भ्रष्टाचार मुद्दाका आरोपितलाई कामु उपकुलपति बनाउने बागमती प्रदेश सरकारको तयारी

गलत प्रतिवेदन पेस गरी भ्रष्टाचार गरेको मुद्दाका आरोपित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर सतिस कुमार देवलाई बागमती प्रदेश सरकारले कायममुकायम उपकुलपति बनाउने तयारी गरेको छ । विशेष अदालत काठमाडौंबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएपनि उनलाई सर्वोच्च अदालतले झगडीया झिकाउने आदेश दिइसकेको छ । 

सर्वोच्चको यो आदेशसँगै उनी स्वतः निलम्बनमा पर्ने कानूनी व्यवस्था छ । तर, अहिले पनि उनी पदमै छन् । यदि मात्र होइन बागमती सरकारले प्रतिष्ठानका उपकुलपति डाक्टर विश्वराज जोशीलाई निलम्बन गरी उनलाई कायममुकायम उपकुलपतिमा नियुक्त गर्ने तयारी गरेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३, अख्तियार दुरुपयोग आयोग ऐन २०४८ को दफा १७ बमोजिम स्वत निलम्बनमा रहनुपर्ने उनी उपकुलपति बन्न दौडधूपसमेत गरिरहेका हुन् ।

उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अध्यादेश ल्याउनसमेत सरकारलाई प्रभावमा पारेका थिए । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको सदस्यमा रहँदा मापदण्डविपरीत चारवटा शैक्षिक संस्थालाई अनुमति दिएको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा परेको थियो ।

अख्तियारका अनुसन्धान अधिकृत गिताप्रसाद तिमल्सीना, माधव खत्री र कमल पौडेलको प्रतिवेदनले उनीविरुद्ध  सरकार बादी भई विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । अख्तियार दुरुपयोग आयोग ऐन २०४८ को दफा १८ बमोजिम अनुसन्धान तहीकातबाट अपराध गरेको भन्ने मनासिब आधार कारण भएमा आयोगले प्रचलित कानून बमोजिम मुद्दा चलाउने कानूनी प्रावधान छ । देवविरुद्ध पनि सोही दफा बमोजिम मुद्दा दायर भएको हो ।

विशेष अदालत काठमाडौंले सफाइ दिएपछि उनीविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुगेको हो । सर्वोच्चका न्यायाधीश मीरा खड्का र पुरुषोत्तम भण्डारीको इजलाशले झगडिया झिकाउने आदेशमा मापदण्डअनुसार उपकरण नभएको, बेड समेत पर्याप्त नभएको, आठ बेड मात्रै भएको शैक्षिक संस्थालाई अनुमति प्रदान गर्ने गरी भएको निर्णय कानून विपरित रहेको उल्लेख गरेको छ । 

अख्तियारको प्रतिवेदनको आधारमा मुद्दा दायर भएको प्रतिवादीलाई विशेष अदालत काठमाडौंबाट मिति ९ चैत २०७२ मा सफाइ पाउने गरी भएको फैसला प्रमाण मूल्यांकनको दृष्टिकोणबाट फरक पर्न सक्ने दखिएको भनी सर्वोच्च अदालतले झगडीया झिकाएको हो ।



उनलाई झिकाइएको म्याद सूचना दिनसमेत सर्वोच्चले आदेश दिएको छ । मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म रेक्टर देवले कसुरबाट उन्मुक्ती नपाउने कानूनका जानकार बताउँछन् । 

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३, अख्तियार दुरुपयोग आयोग ऐन २०४८ को दफा १७ बमोजिम रेक्टर देव स्वतः निलम्बनमा परेका छन् । तर, बागमती प्रदेश सरकारले भने उनलाई अहिलेसम्म पनि पदीय जिम्मेवारीमै राखेको छ ।  



  • प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार १२:३९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया