आचारसंहिता मिच्दै प्रचारप्रसारमा दलहरू, लिखित उजुरीको पर्खाइमा निर्वाचन आयोग

निर्वाचन आचारसंहिताको बुँदा १२ को (थ) मा ‘कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकललगायत सबै प्रकारका सवारीसाधन प्रयोग गरी र्‍याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने’ उल्लेख छ ।

तर, वीरेन्द्रनगरको चुनावी वातावरणले निर्वाचन आचारसंहिताको खिल्ली उडाएको देखिन्छ । राजनीतिक दलका उम्मेदवारहरू प्रचारप्रसारका लागि निर्वाचन आचारसंहिता विपरीत अटो, मोटरसाइकललगायतका सवारीसाधन व्यापक रूपमा प्रयोग गरिरहेको देख्न सकिन्छ ।

निर्वाचन आचारसंहिताको बुँदा १२ को (घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न, झण्डा, अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने उल्लेख छ ।

तर, उम्मेदवारहरूले गाउँ, टोलमा पार्टीको झण्डा, निर्वाचन चिह्न र माइकिङ गर्दै दैनिक रूपमा जुलुस तथा प्रदर्शन गर्दै घरदैलो गरिरहेका छन् । विशेषगरि वीरेन्द्रनगर नगरपालिकामा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेसहित राप्रपाले आचारसंहितालाई मिच्दै प्रचारप्रसार गरिरहेको देखिन्छ ।

वीरेन्द्रनगर नगरपालिकामा निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारहरू आ–आफ्ना चुनावी प्रचार गरिरहेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राप्रपालगायत दलका साथै स्वतन्त्र उम्मेदवारहरूले समेत आचारसंहिता विपरीत चुनावी प्रचार गरिरहेका हुन् ।

उनीहरूले पार्टीको झण्डाका साथै चुनाव चिह्न अंकित तुल, ब्यानर बोकेर जुलुस प्रदर्शन गर्दै घरदैलो गरेका छन् । जुन राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ संगठनले पालना गर्नुपर्ने आचरण विपरीत हो ।



निर्वाचन आचारसंहिताको बुँदा नम्बर १२ मा यसरी प्रदर्शन गरिने जुलुसमा पार्टीको झण्डा र निर्वाचन चिह्न प्रयोग गर्न बन्देज लगाइएको छ ।

निर्वाचन आचारसंहिताको बुँदा १२ को (ढ)मा कुनै पनि उम्मेदवारले आफ्नो कार्यालयबाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेकस र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने उल्लेख छ । तर, वीरेन्द्रनगरमा भने उम्मेदवारहरूले आ–आफ्ना दलका झण्डा, फ्लेक्स लगायतका सामग्री टाँगेर मतदानको अनुरोध गरिएको जिंगल बजाउँदै चुनावी प्रचार गरेका छन् ।



त्यस्तै, उम्मेदवारहरूले यसका विपरीत बस, फोर्स गाडी, अटो रिक्सालगायतका नीजि तथा सार्वजनिक यातायातका साधनहरुमा उम्मेदवार र निर्वाचन चिह्नसहितको ब्यानर टाँसेर चुनावी प्रचार प्रसार गरिरहेका छन् ।

जिल्ला तहमा निर्वाचन आचारसंहिता अनुगमनको जिम्मा पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भने उजुरीको पखाईमा छ । मंगलबारसम्म आचारसंहिता उल्लंघनको कुनै पनि लिखित उजुरी वा निवेदन नपरेको मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यले जानकारी दिए ।

‘मौखिक रूपमा केही गुनासोहरू आएका छन् । तर, एक्सनमै जाने गरि लिखित उजुरी भने आएका छैनन्’ डा. आचार्यले भने, ‘आचारसंहिता उल्लंघन भएको लिखित उजुरी आएको अवस्थामा तुरुन्तै आयोगलाई लेखी पठाउँछौँ ।’

राजनीतिक दलहरूसँग पटक–पटक छलफल गरि आचारसंहिताका विषयमा प्रतिवद्धता गर्न लगाइएको मुख्य निर्वाचन अधिकृत डा. आचार्यले जानकारी दिए ।

जिल्लाको निर्वाचन आचारसंहिता अनुगमन टोली अनुगमनमा जाँदा त्यस्ता खालका गतिविधि नदेखिएको र अहिलेसम्म लिखित उजुरी नपरेकोले कारबाहीमा जान नसकिएको मुख्य निर्वाचन अधिकृत आचार्यको भनाइ छ । आचारसंहिता उल्लंघन भएको पाइएमा सम्बन्धित उम्मेदवारको उम्मेदवारी रद्द हुनेदेखि कैद सजायसम्मको कारबाही हुने व्यवस्था रहेको आयोगले जनाएको छ ।

  • प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार १४:७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया