[अन्तर्वार्ता] भरतपुरको मेयरमा मेरो विकल्प छैन, अरु कसैको मलाई डर छैनः जगन्नाथ पौडेल

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको माहोलले अहिले देशको राजनीतिलाई तताएको छ । चितवनको भरतपुर महानगरपालिका यो निर्वाचनका लागि सामाजिक सन्जाल, मिडिया र चिया पसलका चर्चालाई आधार मान्ने हो भने थप बढी तातेको छ ।

सत्तारुढ गठबन्धनले भागवण्डा गर्दा नेपाली कांग्रेसले चितवनका नेता तथा कार्यकर्ताको चाहनाविपरित भरतपुरको मेयरको उम्मेदवार नेकपा माओवादी केन्द्रलाई दिइयो । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेनु दाहाललाई मेयरको उम्मेदवार बनाएपछि त्यहाँका कांग्रेस नेता तथा पूवैसांसद जगन्नाथ पौडेलले मेयरमा नै उम्मेदवारी दिए । 

पौडेललाई उम्मेदवारी फिर्ता गराउन कांग्रेसले लामो समयसम्म प्रयास गरेको थियो । कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठलगायतले उनलाई चितवनमा नै पुगेर उम्मेदवारी फिर्ता लिन अनुरोध गरे । कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलले उनलाई बारम्बार फोन पनि गरे । 

तर, पौडेलले उम्मेदवारी फिर्ता लिएनन् । निर्वाचन आयोगले पौडेललाई चुनाव चिह्नका रुपमा भुइँकटहर दिएको छ । ७१ वर्षका पौडेल बागी उम्मेदवारी दिएपछि कांग्रेसबाट कारवाहीमा परेका छन् । 

तिनै पौडेलसँग फरकधारकी सुनिता विष्टले कुराकानी गरेकी छिन् । त्यसको सम्पादित अंशः 

 



अनेक प्रयासहरु हुँदा पनि तपाईंले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएन । किन ?

किनकि मलाई भरतपुरलाई समृद्ध र नमूना महानगर बनाउन मन छ । भरतपुर महानगरपालिका एउटा उदयीमान महानगर हो । यसको गर्भमा अनन्त सम्भावनाहरु छन्, यसलाई पूरा गर्न मैले आफ्नो उम्मेदवारी दिएको हुँ र यसलाई फिर्ता लिइनँ ।



केन्द्रले र कांग्रेसले समेत गठबन्धन गर्ने र भरतपुरमा रेनु दाहाललाई मेयर बनाउने निर्णय गर्दा पनि तपाईंले उम्मेदवारी दिनुभयो नि ? यतिका लामो वर्ष कांग्रेसको सदस्य तपाईंको यसपटक किन बागी उम्मेदवारी ?

यो मेरो बागी उम्मेदवारी होइन । सबैभन्दा पहिले यो कुरा सबैले बुझ्न जरुरी छ । म जुन पदमा उम्मेदवार छु र म जुन पार्टीको सदस्य हुँ, त्यो पार्टीको भरतपुरमा मेयर पदमा उम्मेदवारी छैन । हसिया हथौडा चुनाव चिह्न भएको पार्टीविरुद्ध मैले उम्मेदवारी दिनु बागी होइन । म नेपाली कांग्रेसको प्रतिनिधित्व गरेर उम्मेदवारी दिएको हुँ । यहाँ माओवादीले अन्याय गरेर टिक्न दिएको छैन, त्यसैले कांग्रेसबाट मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ ।

 

तपाईंलाई त अब पार्टीले कारवाहीसमेत गरिसकेको छ । यसलाई कसरी लिनु भएको छ ?

मैले समाचारहरुरबाट थाहा पाएँ, ममाथि कारवाही भयो भन्ने कुरा । कुनै विधि र प्रक्रिया पुर्याएर मलाई निष्कासन गरिएको छैन, मलाई प्रष्टिकरण पनि सोधएिको छैन, मैले जवाफ दिने मौका पनि पाएको छैन । त्यसैले यदि मलाई निष्कासन गरिएको हो भने पनि त्यो अनुचित छ । विधान र कानुनविपरित छ । त्यसैले म यसलाई निष्कासन मान्दिनँ ।

अर्को कुरा, नेपाली कांग्रेस यस्तो पार्टी हो जसले आफ्नो कार्यकर्तालाई न्याय दिँदैन । उसले आफ्नो छिमेकीको स्वार्थका लागि काम गर्छ । मलाई त्यो पार्टीमा बस्न मन छैन । म पदको भोगी पनि छैन, पैसाको भोगी पनि होइन । म भ्रष्टाचार गर्दिनँ, म कुनै पदको सौदाबाजी पनि गर्दिनँ ।

मैले राजनीति सेवा गर्नका लागि गरेको हो । अनि सेवाका लागि कांग्रेसमा नै रहनु पर्छ भन्ने पनि होइन । म स्वतन्त्र रहेर पनि समाजसेवा गर्न सक्छु । तर, के चाहिँ सत्य हो भने मलाई कांग्रेसबाट निकालेको तरिका पुगेको छैन ।

तपाईंको उम्मेदवारी फिर्ता होस् भन्ने चाहना राखेर केन्द्रबाट नै मन्त्रीहरुसमेत आउनु भएको थियो, तर तपाईंले मान्नु भएन नि ?

केन्द्रको निर्देशन मैले किन मान्ने ? मैले अरुको आदेश मान्न पर्ला भनेर नै म लोकतन्त्रवादी भएको हो । मेरो विवेकले जायज नदेखिएको कुरा म कसरी मान्न सक्छु । उहाँहरुले मेरो उम्मेदवारी, मेरो संवैधानिक हकलाई बेवास्ता गर्दै मेरो उम्मेदवारी फिर्ता गर्न भन्नुभएको हो । मैले मानिनँ । म कुनै प्रलोभनमा परेर आफ्नो स्वाभिमान बेच्ने मान्छे होइन ।

 

भरतपुरका मतदाताले मेयरमा तपाईंलाई मतदान गर्ने आधार के छन् ? 

म पुरानो मान्छे हुँ । अनुभवी मान्छे हुँ । नगरपालिका चलाएको अनुभव छ । म सांसद पनि भएको मान्छे हुँ । संविधानविद् हुँ । अबको महानगरपालिका चलाउने भनेको सरकार चलाउने हो । र, त्यो सरकार चलाउनलाई कार्यकरिणी अधिकार चाहिन्छ । न्यायपालिकासम्बन्धि अधिकार चाहिँदैन । सरकार चलाउनलाई विभागीय अधिकारहरु चाहिन्छ । त्यसो भएको हुनाले त्यो सबै काम गर्नको लागि म योग्य व्यक्ति छु । त्यसैले मैले भरतपुरको मेयरमा उम्मेदवारी दिएको हुँ, यसैलाई आधार मानेर मत पाउँछु भन्नेमा ढुक्क पनि छु ।

तपाईंले गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई जित्न सक्छु भन्ने कल्पना गर्नुभएको छ ?

जितका लागि मेरो तयारी भरपुर छ । मैले जित्छु भन्ने राष्ट्रिय स्तरमा नै चर्चा चलेको छ, मेरो योग्यता क्षमता र अनुभवको पनि कुरा छ । अहिले सिंगो पार्टी नै व्याप्त लोभ र स्वार्थमा उभिएको बेला म एक निष्ठावान कार्यकर्ता हुँ । त्यसकारणले पनि म योग्य हुँ । मेरो विकल्पमा भरतपुुरको मेयरका लागि अरु कोही देख्दिनँ । सार्थक अजेन्डा लिएर म जनतामाझ गइरहेको छु, निर्वाचनको तयारीमा जुटेको छु । मैले एमाले र गठबन्धन दुवैलाई जित्नेछु, म यसमा विश्वस्त छु ।
 

  • प्रकाशित मिति : बैशाख १९, २०७९ साेमबार १८:१२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया