यसकारण म सक्रिय राजनीतिमा: श्वेता खड्का

कलाकारिता, ब्यवसाय अनि सामाजिक सेवाको बाटो हुँदै म यतिखेर खुल्ला राजनीतिक मूलधारमा प्रवेश गरेकी छु ।

विद्यार्थी जीवनदेखि नै महामानव विश्वेश्वरप्रसाद कोइरालाका बारेमा पढ्दै र सुन्दै आइरहेकी मैले अन्तत: उनै महामानवको विचारधारामा आफूलाई समाहित गर्दै नेपाली कांग्रेससँग आफ्नो आबद्धता जनाएकी छु ।

मैले लिएको यो राजनीतिक निर्णयप्रति विभिन्न कृया र प्रतिक्रियाहरु अवश्य नै प्राप्त हुनेछन्। यसरी प्राप्त हुने सकारात्मक र नकारात्मक प्रतिक्रियाहरूलाई म सुझावको रुपमा ग्रहण गर्दै मेरो राजनीतिक यात्रालाई अगाडि बढाउने प्रण गर्दछु।

एउटा कलाकारले कुनै एक पार्टीको ब्यानरभित्र समाहित हुनुहुन्न भन्ने सोच व्याप्त छ। कलाकारले कलाकारिता नै गर्नुपर्छ, राजनीति गर्नुहुन्न भन्ने धारणाको प्रतिवाद स्वरुप मैले नेपाली कांग्रेसको सिद्धान्तमा आफूलाई समाहित गराएकी छु।

यो निर्णय लिनुभन्दा अगाडि मैले धेरै पटक स्व:संवाद, स्व:विश्लेशण र स्व:विचार गरेकी छु। मेरो अन्तरमनको कुनामा लुकेको सामाजिक विकास, परिवर्तन र रुपान्तरणको चाहनाले मलाई राजनीतिको प्रभावबाट कुनै ब्यक्ति टाढा हुन सक्दैन भन्ने भाव उत्पन्न गरायो।

हामीले राजनीतिबाट जति नै टाढा रहन खोजे पनि हाम्रो हरेक दैनिकीमा राजनीतिको प्रभाव रहेको हुन्छ नै। त्यो प्रभावलाई हामी कदापी नकार्न सक्दैनौ। अत: राजनीतिको यो प्रभावलाई आत्मसाथ गर्दै मैले आफ्नो पाइला अगाडि बढाएकी हुँ। मेरो यो पाइलामा आम परिवर्तनकारी, विकासप्रेमी तथा बुद्धिजीवि वर्गको साथ सल्लाह र सुझाव पाउने आशा लिएकी छु।



राजनीति विशुद्ध 'सामाजिक सेवा'को क्षेत्र हो न की 'ब्यवसायिक पेशा'। राजनीतिलाई कमाई गरी खाने माध्यमको रुपमा प्रयोग गरी अकुत सम्पत्तिको आर्जनमा लिप्त हुने भ्रष्ट राजनीतिज्ञहरुलाई विस्थापित गराउनको निमित्त अब हामी आफू पनि अग्रसर हुनु पर्ने आवश्यकता महसुश गरेकी छु।

सधैं राजनीतिलाई 'फोहोरी खेल'को रुपमा परिभाषित गर्दै नेताहरु प्रति 'धारे हात' लगाउने अनि गालीको वर्षा गर्ने हाम्रो निष्क्रिय प्रवृत्तिलाई त्याग्ने बेला आएको छ। सिस्टम परिवर्तनको लागि, सिस्टम निर्माणकै एउटा हिस्सा हुनु जरुरी छ।



यसको लागि राजनीति नै एउटा उत्तम माध्यम हो। मैले यही माध्यमलाई आत्मसाथ गरेकी हुँ। यसको लागि मैले आदरणीय बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको पथमा आफ्नो पाइला अगाडि बढाएकी छु।

मलाई थाहा छ, कुनै पनि राजनीतिक दलको संस्थागत सिद्धान्त खराब हुँदैन। त्यो सिद्धान्तलाई कार्यान्वयन गर्ने केही नेतृत्वकर्ताको ब्यक्तिगत आचरण मात्र खराब हो।

एमाले, कांग्रेस, माओवादी, राप्रपालगायत सबै दलका संस्थागत सिद्धान्त राम्रा छन्। सबै दलले विकास, समृद्धि र परिवर्तनको एजेण्डा उठाएका छन् तर ती एजेण्डाहरु कार्यान्वयन तहमा असफल भएका मात्र हुन्।

यही असफलताका कारण उद्योग, ब्यवसाय, कलाकारिता, कृषि तथा पर्यटन लगायतका सबै क्षेत्रहरु प्रभावित भएका छन्। हाम्रो दैनिक ब्यक्तिगत जीवनमा पनि यस्को प्रत्यक्ष नकारात्मक  प्रभाव परिरहेको छ।

अत: केही सीमित व्यक्तिहरुको स्वार्थका कारण असफल भएका ती एजेण्डाहरुलाई सफल बनाउनको निमित्त हामी सबैको सकृयताको खाँचो छ। पोखरी फोहर भयो भनेर पोखरीको 'लेउ'लाई गाली गर्नुभन्दा त्यो लेउ हटाउन आफैँले पोखरीभित्र छिर्ने हिम्मत गर्नुपर्छ। अत: सबै पार्टीमा धेरथोर लेउ लागेको छ त्यस्को सरसफाइको लागि हाम्रो सकृयता खाँचो छ।

मैले आफ्नो राजनीतिक सकृयताको लागि भने नेपाली कांग्रेसलाई चुनेकी छु। मेरो पारिवारिक पृष्ठभूमिले पनि मलाई कांग्रेसको सिद्धान्तलाई अगाल्न सहयोग पुगेको हो। नेपालको राजनीतिक परिवर्तनमा अहम भूमिका खेल्ने कांग्रेसजस्तो विशाल पार्टीमा मलाई स्थान दिने आदरणीय पार्टी सभापति शेरबहादुर देउवाप्रति हार्दिक आभार ब्यक्त गर्दछु।

साथै मेरो व्यवसायिक, सामाजिक तथा राजनीतिक यात्राको लागि मलाई सधैं हिम्मत, हौसला र ऊर्जा प्रदान गर्ने मेरो परिवार गण, मेरा अग्रज व्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरु प्रति म हार्दिक नमन गर्दछु।

विगतका दिनमा मैले यो पार्टीको लागि ब्यक्तिगत रुपमा त्यस्तो ठूलो योगदान दिन सकेकी छैन। आगामी दिनमा भने म मेरो मन बचन र कर्मले भ्याए सम्मको योगदान दिने प्रयास गर्नेछु।

कांग्रेसको नीति, सिद्धान्त र यसको मूल्यमान्यतालाई आत्मसाथ गर्दै कुनै ब्यक्तिगत स्वार्थहरु नराखी स्वच्छ रुपमा सामाजिक विकास र विशुद्ध 'सेवा' को भाव बोकेर आफूलाई एउटा असल कार्यकर्ताको रुपमा चिनाउने प्रयासमा कुनै कमी हुने छैन।

साथै म एउटा कलाकार र ब्यवसायी पनि भएको नाताले यो दलभित्र रहेर तमाम ब्यवसायी र कलाकर्मीहरुको हकहितको निमित्त आफ्नो आवाज बुलंद गर्नेछु। सामाजिक सेवाको पाटोलाई अझ शसक्त रुपमा अगाडि बढाउनको निमित्त कांग्रेससँगको आबद्धताले मलाई थप मार्ग प्रशस्त गराउनेमा विश्वस्त छु।

अन्तमा: हरेक व्यक्तिलाई आ-आफ्नो राजनीतिक स्वतन्त्रता छ। मेरो वैचारिक सिद्धान्तसँग मेल खाने राजनीतिक दलसँगको निकटता, आबद्धता वा सहकार्य पश्चात पनि फरक विचार राख्ने कुनै ब्यक्ति वा दल प्रति मेरो कुनै पूर्वाग्रह रहने छैन। जो जहाँ रहे पनि, जो जता गय पनि देश र जनताको निमित्त निःस्वार्थ भावले काम गर्न सकौँ । जय नेपाल।

  • प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार १०:३६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया