अर्थ, वाणिज्य मन्त्रालय एकापटि र राष्ट्र बैंक अर्कोपटि हिँड्दा संकट आयो : युवराज खतिवडा

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा संरचनागत समस्या रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा भएको नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । उनले नेपालको आर्थिक वृद्धिदरमा आयात बढी भएकाले लगातार रूपमा ६, ७ र ८ प्रतिशतले आर्थिक वृद्धिदर हुँदासमेत व्यापार घाटा हुने समस्या वर्षैसम्म भइरहने बताए । 

डा. खतिवडाले अब उद्योग क्षेत्रको विकास गरेर निर्यात हुने बस्तु निर्यात गर्ने गरी लगानी गर्नु पर्ने अनि मात्रै व्यापार घाटा कम गर्न सकिने बताए । उनले पछिल्लो समय धेरै लगानी जलविद्युतमा भएको बताए। 

जलविद्युतमा धेरै ठूलो लगानी विस्तार गरेर बुढीगण्डकी जस्ता चारवटा आयोजनाहरु एकै चोटी निर्माण गरेर वर्षको डेढ खर्बदेखि २ खर्ब ऋण रिपेमेन्ट गर्न थाल्यौँ भने नेपाल श्रीलंकाको बाटोमा जाने डा. खतिवडाले बताए । उनले अब निर्यातमूलक उत्पादन उद्योगमा लगानी लगाउनु पर्ने आवश्यकता रहेको बताए । 

पछिल्लो समय मुलुकको अर्थतन्त्रमा समस्या देखा पर्नु तीनवटा निकायबीच समन्वयको अभाव भएको आरोप खतिवडाले लगाए । उनले अर्थ, वाणिज्य मन्त्रालय एकापटि र राष्ट्र बैंक अर्को बाटोमा हिँडेकाले संकट आएको जिकिर गरे । मुलुकलाई आत्मनिर्भर बनाउनको लागि सरकारले चामल नभएर राइस भनेर आयात हुने कनिका नै रोक्नु पर्ने उनको भनाइ छ ।

'अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालयले गर्ने काम राष्ट्र बैंकले गर्नुपर्ने अवस्था भयो । राष्ट्र बैंक त्यति धेरै प्रोयाक्टिभ हुनुहुँदैन । आयात निर्यात गर्ने ऐन अर्थ र वाणिज्यले नै चलाउने हो यसमा दुविधा छैन । तीन वटा निकायले व्यापार व्यवस्थापन गर्ने कुरामा धेरै समन्वय गरिदिनु पर्यो । सरकारले कनिका ल्याएर राइस भन्ने गरिएको छ कनिका ल्याउन रोक लगाउनु पर्छ’ उनले भने ।



त्यस्तै, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले पछिल्लो समय रुस र युक्रेनको युद्धको कारणले मुलुकको अर्थतन्त्रमा थप चुनौती देखिएको बताए । उनले युद्धको कारण पेट्रालियम पदार्थको मूल्य निरन्तर रुपमा बढ्दै गएकाले थप चुनौती बढेको बताए । 

विश्वमा नै ३ प्रतिशतले आयात बढ्ने देखिएकाले विश्व अर्थतन्त्रमा नै चुनौती देखिएको भट्टले बताए । उनले राष्ट्रिय तथ्यांक विभागको तथ्यांक उल्लेख गर्दै नेपालमा आर्थिक गतिविधिहरु चलायमान भइरहेको बताए । 



प्रवक्ता भट्टले पछिल्लो समय ९० प्रतिशत उद्योगहरु पूर्णरुपमा सञ्चालनमा आएको बताए । उनले अर्थतन्त्र पुरुउत्थान भइरहे पनि वर्तमान चुनौती सामना गर्न बलियो क्षेत्र खोजेर व्यवस्थापन गर्नु समस्या रहेको बताए । वार्षिक विन्दुगत आधारमा १९ प्रतिशत मात्रै कर्जा विस्तार हुने अनुमान भए पनि अहिले २२ प्रतिशतले कर्जा विस्तार भएको बताए ।

त्यस्तै, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार केसीले पछिल्लो समय अर्थतन्त्र चलायमान भएकाले बैंकहरुले विगतमा लगाएको लगानी प्रभाव देखिएको बताए । 

उनले बजारमा तरलता सहज बनाउनको लागि राष्ट्र बैंकले दिएको निर्देशनअनुसार बैंकले कृषिमा ३० प्रतिशत र  माइक्रोफाइनान्समा ३८ प्रतिशत र समग्र उत्पादन उद्योगमा ४५ प्रतिशत लगानी भईरहेको बताए । 

सिइओ केसीले बैंकहरुले कृषिमा लगानी गछौं भने दुई प्रतिशतको प्रिमियममा लाग्ने अवस्था रहेकाले समस्या देखिएको बताए । उनले अहिले पनि बजारमा लगानी योग्य रकम अभाव भइरहेको बताए ।

  • प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार २०:२३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया