म्यारिज ब्युरो साइटको उद्घाटन गर्दै कोमल वलीले भनिन्– वर पाउने सम्भावना देखेँ

काठमाडौं– सञ्चारकर्मी तथा राष्ट्रिय सभाकी सांसद कोमल वली अझै अविवाहित छिन् । तर, मंगलबार उनी वर वा वधु खोजिदिने संस्थाको प्रमुख अतिथि बनिन् । गुरुमञ्जरी ग्रुपले सञ्चालन गरेको म्यारिज ब्युराे साइट ‘माइस्वयंवर डट कम’को उद्घाटन गर्दै वलीले भिन्न किसिमको अनुभव भएको बताइन् ।

अंग्रेजी नयाँ वर्षको पहिलो दिनबाट सञ्चालनमा आएको उक्त साइटको उत्तरोउत्तर प्रगति र सफलताको कामना गर्दै वलीले ठट्टा गरिन्, ‘आफैँ एक अविवाहित नारी भएर पनि स्वयंवर जुराइदिने साइटको उद्घाटन गर्दै छु, के मैले स्वयंवर पाउने सम्भावना देखिएको हो त ?’

देश–विदेशमा रहेका गुरु–पुरोहित एवं विभिन्न धार्मिक अभियन्ताको संयुक्त प्रयासमा संस्था स्थापना गरिएको संस्थापकको दाबी छ ।  

संस्थाले विवाहका लागि आफूले चाहेजस्तो वर वा वधु खोजिदिने काममा सहयोग गर्ने ओमकार ध्वनिका अध्यक्ष तथा माइस्वयंवर डट कमका नेपाल संयोजक मुकुन्द शर्माले जानकारी दिए । 

‘वैवाहिक जीवनलाई सुमधुर बनाउन आफ्नो चाहनाअनुरूपको योग्य वर वा वधुको खोजीमा रहेका र वैदिक परम्पराअनुसार विवाह गर्न चाहनेका लागि माइस्वयंवर उपयुक्त प्लेटफर्म हो,’ शर्माले भने । 

संस्थाको उद्देश्यमाथि प्रकाश पार्दै उनले भने, ‘तर वैदेशिक रोजगारीको प्रलोभन, भिसा प्रलोभन तथा अन्य यस्तै प्रलोभनको उद्देयले गर्न खोजिने अवैधानिक, गैरकानुनी र फर्जी विवाहका लागि भने कसैलाई सहयोग नगर्ने स्पष्ट गराउँछौँ ।’  आफ्नो संस्था देशको प्रचलित कानुनअनुरूप स्थापना भएको दाबी गर्दै शर्माले आफूहरू वैवाहिक कानुनभित्र रहेर स्वतन्त्रता प्रदान गर्न र गोपनीयतालाई उच्च सम्मान गर्न प्रतिबद्ध रहेको बताए । 



मंगलबार राष्ट्रिय पोसाक तथा टोपी दिवस भएकाले कार्यक्रममा उपस्थित सबैलाई टोपी लगाएर अभिनन्दन गरिएको थियो । कार्यक्रममा संस्थाकाे विश्वभर १० देशमा शाखा रहेकाे जानकारी दिइयाे ।

‘विश्वले नयाँ वर्ष मनाइरहेका वेला हाम्रो देशमा हामीले राष्ट्रिय पोसाक र ढाका टोपी दिवस मनाइरहेका छौँ । यस्तो दिनमा आफ्नो संस्थाले माई स्वयंवर सुरु भएको घोषणा गर्न पाउँदा निकै खुसी लागेको छ,’ शर्माले बताए । 



  • प्रकाशित मिति : पुस १७, २०७५ मंगलबार १६:३९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया