ओलीको आरोप : कमिसन खान अर्बौंको औषधि किनिँदै छ, कांग्रेससँग देश बनाउने नीति छैन

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकार कमिसनको लोभमा फसेर अर्बौ रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने तयारी गरिरहेको आरोप लगाएका छन् ।

मे दिवसको सन्दर्भ पारेर आइतबार हेटौंडामा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै ओलीले सरकारले चुनावको मुखमा कमिसनको लोभमा फसेर स्वास्थ्य सामग्री खरिद गर्न लागेको आरोप लगाएका हुन् ।

‘अर्बौंको औषधि, सिटी स्क्यान, एक्स-रे मेसिन खरिद गर्ने तयारी भइरहेको छ । कुनै अस्पताल, डाक्टरलाई चाहिएर खरिद गर्न लागिएको होइन । कमिसन चाहिएर खरिद गर्न लागिएको हो,’ उनको आरोप थियो ।

उनले स्वास्थ्यमन्त्री विरोध खतिवडाप्रति लक्षित गर्दै यस्तो अभिव्‍यक्ति दिएका हुन् । मकवानपुर स्वास्थ्यमन्त्री खतिवडाको गृहजिल्ला हो । उनले २४ लाख कोरोना भ्याक्सिन हराएको विषयमा समेत टिप्पणी गरे । ‘२४ लाख कोरोनाको भ्याक्सिन क्याप्सुल निले जसरी स्वाट्टै निल्यो । अब अर्बौंको औषधि खरिद हुँदैछ', उनले भने ।

उनले सत्तारूढ गठबन्धनको सरकार विकास गर्न नभएर देशलाई कंगाल पार्न जन्मिएको आरोप लगाए । ‘यो सरकार खानलाई जन्मिएको हो । विकास गर्न होइन’, ओलीले भने ।

सत्तारूढ गठबन्धन बाध्यताले चुनाव गर्न थालेको उनले बताए । ‘सरकार अझै पनि चुनाव बिथोल्न खोजिरहेको छ । १२ दिनपछि चुनाव हुँदैछ । तर, गठबन्धन चुनाव हुन नदिने बहाना खोजिरहेको छ ।’



उनले निर्वाचन संविधानअनुसार दुई महिना अगाडि फागुनमा हुनुपर्ने बताए । ‘गठबन्धन संविधानको पालना गर्ने सरकार भए फागुनमै चुनाव हुन्थ्यो’, उनले थपे ।

ओलीले आफ्नो दलले जनमतबाटै तीन तहको सरकार निर्माण गर्ने दाबीसमेत गरे । उनले अहिलेको गठबन्धन सरकार परामेदशबाट निर्माण भएको टिप्पणी गर्दै जनादेशबाट जवाफ  दिने बताए । ‘हामी परमादेशको जवाफ जनादेशबाट दिन्छौँ । हामी जनमतबाटै तीन तहको सरकार बनाउँछौँ ।’  



उनले देशभर एमालेमा देखिएको उत्साहका कारण सत्ता गठबन्धन आतंकित भएको टिप्पणी गरे । ‘स्थानीय तहको निर्वाचन नजिकिरहँदा हाम्रा कार्यकर्तामा उत्साह भरिएको छ । हामीलाई सिध्याउन निर्माण भएको गठबन्धन त्रसित अवस्थामा पुगेको छ’ उनले भने ।

ओलीले कांग्रेसप्रति टिप्पणी गर्दै भने, ‘कांग्रेसको देश बनाउने नीति नै छैन । एमालेलाई धारे हात लगाउने मात्र हो ।’ कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेर जारी गरेको घोषणा पत्रमा आफ्नो नाम ४२ ठाउँमा लेखिएको उनले बताए ।

‘कांग्रेसको घोषणापत्रमा कांग्रेस सभापतिको नाम ८ ठाउँमा मात्र छ । मेरो नाम ४२ ठाउँमा छ । १०८ ठाउँमा हुनुपर्ने थियो ।’ उनले कार्यकर्तालाई ३० वैशाखको निर्वाचनमा सत्ता गठबन्धनलाई पाहा पछारे जसरी पछारेर मात्र निदाउन आग्रह गरेका छन् ।

  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार २०:१३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया