँगको सहकार्यमा म अगाडि बढ्छु भनेको छु । जयपृथ्वी नगरपालिकामा मलाई जनताले निर्वाचित गरेको खण्डमा योभन्दा अघिल्लो कार्यकालका जनप्रतिनिधिले गर्न नसकेका काममा मेरो निरन्तरता रहने छ ।



शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात, विद्युत्, खानेपानी, आयआर्जन, वन वातावरण, पर्यटन, सुशासनको क्षेत्रमा सुधार ल्याउनु नै मेरो ध्येय हुनेछ । विशेषतः जयपृथ्वी नगरपालिकामा पछाडि परेका र पछाडि पारिएका वर्ग, महिला, बालबालिका शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूको व्यक्तिगत तथा सामाजिक विकासमा मेरो लगानी हुनेछ । वर्ग र पक्षको हितमा म बेसरी लाग्ने छु ।

अघिल्लो स्थानीय निर्वाचनमा पनि जयपृथ्वीमा एमालेको सरकार थियो । उनीहरूले केही गरेनन् भन्ने जनताको आरोप छ, यो विषयमा के भन्नु हुन्छ?

समाजमा केही सीमित मानिसहरूले व्यक्तिगत रूपमा होस् वा केही असन्तुष्ट पक्षहरूले केही पनि गरेनन् भन्ने नारा बनाउने गर्दछन् । तर, वास्तविक जनताले त्यसो भन्दैनन् । केही पनि भएन भन्ने कुरा होइन । धेरै चिज भएका छन् तर केही चिज हुन अझै बाँकी छ । जयपृथ्वीमा एमालेको सरकार भइरहँदा यो नगरपालिकाका प्रत्येक वडा र टोलसम्म सडक पुगेका छन् । राष्ट्रिय प्रसारण लाइन जोडिएको छ ।

अधिकांश विद्यालयमा भवनहरू बनेका छन् । स्वास्थ्य क्षेत्रमा वडास्तरमा स्वास्थय चौकी निर्माण भएका छन् । पहिलो कार्यकालमा जयपृथ्वी नगरपालिकामा विकासको जग हाल्ने काम भएको छ । जुन जग अघिल्लो कार्यकालका जनप्रतिनिधिहरूले हालेका छन्, त्यो जगमा हामी आएर तला थन्ने र त्यसलाई सिंगार्ने काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

आसन्न स्थानीय तहको निर्वाचनमा जयपृथ्वी नगरवासीले तपाईंलाई पत्याउने आधार के हुन्?

मलाई लागेको कुरा के हो भने म विपन्न परिवार, कमजोर आर्थिक अवस्था भएको परिवारमा जन्मेको मान्छे हो । अहिले पनि मेरा जीवनस्तर कस्तो छ, यहाँका जनतालाई थाहा छ । अहिले पनि मलाई हेक्का छ एउटा भारी बोक्ने भरियाको पीडा कस्तो हुन्छ, भोको पेट परिश्रम गर्नेहरूको पीडा कस्तो हुन्छ ? खानेपानीका कारण विद्यालयमा समयमा नै नपुग्ने विद्यार्थीको पढाइमा परेको असर कस्तो छ ? एउटा स्टेचर नपाएर बाटोमा नै ज्यान गुमाउने आमाको पीडा हामीले बुझ्ने कि नबुझ्ने ? त्यो कुरा मलाई राम्रोसँग थाहा छ । मैले भोगेको छु । त्यस कारण जसले भोगेको छ, उसले केही गर्छ भन्ने जनताले बुझेका छन् । त्यसकारण मलाई जनताले पत्याउने छन् ।

अर्को कुरा म जयपृथ्वीका सम्पूर्ण नगरपालिकाका सम्पूर्ण नागरिकको सुझावबिना कुनै पनि काम नगरमा अगाडि बढाउने छैन । जनतको आवश्यकता र मागअनुसार नै मेरो नगरको यात्रा अघि बढ्ने छ । मेरा केही योजना र भिजन पनि छन् । ती योजना र भिजनले गर्दा नै जनताले मलाई पत्याउने छन् ।

जनताको व्यापक गुनासो के छ भने - नेताहरू चुनाव जितेपछि दिएका आश्वासन नै बिर्सिन्छन्, उनीहरूलाई भेट्नसमेत पाइँदैन, यदि तपाई विजयी भए हालत त्यही त होला? 

निर्वाचित जनप्रतिनिधिका अनेक फण्डा नआएका पनि होनन् । कसले के गरे भन्ने कुरामा म जान चाहन्नँ । मबाट त्यस्तो कदापि हुँदैन । म २४ वर्ष उमेरमा कैलाश गाविसको अध्यक्ष भएँ, त्यसपछि मेरो राजनीतिक जीवन अगाडि पनि बढ्यो । राजनीतिक जीवनमा रहँदा मैले गर्ने व्यवहार कस्तो थियो भन्ने जनतालाई थाहा छ ।

जनताले प्रस्ताव गरेको योजना, प्रस्तावनालाई नै हामीले अगाडि बढाउने छौँ । जनताले मागेका योजनालाई हामी कुनै पनि हालतमा निर्माण गर्ने छौँ, र त्यसको संरक्षणको जिम्मा पनि जनतालाई नै दिइने छ । र, अर्को कुरा भनेको मैले मेरो मनमा म नगरको मेयर हुँ, जयपृथ्वी नगरपालिकाको सरकारको प्रमुख हुँ भन्ने भावना कहिल्यै पनि पाल्दिन । यो मेरो वाचा हो ।

  • प्रकाशित मिति : बैशाख १९, २०७९ साेमबार ९:४४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया